धुवाँ फाल्ने गाडीलाई काठमाडौं प्रवेशमा रोक

वायु प्रदूषण न्यूनीकरण गर्न धुवाँ फाल्ने गाडीलाई उपत्यका प्रवेशमा रोक लगाइने भएको छ। यातायात व्यवस्था विभागले आगामी वैशाखदेखि प्रदूषण मापदण्ड पालना नगर्ने सवारीसाधनलाई उपत्यका प्रवेशमै रोक लगाउने तयारी थालेको हो।

उपत्यका प्रवेशका सबै नाकामा प्रदूषण मापदण्ड जाँच गरी फेल हुने सवारीलाई प्रवेश गर्न नदिने तयारी विभागले थालेको छ। काठमाडौं महानगरपालिकाका पूर्वमेयर केशव स्थापितले प्रदूषित सवारीलाई नियमित मर्मत गरेर उपत्यका प्रवेश गराउनुपर्ने सुझाव दिनुभयो। चोर पसिसकेपछि प्रहरीलाई खोज्न लगाउनुभन्दा चोर पस्नै नदिने गरी काम गर्नु आवश्यक रहेको भन्दै तत्काल सफा र सुन्दर सहर बनाउन विभाग लाग्नुपर्ने उहाँले बताउनुभयो।

उपत्यकाको प्रदूषण नियन्त्रण र अनुगमन कडाइसाथ लागू गर्न पुराना र फोहोर गाडी प्रवेशमा रोक लगाउन लागिएको विभागका महानिर्देशक रूपनारायण भट्टराईले बताउनुभयो। ‘प्रदूषण टेस्ट गर्ने सातवटा सेट मेसिन खरिदको प्रक्रिया अघि बढिसकेको छ। मेसिन आएलगत्तै सबै नाकामा नियमित चेकजाँच गरिने र प्रदूषितलाई उपत्यका छिर्न रोक लगाइनेछ’, उहाँले भन्नुभयो।

प्रधानमन्त्री कार्यालयको पहलमा द्रुत एक्सन टिम गठन गरी एक महिनायता देखि उपत्यकामा धेरै धुवाँ फाल्ने र पुराना सवारीमाथि कारबाही तीव्र बनाइएको छ। टोलीले ३ सयभन्दा धेरै सवारीको जाँच गरी कारबाहीका लागि विभाग पठाएको छ। उपत्यकामा धेरै धुवाँ फाल्ने पुराना सवारीकै कारण भएको निष्कर्ष विभागले निकालेको छ भने ३६ प्रतिशत वायु प्रदूषण सवारीबाट निस्कने धुवाँकै कारण हुने गरेको अन्नपूर्णपोस्ट अनलाइनले जनाएको छ।

चारपांग्रे सवारीले ६ महिनामा सवारी जाँचपास र वर्षमा एक पटक वातावरण मैत्री सवारीका लागि परीक्षण गराई हरियो स्टिकर लिनुपर्छ। विभागको कमजोर नियमन र चेकजाँचका कारण प्रदूषित गाडी संख्या थपिएको छ। विभागको तथ्यांकअनुसार देशभर गुड्ने कुल २७ लाख सवारीमध्ये ११ लाख काठमाडौं उपत्यकामै गुड्छन्। उपत्यकामा गुड्नेमध्ये ७० प्रतिशत सवारीले प्रदूषण गरिरहेको वातावरणविद्को आरोप छ।

विभागले सवारी परीक्षण कार्यालय टेकुमा स्थापना गरेको ४ वर्ष बिते पनि अहिलेसम्म प्रदूषण परीक्षण गरेको छैन। ६ करोड रुपैयाँ लगानीमा नेपालमै पहिलो सवारी जाँच मेसिनसहितको केन्द्र स्थापना भए पनि यातायात व्यवस्था विभागको लापरबाहीले गर्दा मेसिन जडान गरेदेखि नै सञ्चालन हुन नसक्दा प्रदूषण परीक्षण हुन नसकेको हो।

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *