सन् २०१७ मा ९ लाख ४० हजार पर्यटक भित्रिए

   नेपाल सरकारको २०१७ मा वार्षिक १० लाख पर्यटक भित्र्याउने लक्ष्य पूरा हुन सकेन। लक्ष्य प्राप्त गर्न नसक्नुका धेरै कारण भएपनि मुख्य मुख्य कारण चाहिँ पूर्वाधार विकासमा ढिलाइ रहेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव महेश्वर न्यौपानेले बताउनु भएको नेपाल खबर अनलाइनले लेखेको छ।

        अध्यागमन विभागको तथ्याङ्क अनुसार सन् २०१७ मा नेपालमा ९ लाख ४० हजार विदेशी पर्यटक भित्रिएका छन्। यो तथ्याङ्कले सरकारको १० लाख पर्यटक भित्र्याउने लक्ष्य प्राप्त नभए पनि तुलनातमक रुपमा नेपाल भित्रिने पर्यटकको संख्या बढ्दो क्रममा रहेको देखाउँछ।

नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दिपक राज जोशीले लक्ष्य प्राप्त नभएपनि त्यसको नजिक पुग्न सक्नु खुसीको कुरा रहेको बताउनुभयो। विभागका अनुसार २०१६ को तुलनामा २०१७ मा २८.८८ प्रतिशतले विदेशी पर्यटकको संख्या बढेको छ। २०१६ मा जम्मा ७ लाख २८ हजार विदेशी पर्यटकले नेपाल भ्रमण गरेका थिए। २०१४ मा आठ लाखको हाराहारीमा विदेशी पर्यटक आएका थिए भने भूकम्प आएको वर्ष २०१५ मा पर्यटकको संख्या घटेर पाँच लाखमा झरेको थियो।

लामो समयदेखि नेपालमा आउने विदेशी पर्यटहरुको संख्या पहिलो भारत र दोस्रोमा चीन रहँदै आएको छ। त्यसपछि क्रमशः अमेरिकी र बेलायती पर्यटक रहेको २०१७ को तथ्याङ्कले देखाएको छ। यो वर्ष भारतबाट १ लाख ६० हजार ८ सय ३२ पर्यटक भित्रिएका छन् भने चीनबाट १ लाख ४ हजार ६ सय ६४ जना पर्यटक आएका छन्। यसैगरी अमेरिकाबाट ७९ हजार एक सय ४६ र बेलायतबाट ५१ हजार ५८ पर्यटक नेपाल आएका छन्। त्यस्तै श्रीलंकाबाट ४५ हजार ३ सय १३ पर्यटक आएका छन्।

२०१६ मा भारतबाट १ लाख ८२ हजार २ सय ४९, चीनबाट १ लाख ४ हजार ५ पर्यटक भित्रिएका थिए। त्यस्तैगरी श्रीलंकाबाट ५७ हजार ५ सय २१ र अमेरिकाबाट ५३ हजार ६ सय ४५ आएका थिए।

अघिल्लो वर्षको तुलनामा यो वर्ष भारतबाट नेपाल आउने पर्याटकको संख्या २१ हजार ४ सय १७ ले कम रहेको छ। चीनबाट भने अघिल्लो वर्षभन्दा ६ सय ५९ बढी पर्यटक यो् वर्ष नेपाल आएको देखिन्छ।

यो १० लाख विदेशी पर्यटक भित्र्याउने सरकारको लक्ष्य पूरा नभएपनि पर्यटकको आगमन तुलनात्मक रुपमा बढेकाले व्यवसायी उत्साहित देखिन्छन्। पर्यटन क्षेत्रको सुधारसँगै २०२० मा २० लाख पर्यटक भित्र्याउने लक्ष्य राखिएको छ।

तर यो लक्ष्य प्राप्त गर्न त्यति सहज नभएको होटल एशोसिएशन अफ नेपाल (हान) का महासचिव विनायक शाहले बताउनुभयो। ‘नेपालको एक मात्र अन्तर्राष्ट्रिय विमानस्थलको अवस्थामा लामो समयदेखि सुधार हुन नसकेको हुँदा २ वर्षभित्र २० लाख पर्यटक भित्र्याउन सहज छैन्’, शाहले भन्नुभयो, ‘हामीसँग २५ लाख पर्यटक धान्न सक्ने होटल छन् तर पर्यटक आगमनमा उत्साहजनक वृद्धि हुन नसक्नु दुर्भाग्यको कुरा हो।’

नेपालमा साना ठूला गरी २ हजार बढी होटल सञ्चालनमा छन्। २०२० मा २० लाख पर्यटक भित्र्याउन त्यति सहज नभए पनि निजी र सरकारी क्षेत्रको सहकार्य भएमा असम्भव भने नरहेको मन्त्रालयका सचिव महेश्वर न्यौपानेले बताउनुभयो। पूर्वाधार विकासले गति नलिँदा पर्यटक आगमन सोचे जस्तो नभएको स्वीकार्दै उहाँले अब सरकारले यस क्षेत्रमा विशेष ध्यान दिने दावी गर्नुभयो।

२०२० मा २० लाख पर्यटक भित्र्याउने लक्ष्य राखेर एक्सपेरियन्स नेपाल, फोटो नेपाल, होमस्टे नेपाल लगाएका कार्यक्रम ल्याइएको पर्यटन बोर्डले जनाएको छ।

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *