पाँचथरको फालेलुङमा हालै चौँरी महोत्सव सम्पन्न भएको छ । भारतको पश्चिम बङ्गालसँगको सीमावर्ती गाउँमा नयाँ वर्षको अवसरमा आयोजित महोत्सवमा विभिन्न देशका पर्यटकको आगमन सम्पन्न भएको हो। गत वर्षदेखि चौँरीपालन विकास र पर्यापर्यटनको प्रवद्र्धनका लागि आयोजना हुन थालेको महोत्सवमा यसपाली विदेशी पर्यटक धेरै आए । पोहोर महोत्सवमा एक÷दुईजना मात्र विदेशी पर्यटक आएकोमा यसपाली बढेको स्थानीय सुनिल वान्तवा राईले बताउनुभयो।
यसपालि युरोपेली मुलुक, भुटान, बङ्गलादेश, चीन, भारतलगायतका पर्यटकले महोत्सवको अवलोकन गरेका थिए । भारतबाट मात्र दर्जन बढी गाडीमा पर्यटक आएका थिए । विभिन्न देशको धेरै ठाउँमा विभिन्न प्रकारका महोत्सव देखे पनि चौँरी महोत्सवबारे कहिल्यै नसुनेको अनुभव धेरै पर्यटकले रोमाञ्चित हुँदै सुनाएको गोरखापत्र अनलाइनले जनाएको छ।
भारत कर्णाटककी निवेदिका सिंले चौँरी महोत्सवबारे फेसबुकबाट थाहा पाएर आएको बताउनुभयो । उहाँले जीवनमा पहिलो पटक चौँरीको हुल मात्र देख्नुभएन, फम्जो चढेर आनन्द पनि लिनुभयो । अस्ट्रेलियाकी जेरिमी पाउलले पनि यस प्रकारको महोत्सव जीवनमा पहिलो पटक देखेकोले आनन्द लागेको बताउनुभयो। महोत्सवको माध्यमबाट विभिन्न देशका पर्यटक आकर्षित गर्न सफल हुदाँ आयोजक उत्साहित बनेका छन्। पर्यटकले चौँरीसँग जिस्किएर, सेल्फी खिचेर चौँरीको दूध निर्मित परिकार खाएर रमाएका थिए। महोत्सवमा तीन सय चौँरी देखाइनुको साथै याक चढ्ने (याक राइडर), गोठालाका परम्परागत खेल, गोठमा प्रयोग हुने सामग्री, जडीबुटी प्रदर्शनी गरियो।