विश्वकै दुर्लभ एकसिंगे गैंडाको अस्वाभाविक रूपमा प्राकृतिक मृत्यु

विश्वमै दुर्लभ मानिएको एकसिंगे गैंडाको प्राकृतिक मृत्यु नेपालमा अस्वाभाविक रुपमा बढेको छ। चोरी शिकारी रोकिएको वर्ष प्राकृतिक मृत्यु अस्वाभाविक रुपमा बढेपछि चितवन राष्ट्रिय निकुञ्जको क्षमतामा प्रश्न उठेको छ। चितवन राष्ट्रिय निकुञ्जले दिएको जानकारीअनुसार गत आर्थिक वर्षमा ४३ वटा गैंडाको मृत्यु भएको थियो । जुन अघिल्लो आर्थिक वर्षको तुलनामा ६५.४ प्रतिशतले बढी हो। आर्थिक वर्ष २०७४/०७५ मा २६ गैंडा प्राकृतिक कारणले मरेका थिए।

२०७४/०७५ मा २६ गैंडा मर्दा निकुञ्जले आश्चर्यजनक भनेको थियो। तर गत वर्ष २०७५/०७६ मा झनै बढी गैंडा मरे। प्राकृतिक कारण बढी देखिए पनि संख्या अस्वाभाविक भएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत वेदकुमार ढकालले बताउनुभयो। ‘यतिधेरै संख्यामा गैंडा कालगतिले मरेको देख्दा हामीलाई आश्चर्यमा पारेको छ,’ प्रमुख संरक्षण अधिकृत ढकालले भन्नुभयो।

गैंडाहरु जुधेर, बुढो भएर, करेन्ट लागेर, दलदलमा फसेर, पानीले बगाएर, बाघले बच्चा खाएर, संक्रमण भएर, गोहीले आक्रमण गरेर मर्ने गरेका छन् । होटलको सेफ्टी ट्यांकीमा खसेर समेत गैंडा मरेका छन् । तर, गत वर्ष मरेका ४३ गैंडामध्ये २३ वटाको मृत्युको कारण अझै थाहा हुन नसकेको निकुञ्जका प्रमुख संरक्षण अधिकृत ढकाल बताउनुहुन्छ। झण्डै तीन वर्षयता चोरी शिकारीबाट भने चितवन राष्ट्रिय निकुञ्जमा एउटा पनि गैंडा मरेका छैनन्। हरेक चार–चार वर्षमा गैंडा गणना गर्ने भनिए पनि गत वर्ष बजेट अभाव भएको भन्दै गैंडा गणना गरिएन। चालु आर्थिक वर्षमा भने गैंडा गणना गरिने भएको अनलाइनखबरले जनाएको छ।

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *