
यही कमजोरी हटाउन सधैजसो राजनैतिक मेला लाग्ने कालिकोटमा विद्यार्थीहरूका लागि सिकाइमेला लागेको छ । मेलाको मूल नारा थियो– पढौँ, सिकौं र जानौँ ।
मान्ममा आयोजना गरिएको यो जिल्ला स्तरीय मेलाको मुख्य उद्देश्य कक्षा एक, दुई र तीनका विद्यार्थीको पढाइ राम्रो बनाउनु थियो । उनीहरूको लेखाइ सुधार्नु यसको अर्को लक्ष्य थियो । मेलामा शिक्षक, अभिभावक र बालबालिकाले बनाएका सयौं शैक्षिक सामग्री राखिएका थिए । मेला हेर्न गाउँ– गाउँबाट शिक्षक, अभिभावक र विद्यार्थी भेला भएका थिए । सिकाइ मेलाबाट जिल्लामा पहिलो पटक अन्तर–विद्यालय सिकाइ आदानप्रदान भएको निमित्त जिल्ला शिक्षा अधिकारी जसीप्रसाद चौलागाईंले बताउनुभयो।
मेलामा सहभागी बालबालिकाले कथा, कविता, गीत, गजल र चुट्किला सुनाएका थिए। कतिले आफैं चित्र बनाएका थिए । कति अरू विद्यालयका साथीले बनाएका चित्र र शैक्षिक सामग्री हेरेर रमाएका थिए। शैक्षिक अभियानसम्बन्धी देउडा, सडक नाटक र विद्यालयले बनाएका हेलिकोप्टर मेलाका विशेष आकर्षण थिए ।
