नेपाल–भारत पारवहन सहजीकरण सम्मेलन आइतबारदेखि काठमाडौँमा

नेपाल–भारत पारवहन सहजीकरण सम्मेलन आइतबारदेखि काठमाडौँमा हुदैछ। दुईदिने सम्मेलनमा दुवै देशका व्यापार तथा वाणिज्य क्षेत्रका विज्ञ, सरकारी पदाधिकारीबाट पारवहन, आयात निर्यातलगायतका विषयमा कार्यपत्र प्रस्तुति तथा छलफल हुने कार्यक्रम छ। नेपाल सरकार, नेपाल उद्योग वाणिज्य महासङ्घ र मेरिटाइम गेटवे इन्डियाद्वारा संयुक्त रूपमा हुने सम्मेलनमा सहभागिताका लागि भारतका उद्योग तथा वाणिज्य मन्त्रालयका विशेष सचिव (लजिस्टिक) एन. सिभासैलामको नेतृत्वमा भारतीय टोली काठमाडौँमा आएको गोरखापत्र अनलाइनले जनाएको छ।

यसैबीच नेपाल र भारतबीचको पारवहनका विद्यमान चुनौती तथा व्यावहारिक समस्याका विषयमा भएको छलफलमा भारतका विशेष सचिव एन. सिभासैलामले नेपाल–भारत पारवहनका विषयमा प्रत्यक्ष रूपमा नेपाली उद्यमीसँग बसेर छलफल गर्ने मौका प्राप्त भएकोमा खुसी व्यक्त गर्दै स्थलगत रूपमा रहेका समस्या समाधानमा आफूले सक्दो सहयोग गर्ने विश्वास दिलाउनु भएको नेपाल उद्योग वाणिज्य महासङ्घले जनाएको छ। छलफलमा उठेका नीतिगत, पूर्वाधार तथा स्थलगत सबै प्रकारका समस्या समाधानमा सहयोग गर्ने पनि उहाँले प्रतिबद्धता जनाउनुभयो। विशेष सचिव एन. सिभासैलामलाई स्वागत गर्दै महासङ्घका अध्यक्ष भवानी राणाले भारत, नेपालको सबैभन्दा ठूलो व्यापारिक साझेदार रहेको र अधिकांश व्यापार भारतीय भूमि भएर हुने गरेको स्थितिमा पारवहनका विषयमा देखापरेका समस्याको समाधान गरी निर्वाध व्यापार व्यवसायको वातावरण बन्नुपर्ने धारणा राख्नुभयो ।

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *