
गान्तोक,12 अप्रेल। सिक्किमको पर्यटकीय मौसमलाई ध्यानमा राख्दै स्पाइस जेटले कोलकत्तादेखि पाकिमसम्मको निम्ति अतिरिक्त हवाई सेवा शुरु गरेको छ। कोलकत्ता पाकिमको दैनिक एउटा उडान थियो भने सोमबारदेखि दुइवटा हवाई सेवा शुरु गरेको छ। दिल्लीबाट पाकिमसम्मको उडान भने साबिक झै एउटामात्र रहेको छ।
स्पाइस जेटको थप सेवा आगामी 25 अप्रेलसम्म रहने पाकिम विमानस्थलका निर्देशक रामतानु शाहले पुष्टि गरेका छन्। उनले दिएको जानकारी अनुसार उडान चेन होटलले पनि तीनवटा चाटर्ड फ्लाइट पाकिम विमान स्थलमा अवतरण गराएको छ।
स्मरण गराइन्छ सोमबारदेखि सिक्किम नजिकको बागडोगरा अन्तरराष्ट्रिय विमानस्थलको धवनमार्ग मरम्मती शुरु भएपछि सबै उडानहरू स्थगन गरिएको छ। जसको चापलाई ध्यानमा राखेर पाकिम विमानस्थलमा अतिरिक्त उडान सञ्चालनमा ल्याइएको छ।
निर्देशक शाहले दिएको जानकारी अनुसार अतिरिक्त हवाई सेवा बिहान 11. 30 बजी आएर 12 बजी फर्किरहेको छ भने साबिक सेवा 12.30 मा आएर 1 बजी फर्किरहेको छ। अर्कोतिर यो सेवा नियमित सञ्चालन हुने नहुनेबारे मौमसमाथि निर्भर गर्नेछ मौसम प्रतिकूल भएमा उडान रद्द हुने सम्भावना प्रवल रहेको पनि जानकारी प्राप्त भएको छ। गत सप्ताह पनि प्रतिकूल मौसमको कारण पाकिम विमानस्थलमा अवतरण हुन सकेन कुनै विमान।