
अहिलेसम्म नेपालका विभिन्न सात ठाउँबाट वायु र सौर्य ऊर्जा प्रणालीबाट एक सय ८६ किलोवाट बिजुली उत्पादन भएको छ। मंगलबार मात्र सिन्धुलीको हरिहरपुरगढी गाउँमा वायु–सौर्य ऊर्जा प्रणालीबाट ३५ किलोवाट बिजुली उत्पादन भएको छ।

एक सय १० किलोवाट क्षमताको उक्त आयोजना समेत गरेर हाल एक सय ८६ किलोवाट बिजुली उत्पादन भइरहेको केन्द्रको तथ्यांकले देखाएको छ।
वायु र सौर्य ऊर्जा प्रणालीबाट नवलपरासीको धोवाडीमा १२ किलोवाट, मकवानपुरको फापरबारीमा २५ किलोवाट, कमलबजारमा ३१ किलोवाट, जुम्लाको तातोपानीमा २६ किलोवाट, बझाङमा २२ किलोवाट, चिसापानीमा ३५ किलोवाट र सिन्धुलीको हरिहरपुरगढी गाउँमा ३५ किलोवाट बिजुली उत्पादन भइरहेको छ।
चालु आर्थिक वर्षमा जुम्लाको नरकोटमा वायु र सौर्य ऊर्जा प्रणालीबाट ८० किलोवाट, पाल्पाको मित्तयलमा २२ किलोवाट र भोजपुरमा ३५ किलोवाट बिजुली उत्पादन गर्ने योजना रहेको जनसंख्या तथा वातावरण मन्त्रालयको योजना रहेको छ। संसारभर वायु ऊर्जामा भएका प्रगति र नेपालमै भइरहेका अध्ययनले पनि हावाबाट बिजुली निकाल्ने कुरा हावादारी नरहेको देखाएको छ।
सन् २००८ मा संयुक्त राष्ट्रसंघीय वातावरण कार्यक्रमले तयार पारेको एक रिपोर्टले नेपालमा तीन हजार मेगावाट विद्युत हावाबाट निकाल्न सकिने देखाएको छ। उक्त रिपोर्टमा अन्नपूर्ण संरक्षण क्षेत्रमा मात्रै हावाबाट सात सय १६ मेगावाट विद्युत निकाल्न सकिने बताइएको छ। उक्त रिपोर्टमा राष्ट्रिय प्रसारण लाइनबाट १५ किलोमिटर वरपरको ठाउँमा मात्रै अध्ययन भएकाले अरु धेरै थाहा नभएका ठाउँमा पनि हावाबाट बिजुली निकाल्न सकिने देखिन्छ।

डेनमार्क हावाबाट धेरै बिजुली निकालेका देशमध्ये एक हो। डेनमार्कमा अहिले राष्ट्रिय प्रसारण लाइनमा जोडिएको विद्युतको ४० प्रतिशत वायु ऊर्जा छ । छिमेकी देश भारतले पछिल्लो दशकमा २५ हजार मेगावाट र चीनले एक लाख मेगावाट वायुऊर्जा निकालेको छ । पाकिस्तानले पनि सय मेगावाट वायु ऊर्जा निकालिसकेको छ ।
