पाँच वर्षमा नेपालले उर्जा निर्यात गर्ने नेपालका एकजना मन्त्रीको भनाइ

पाँच वर्षमा नेपालले उर्जा निर्यात गर्ने नेपालका एकजना मन्त्रीको भनाइ

नेपालका उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री वर्षमान पुनले उर्जाको माग र वितरणलाई सन्तुलन गर्न क्षेत्रीय उर्जा कनेक्टिभिटि आवश्यक रहेको बताउनु भएको छ। अमेरिकाको न्यूयोर्कमा शुक्रबार राष्ट्रसंघीय फोरमलाई सम्बोधन गर्दै मन्त्री पुनले पाँच वर्षभित्र नेपालले सिमापार उर्जा व्यापार गर्ने र त्यसका लागि पाँच हजार मेगावाट विद्युत उत्पादन भइरहेको बताउनु भएको नेपाल खबर अनलाइनले लेखेको छ।

 

अष्ट्रियासँग उर्जा क्षेत्रमा सहकार्य गर्ने सम्झौता गरि न्यूयोर्क पुगेका मन्त्री पुनले २४ मे, शुक्रबार ‘सबैका लागि दीगो उर्जाको संयुक्त राष्ट्र दशकको कार्यान्वयन सम्बन्धी उच्च स्तरीय संवाद’ फोरमलाई सम्बोधन गर्नु भएको हो।

‘हाम्रो क्षेत्रमा उर्जाको माग र वितरणलाई सन्तुलन गर्न क्षेत्रीय उर्जा कनेक्टिभिटि आवश्यक छ’, मन्त्री पुनले सम्बोधनमा भन्नुभयो, ‘नेपालले भारतसँग विद्युत व्यापार सम्झौता गरिसकेको छ भने चीन र बंगलादेशसँग पनि सिमापार विद्युत व्यापारका लागि समझदारी गरेको छ।’

उर्जा सहकार्य सम्बन्धी सार्क फ्रेमवर्क र बिमस्टेक ग्रिड इन्टरकनेक्सन अन्तर्गत नेपालले क्षेत्रीय र उपक्षेत्रीय उर्जा इन्टरकनेक्सन गर्न खोजिरहेका उहाँले बताउनुभयो। नेपालले आगामी पाँच वर्षभित्र आन्तरिक खपतका लागि १० हजार मेगावाट र सिमापार व्यापारका लागि अर्को पाँच हजार मेगावाट विद्युत उत्पादन गर्ने मन्त्री पुनले बताउनुभयो।

नयाँ संविधान जारी भएसँगै स्थिर सरकार बनेको र नेपाल अहिले दिगो विकासको लक्ष्य सहित सामाजिक–आर्थिक विकासको बाटोमा अगाडि बढेको मन्त्री पुनको भनाइ छ।

‘उर्जा आर्थिक विकासको मेरुदण्ड भएकाले नेपाल अहिले विश्वसनीय, पहुँचयोग्य र आधुनिक उर्जा प्रदान गर्न प्रतिवद्ध छ’, मन्त्री पुनले भन्नुभयो ‘अर्को दुई वर्षभित्र हामी ग्रिड र अफग्रिड प्रणालीको मिश्रणबाट सतप्रतिशत नागरिकलाई उर्जा प्रदान गर्नेछौं।’

सफा उर्जाबाट आयातित पेट्रोलियम घटाउँदै जाने नेपालको लक्ष्य रहेको जनाउँदै मन्त्री पुनले भन्नुभयो, ‘अहिले निर्माण भइरहेका जलविद्युत परियोजनाबाट यस क्षेत्रमा महत्वपूर्ण प्रगती भइरहेको छ।’

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *