वीमा रकम भुक्तानी लिन विवाह दर्ता गरी सवारी दुर्घटना

वीमा रकम भुक्तानी लिन विवाह दर्ता गरी सवारी दुर्घटना

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरोले वीमा वापतको ठूलो रकम भुक्तानी लिन विवाह दर्ता गरी सवारी दुर्घटना गराएको अभियोगमा ६ जनालाई पक्राउ गरि अनुसन्धान सुरु गरेको छ ।

व्युरोले शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै बाँकेको कोहलपुर बस्ने २१ वर्षीय सर्जन बिकको सवारी दुर्घटना गराएर हत्या र हत्यापश्चात् बीमा रकम असुल गरिएको सम्बन्धमा ६ जनालाई पक्राउ गरी संगठित अपराध र ठगीमा म्याद थप गरी अनुसन्धान सुरु गरेको जनाएको हो । पक्राउ परेका बाँके कोहलपुरका सपना मल्ल, सञ्जीव अर्याल, सरदार अहमद खाँ, टोपबहादुर राना, दीपक केसी र ललिता सापकोटालाई प्रहरीले सार्वजनिक पनि गरेको छ ।

उनीहरुले २०७८ बैशाख २ गते बाँकेको कोहलपुर नगरपालिकामा २१ वर्षीय सर्जन विकको योजनाबद्ध दुर्घटना गराई साढे २ करोड बराबरको बीमा रकम लिएको अनुसन्धानबाट खुलेको व्युरोका प्रहरी अतिरिक्त महानिरिक्षक उत्तम राज सुवेदीले जानकारी दिनुभयो ।

उनीहरुले सवारी दुर्घटना गराएर बीमा रकम दावी गर्ने उद्देश्यले सपना मल्लसँग सर्जनको विवाह दर्ता गराएका थिए । विवाद अघि नै उनीहरुले सर्जनको जीवन बीमा र म्यादी जीवन बीमा गराएका थिए । दुर्घटनामा सर्जनको मृत्यु भएपछि २०७८ साउन १४ गते रिलायन्स लाइफ इन्स्युरेन्सबाट सपनाले बीमा रकम बुझेर कामना सेवा विकास बैंक कोहलपुरको खातामा जम्मा गरेको देखिएको छ । त्यस्तै, २०७८ पुस ३० गते नेपाल पुनर्बीमा कम्पनीले सर्जन विकको सवारी दुर्घटना शंकास्पद देखिएपछि केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी)लाई खबर गरेको र त्यसपछि व्युरोले अनुसन्धान गरेको सुवेदीले जानकारी दिनुभयो ।

दुर्घटना हुनुभन्दा दुई महिना अघि मात्रै मृतकको नाममा बैंक खाता खोलिनु, विवाहअघि नै सपनालाई इच्छाएको व्यक्ति भनेर राखिनु र मृतकको त्यति ठूलो बीमा गर्ने आर्थिक हैसियत नहुनु लगायत शंकाका आधारहरु देखिएको पनि व्युरोका प्रहरी अतिरिक्त महानिरिक्षक सुवेदीले बताउनुभयो । गिरोहका सदस्यले ठूलो रकमको विवाह गराई हत्या गरी मृत्यु पश्चात बीमा कम्पनीबाट आउने ठूलो रकम बाँडफाँड समेत गरेको पाइएको प्रहरीले जनाएको छ ।

(Himalayan Tele-Voice)

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *