सहयोगी शेर्पासहित यस वर्ष ७२ जना कञ्चनजंघाको चुचुरोमा पुगेका छन्। तीमध्ये ६ जना रोप फिक्सटिङ टोलीका सदस्य थिए। संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालय, पर्यटन विभागको पर्वतारोहण शाखाले यस वर्ष सहयोगी शेर्पासहित ६६ जनाले कञ्चनजंघाको सफल आरोहण गरेको विवरण आफ्नो वेभसाइटमा राखेको छ।
अघिल्लो वर्ष ३४ जना कञ्चनजंघाको चुचुरोमा पुगेका थिए। यस वर्ष कञ्चनजंघाको आरोहणमा सबैभन्दा बढी विदेशी पर्यटकलाई लैजाने पिक प्रमोसन ट्रेकिङ प्रालिका प्रबन्धक बाबु शेर्पाले अहिलेसम्मको अभिलेखअनुसार चालु वसन्त ऋतुमा कञ्चनजंघाको चुचुरोमा पुगेकाको संख्या इतिहासकै बढी रहेको दाबी गर्नुभयो। उहाँका अनुसार पिक प्रमोसनबाट यस वर्ष १६ जना विदेशी, २ जना नेपाली र २६ जना शेर्पाहरु कञ्चनजंघाको चुचुरोमा पुगेका छन्। सुरुमा हिमालमा पदमार्ग बनाउँदै चुचुरोमा पुगेका ६ जना शेर्पाहरु पनि पिक प्रमोसनकै सदस्य थिए। कञ्चनजंघा आरोहणका लागि यस वर्ष पिक प्रमोसनसहितका ३ कम्पनीमार्फत् ३४ जनाले आरोहण अनुमति लिएका थिए। ३४ मध्ये ३२ जना विदेशी र २ जना नेपाली आरोही थिए। पिक प्रमोसन ट्रेकिङ प्रालिका सूचना अधिकारी केशव पौडेलका अनुसार यस वर्ष सेभेन समिट ट्रेकिङ एजेन्सीबाट ७ विदेशी र ७ जना सहयोगी शेर्पा तथा सांग्रिला ट्रेकिङ एजेन्सीबाट १ जना विदेशी र ४ जना शेर्पाले कञ्चनजंघा हिमालको चुचुरोमा पुगेर इतिहास बनाए।
यो वसन्त ऋतुको तथ्यांक अगाडि अहिलेसम्म कञ्चनजंघामा कुल ३ सय ४४ जनाले आरोहण गरेको रेकर्ड रहेको छ। सन् १९५५ मा बेलायती नागरिक गेअर्गी क्रिष्फोटर जर्ज ब्याण्डले पहिलोपटक कञ्चनजंघामा मानव पाइला राख्दा यो हिमालको पहिलो नेपाली आरोहीको भने आङ्फुर्वा शेर्पाको नाममा रहेको छ। हिमाल आरोहणका दृष्टिले प्राविधिक कठिनाइको रुपमा हेरिएको कञ्चनजंघा विश्वको तेस्रो तथा नेपालको दोस्रो अग्लो शिखर हो। चौथो शिविरभन्दा उँभोको क्षेत्र प्राविधिक रुपले कठिन र जटिल रहेको आरोहणपछि फर्किएकाहरुले बताउने गरेका छन्। ‘यसपटक पदमार्ग र शिविरको व्यवस्थापन राम्रो हुन सकेका कारण एकाधबाहेक आरोहणको नतिजा सुखद् नै रह्यो’,पिक प्रमोशन ट्रेकिङ प्रालिका प्रबन्धक शेर्पाले बताउनुभयो। हिमालयन गाइड्स ट्रेक्स एण्ड एक्सपिडिसन प्रालिका प्रबन्ध निर्देशक ईश्वरी पौडेलले यस वर्षको नतिजाले कञ्चनजंघा हिमाल आरोहणप्रति विदेशी मोह बढेको पुष्टि भएको बताउनुभयो। उहाँले हिमाल आरोहणका प्राविधिक कठिनाइ साम्य पार्ने हो भने कञ्चनजंघा पनि आरोहीको मुख्य नजरको क्षेत्रको रुपमा स्थापित हुने सम्भावना यस वर्षबाट बढेर गएको अनुभव सुनाउनुभयो।
अघिल्लो साता बुधबारमात्रै यही हिमालको आरोहणका क्रममा भारतको पश्चिम बंगालका कुन्टल करार र विप्लव वैधको ज्यान गएको थियो। तीमध्ये वैध चुचुरोमा पुगेर फर्कने क्रममा थिए भने कुन्टलले चुचुरो छुन करिब ५ मिटर हाराहारी बाँकी रहेको थियो। आरोहणकै क्रममा चुचुरोमा पुगेर फर्किएको जिपिएस संकेत भएका चिलीका आरोही रोडरिगोगुइच भिभ्याञ्जोको अवस्था भने पत्तो लाग्न सकेको छैन। सन् २०१३ को मे २३ तारिकका दिन २ जना नेपालीसहित ५ जनाको ज्यान गएको घटनापछि यस वर्ष २ आरोहीको मृत्यु र १ बेपत्ता हुनुबाहेक त्यसयताका आरोहण भने पूर्ण सफल हुँदै आएको छ। त्यही क्रममा यस वर्ष चुचुरोमा सर्वाधिक संख्या पुगेर इतिहास बनेको हो।