चिनियाँ इन्टरनेट भारतीयको तुलनामा तीव्र र सस्तो

चिनियाँ इन्टरनेट भारतीयको तुलनामा तीव्र र सस्तो

चीनबाट नेपाल भित्रिएको इन्टरनेटको मूल्य विद्यमान बजारभन्दा सस्तो र गति तीव्र हुने दाबी चिनियाँ विज्ञले गरेका छन्। भारतीय मिडियामा चिनियाँ इन्टरनेट गति सुस्त हुने भनेर चर्चा भइरहँदा चिनियाँ टेलिकमका अधिकारीले यस्तो धारणा सार्वजनिक गरेको नेपाल खबर अनलाइनले लेखेको छ।

चाइना टेलिकम ग्लोबलका दक्षिण एशिया प्रमुख वाङ योङ्लिनले परीक्षणहरुबाट नेपाल आइरहेको भारतीय ब्यान्डविथभन्दा चिनियाँ ब्याडविथको गति तीव्र हुने दाबी गर्नु भएको हो। ‘चीन–नेपाल फाइबर अप्टिक लिंकले हङकङसँगको समय ढिलाई ७३ मिलिसेकेन्डले घटाउनेछ। यसले भारतीय कम्पनीले नेपालमा दिइरहेको इन्टरनेटभन्दा ५० मिलिसेकेन्ड छिटो बनाउनेछ’, उहाँले भन्नुभयो।

गत सातादेखि चिनियाँ इन्टरनेट व्यावसायिक रुपमा नेपाल भित्रिएको हो। नेपाल टेलिकमले चाइना टेलिकम ग्लोबलसँग इन्टरनेट खरिद गरी केरुंग नाका हुँदै नेपाल भित्र्याएको हो।

‘चिनियाँ ब्यान्डविथले नेपाली जनतालाई इन्टरनेट सुरक्षामा विश्वसनीयता एवं सस्तोमा इन्टरनेट उपलब्ध गराउनेछ’ ग्लोबल टाइम्सको अनलाइनमा वाङले भन्नुभएको छ। उहाँले अन्तरदेशीय फाइबर लिंक केबलमार्फत् नेपाल हङकङ हुँदै अन्य देशहरुसँग जोडिन सक्ने उल्लेख गर्नुभयो।

चीनबाट इन्टरनेट भित्र्याउन हिमाली क्षेत्रमा ८२ किलोमिटरसम्म फाइबर अप्टिक विछ्याइएको छ। भारतीय नाकाबन्दीपछि चीनबाट इन्टरनेट भित्र्याउने प्रक्रियाले तीब्रता पाएको थियो। यसअघि टेलिकमले तातोपानी नाका हुँदै चाइना टेलिकम्युनिकेशन कर्पोरेशनसँग ब्यान्डविथ किन्न प्रक्रिया अघि बढाएको थियो। भूकम्पका कारण तातोपानी नाका बन्द भएपछि रसुवागढी नाकातर्फ फाइबर अप्टिक विछ्याइएको थियो।

चीनबाट ब्यान्डविथ भित्रिएसँगै गत शुक्रबारदेखि इन्टरनेटमा भारतमाथिको निर्भरताको अन्त्य भएको छ। टेलिकमले भारतीय कम्पनीहरु टाटा, एयरटेल एवं बिएसएनएलसँग ब्यान्डविथ किनेर सेवा प्रवाह गर्दै आएको अवस्थामा चिनियाँ ब्यान्डविथ भित्रिएको हो। हाल विराटनगर, वीरगन्ज र भैरहवाबाट २२ जीबीपीएस भारतीय ब्यान्डविथ नेपाल भित्रिने गर्छ। चीनबाट सुरुमा १ दशमलव ५ जीबीपीएस ब्यान्डविथ भित्र्याउने सम्झौता भएको छ।

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *