नेपाल कम्युनिस्ट पार्टीको राजनीतिक प्रतिवेदनमा चीनको बीआरआईको प्रशंसा

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को हालै सार्वजनिक राजनीतिक प्रतिवेदनमा उत्तरी छिमेकी चीनको प्रशंसा गरिएको छ भने दक्षिणी छिमेकी भारत र महाशक्ति अमेरिकाका बारेमा केही उल्लेख छैन। दस्तावेजको पहिलो बुँदामै चीन समाजवादी बाटोमा अघि बढेको उल्लेख छ।

‘वर्तमान अन्तर्राष्ट्रिय परिस्थिति र विश्व कम्युनिष्ट आन्दोलन’ शीर्षकमा ‘एकाधिकार पुँजीवादले २१ औँ शताब्दीको सुरुवातसम्म आइपुग्दा विश्वका अधिकांश मुलुकहरूलाई बजारका रूपमा परिणत गर्दै त्यसलाई एउटा विश्व प्रणालीको स्वरूप दिएको छ’, पहिलो बुँदामै भनिएको छ, ‘सँगसँगै चीनलगायत कतिपय मुलुकहरू आ–आफ्नै ढाँचाको समाजवाद निर्माणको बाटोमा अघि बढिरहेका छन्।’

अन्तर्राष्ट्रिय शक्ति सन्तुलनको चर्चा गर्ने क्रममा चीनले हासिल गरेको उपलब्धिको दस्तावेजमा प्रशंसा गरिएको छ। त्यसमा भनिएको छ, ‘विश्व वित्तीय पुँजीवाद गम्भीर सङ्कट र मन्दीबाट गुज्रिरहेको बेला जनवादी गणतन्त्र चीनलगायतका मुलुकहरूले भने अर्थतन्त्रको क्षेत्रमा गुणात्मक फड्को मारेका छन्। चीन विश्वको दोस्रो आर्थिक शक्तिको रूपमा स्थापित भएको छ र निकट भविष्यमै पहिलो आर्थिक शक्तिका रूपमा स्थापित हुने दिशामा अग्रसर छ। केही दशकभित्रै चीनले हासिल गरेको चमत्कारिक उपलब्धि प्रेरणादायी छ।’ चिनियाँ राष्ट्रपति सी चिनफिङले अघि सारेको बेल्ट एन्ड रोड इनिसियटिभ (बीआरआई) प्रति आशा गर्दै नेकपाले त्यसबाट लाभ लिनुपर्ने कुरामा जोड दिएको नेपालखबर अनलाइनले लेखेको छ।

अघिल्लो सरकारले चीनसँग हस्ताक्षर गरेको बीआरआई परियोजना नेकपाले नेतृत्व गरेको यो सरकारले अघि बढाइरहेको छ। बीआरआई लगायत चीन संलग्न भएका परियोजना र संस्थाहरूका कारण ‘पश्चिमा शक्ति राष्ट्रहरूको बर्चश्व कमजोर बन्दै गएको’ निष्कर्ष नेकपाले निकालेको छ।

‘आर्थिक विकास, यातायातलगायत आवागमन सम्पर्क (कनेक्टिभिटी) र विभिन्न मुलुक र सभ्यताका बीचमा सम्बन्ध जोड्ने उद्देश्यका साथ चीनले अगाडि सारेको बेल्ट एन्ड रोड इनिसिएटिभलाई विश्वका ७० भन्दा बढी मुलुकहरूले समर्थन गरेका छन् र विकासका नयाँ अवधारणाहरू विकास गर्दैछन्’, थप व्याख्या गर्दै दस्तावेजमा भनिएको छ, ‘चीनको यो अभूतपूर्व विकास, चीन, रुस, ब्राजिल, दक्षिण अफ्रिका र भारतबीच खडा गरिएको ब्रिक्स संयन्त्र, एसियाली पूर्वाधार विकास बैङ्कलगायत वित्तीय संस्थाहरू र विभिन्न पहलकदमीहरूले नीति निर्माण र निर्णय प्रक्रियामा पश्चिमा शाक्ति राष्ट्रहरूको बर्चस्व कमजोर बन्दै गएको छ।’

‘चीनका विरुद्ध हुन सक्ने घेराबन्दीप्रति नेकपा सचेत रहुनपर्ने’ उल्लेख गर्दै राजनीतिक प्रतिवेदनमा भनिएको छ, ‘दक्षिण चीन सागर र मलक्का जलडमरुलगायत समुद्री मार्गहरूमा उत्पन्न समस्या, प्रशान्त र हिन्द महासागरमा बढ्दो अमेरिकी सैन्य तैनाथी, चीनको बेल्ट एन्ड रोड इनिसिएटिभ र यसका विरुद्ध कतिपय देशका प्रयास, कोरियाली प्रायद्वीपको तनाव र पछिल्ला विकसित घटनाक्रम, चीन विरुद्धका कथित स्वतन्त्र तिब्बत गतिविधिलगायत एसिया प्रशान्त क्षेत्रका घटनाक्रमहरूलाई पनि हामीले ध्यानमा राख्नुपर्छ।’

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *