
विधिमा आधारित, पारदर्शी, समावेशी एवं भेदभावरहित बहुपक्षीय व्यापारिक प्रणालीप्रति नेपालको दृढ समर्थन रहेको बताउँदै उहाँले बजारसम्मको भन्साररहित पहुँच, उत्पत्तिको नियम, अल्पविकसित देशका सेवामा उन्मुक्तिजस्ता विगतका निर्णय कार्यान्वयन गर्नुपर्ने अपरिहार्यता औँल्याउनुभएको जेनेभास्थित स्थायी नेपाली नियोगले जनाएको छ।
अल्पविकसित मुलुकको प्राविधिक, नियामक, संस्थागत र भौतिक पूर्वाधारजस्ता संरचनागत क्षमता अभिवृद्धिका लागि अन्तर्राष्ट्रिय सहयोग संयन्त्र आवश्यक हुन्छ भन्दै उहाँले गरिबी घटाउने, रोजगारीका अवसर सिर्जना गर्ने तथा दिगो आर्थिक वृद्धि र आर्थिक विविधिकरणमा वाणिज्य क्षेत्रको अहम स्थान हुने बताउनुभयो। उहाँले भन्नुभयो, नियमसंगत विश्वव्यापारका निम्ति सन्तुलित, पारदर्शी एवं समावेशी व्यापार प्रणाली आजको आवश्यकता हो जसले दिगो विकासका लक्ष्य हासिलमा समेत मद्दत पुर्याउँछ।

