
त्रियुगा नगरपालिकामा चीनको निजी कम्पनीले अर्बौंको लगानी गर्ने भएको छ। चीनको शान्तोङ प्रान्तस्थित च्याङसी ग्रुपले नगरपालिकाको बिभिन्न क्षेत्रमा लगानी गर्ने गरी सोमबार गरेको सम्झौतापत्रमा सुरु चरणमा ३ खर्ब लगानी गर्ने दुई पक्षबीच हस्ताक्षर भएको छ।
नगरपालिकाले ‘त्रियुगा सभ्यता’गुरुयोजना अन्तर्गत गर्ने लगानीको सम्झौतापत्रमा नगरपालिकाका मेयर बलदेव चौधरी र च्याङसी ग्रुप शान्तोङका अध्यक्ष सियोङले हस्ताक्षर गरेका हुन्। सम्झौता अनुसार नगरपालिकाभित्र सौर्य उर्जा, कृषि, प्राविधिक शिक्षा, फर्निचर, खानी तथा उद्योग र पर्यटन विकासको क्षेत्रमा चीनले लगानी गर्ने गर्नेछ।
चिनियाँ कम्पनीले पब्लिक प्राईभेट पार्टनरसिप (थ्री–पी) मोडलमा त्रियुगा नगरपालिकाको बिभिन्न क्षेत्रमा लगानी गर्ने गरी हस्ताक्षर गरेको नागरिकन्यूजले लेखेको छ। समझौतापत्रमा सुरु चरणको कार्यक्रम सफल भएमा त्रियुगा नगरपालिकामा चीनले करिब १६ सय अर्बसम्म लगानी गर्ने उल्लेख छ।
चीनले तत्काल थाल्नेगरी पहिलो चरणमा ३ सय अर्बको सौर्य उर्जा र कृषिसँग सम्बन्धित काम गर्ने सम्झौता भएको छ। ‘त्रियुगा सभ्यता विकास तथा बरुवा बेलदोभान एकीकृत विकास परियोजना’ अन्तरगत पहिलो चरणको काम तत्काल थाल्ने सम्झौता दुईपक्षबीच भएको हो। सम्झौतामा नगरपालिकाको ७ स्थित कालीखोला तोरीबारीदेखि छिमेकी बेलका नगरपालिका २ सुन्दरपुरस्थित सप्तकोसी दोभानसम्म बग्ने त्रियुगाको करिब ४२ किलोमिटर दूरीमा परियोजना सञ्चालन हुनेछ।