
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी कब्जा गर्न असफल भएपछि प्रचण्ड र माधव नेपालले दक्षिणपन्थी गठबन्धन बनाएको बताउनुभएको छ ।
सोमबार ललितपुरमा प्रोग्रेसिभ इन्जिनियर्स एशोसियसनको महाधिवेशन उद्घाटन गर्दै अध्यक्ष ओलीले तत्कालीन नेकपा कब्जा गर्न उनीहरुले भएजतिकै बल लगाएको नसकेपछि दक्षिणपन्थी गठबन्धन बनाएको बताउनुभएको हो ।
अध्यक्ष ओलीले प्रचण्ड र नेपालले पार्टी फुटाएर कम्युनिष्ट आन्दोलन समाप्त पार्न खोजेको आरोप पनि लगाउनुभयो । उहाले वामपन्थी भन्दा प्रचण्ड सम्झिने गरेको भन्दै प्रचण्ड कम्युनिस्ट हुन् भने आफू कम्युनिस्ट नभएको तर्क गर्नुभयो ।
प्रचण्डले मुलुकमा द्वन्द्व मच्चाएको र आफु शान्तिको पक्षमा रहेकाले आफु र प्रचण्डबीच समानता नरहेको जिकिर गर्नुभयो । त्यस्तै ओलीले बामपन्थी आन्दोलन कमजोर पार्ने काम गरेको बताउनुभाये । ओलीले तत्कालीन नेकपा माओवादी केन्द्रलाई आफूले जबरजस्ती घिसारेर एकतामा ल्याएको उल्लेख गर्नुभयो । उहाले गठबन्धन दुई दिनको केटाकेटीको खेल भएको बताउनुभयो ।
सम्बोधनका क्रममा अध्यक्ष ओलीले मुलुकको बिकासका लागि एमाले सरकारले धेरै काम गरेको र आगामी निर्वाचनपछि एमाले सरकारमा गएर सुखी नेपाली समृद्ध नेपालको आकांक्षा पुरा गर्ने धारणा राख्नुभयो ।