
गान्तोक, 30 जनवरी। केन्द्रिय स्वतन्त्र प्रभार पर्यटन राज्यमन्त्री केजे अल्फोन्सले ३० जनवरीको दिन राज्यका पर्यटन तथा नागरिक उड्डयन मन्त्री उगेन टी ग्याछोको उपस्थितिमा भारत सरकारको स्वदेश दर्शन योजनाअन्तर्गत कार्यान्वयन भइरहेको रम्फू-रोडाथाङ-आरिटार-फदमचेन-नाथाङ-शेरेथाङ-छाङ्गु-गान्तोक-फुदोङ-मगन-लाचुङ-युमथाङ-लाचेन-थाङ्गु-गुरुदोङमार-मगन-गान्तोक-तुमिनलिङ्गी-सिङताम समेट्ने सिक्किममा पूर्वोत्तर परिचक्र विकास परियोजनाको स्थानीय जिरो पोइन्टमा उद्घाटन गरे। यस अवसरमा मानव संसाधन विकास मन्त्री आरबी सुब्बा, प्रमुख प्रशासक आर ओङ्ग्मु, मुख्य सचिव एके श्रीवास्तव तथा विभिन्न विभागीय अधिकारीहरूको उपस्थिति रहेको थियो।
स्वदेश दर्शन योजनाको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै केन्द्रिय पर्यटन राज्यमन्त्री अल्फोन्सले सिक्किम पूर्वोत्तर राज्यहरूमा सबैभन्दा अघि पर्यटन विकासमा रहेको बताए। उनले सिक्किमको एमजी मार्ग र अन्य पर्यटकीय पूर्वाधारहरूको प्रशंसा गर्दै आफूले 38 वर्ष पहिले सिक्किमको सीमा क्षेत्र नाथुला भञ्जाङमा सेनाको प्रशासनमा सेवारत हुँदाको कुरालाई सम्झना गर्दै चार दशकमा सिक्किमले गरेको अभूतपूर्व विकासको प्रशंसा गरे।
यसैगरि उनले आफ्नो सम्बोधनको क्रममा सिक्किमका सत्तारूढ एसडीएफ पार्टीसित भारतीय जनता पार्टीको सरकारले मिलेर कार्य गरिरहेकोमा खुसी व्यक्त गरे। यसैगरि सिक्किमको तीन रैथाने समुदाय भोटे-लाप्चे नेपालीको धनी संस्कृति र परम्परा अनि लगभग 30 वटा विभिन्न भाषाहरू रहेर पनि सद्भावनासित बसोबासो गर्नु उदाहरण रहेको बताए।
अर्कोतिर कार्यक्रम सकिएपछि पत्रकारहरूसित कुराकानी गर्दै नाथुला भञ्जाङ भएर चिनियाँ पर्यटकहरूलाई सिक्किम भ्रमणको अनुमतिबारे सोधिएको प्रश्नमा चीन अहिले विश्वकै दोस्रो सबैभन्दा धेरै पर्यटकीय राष्ट्र भएको हुनाले चीनियाँ पर्यटकहरूलाई भारतमा ल्याउने योजना रहेको तथा दुइ राष्ट्रबीचको सम्बन्धलाई ध्यानमा राखेर कार्य गर्नुपर्ने बताए। पहिलेबाटै मानसरोवर यात्रा सिक्किम भएर चलिरहेको अनि यसले राम्रो सफलता पाएको बताउँदै भविष्य़मा गृह विभागद्वारा अन्य पर्यटकीय सम्भावनाबारे निर्य़ण गरिनुपर्ने बताए। यसैगरि सिक्किम लगायत देशको पूर्वोत्तर राज्यको मानिसहरूको डीएनएनमा नै अतिथि सत्कार भएको हुनाले पर्यटनको निम्ति धेरै सम्भावनाहरू रहेको बताए। मन्त्री अल्फोन्सले यी सम्भावनाहरूलाई सही रूपमा प्रयोग गरेर रोजगार अनि अवसर सिर्जना गर्न सरकार प्रतिबद्ध रहेको बताए। उनले भाजपा सरकारले पछिल्लो चार वर्षमा पर्यटन र अन्य विषयमा गरेको विभिन्न कार्यहरूको बेलिबिस्तार पनि लगाउन भ्याएका थिए। कार्यक्रममा पर्यटन विभागका सचिव टीटी भोटियाले स्वदेश दर्शन योजनाको विस्तृत जानकारी दिएका थिए।
पूर्वोत्तर क्षेत्रमा पर्यटन विकास गर्न केन्द्रिय पर्यटन मन्त्रालयले विशेष ध्यान केन्द्रित गरिरहेको छ| मन्त्रालयले क्षेत्रमा घरेलु साथै विदेशी पर्यटकहरूको आगमनमा वृद्धि ल्याउन कैयौं पहल शुरु गरेको छ| यस क्षेत्रले पर्यटनको सन्दर्भमा सामना गर्नुपर्ने कैयौं चुनौतीमध्ये प्रमुख गुणस्तरीय पूर्वाधारका साथमा पर्यटकहरूको निम्ति उपलब्ध हुने विविध सेवा अनि सामग्रीबारे जागरूकता रहिआएको छ|
यी सबै विषयलाई सम्बोधित गर्न मन्त्रालयले कैयौं कार्यक्रम परिचालन गरिरहेको छ| मन्त्रालयले आफ्नो ध्वजवाहक कार्यक्रम स्वदेश दर्शन अनि प्रसादअन्तर्गत क्षेत्रमा पूर्वाधार विकासमाथि विशेष जोड दिइरहेको छ| पर्यटन पूर्वाधारहरूको विकासका लागि मन्त्रालयले स्वदेश दर्शन अनि प्रसाद परियजोनाअन्तर्गत सबै पूर्वोत्तर राज्यहरू समेट्दै रु. १३४९.०४ करोड बराबरको १६ वटा परियोजना अनुमोदन गरेको छ| मन्त्रालयले अन्य मन्त्रालय जस्तै डोनर, संस्कृति मन्त्रालयका साथमा सडक परिवहन एवं राजमार्ग मन्त्रालय तथा नागरिक उड्डयन मन्त्रालयसँग मिलेर क्षेत्रमा पर्यटन विकासको दिशामा काम गरिरहेको छ|
स्वदेश दर्शन पर्यटन मन्त्रालयको ध्वजवाहक योजना हो जसअन्तर्गत देशव्यापी रूपमा विषयगत परिचक्रहरूको नियोजन गर्दै प्राथमिकताका साथ कार्यान्वयन गरिरहेको छ| योजनाअन्तर्गत सरकारले पर्यटकहरूलाई सुखद अनुभव प्रदान गर्न आवश्यक सुविधाहरू उपलब्ध गराउने ध्येयका साथ गुणस्तरीय पूर्वाधार विकासमाथि बल दिनका साथै आर्थिक विकासलाई टेवा प्रदान गर्ने काम गरिरहेको छ| मन्त्रालयद्वारा वर्ष २०१४-१५ मा शुरु गरिएको यस परियोजनाअन्तर्गत ३० वटा राज्य अनि केन्द्र शासित प्रदेशको निम्ति रु. ६१२१.६९ करोड बराबर लागतको ७७ वटा परियोजना अनुमोदन गरिसकेको छ| यीमध्ये ३० वटा परियोजना अथवा यसका प्रमुख घटकहरू यसै वर्ष सम्पन्न गरिने आशा गरिएको छ भने आजको मितिसम्म ११ वटा परियोजनाको उद्घाटन गरिसकिएको छ|
आज उद्घाटन गरिने रम्फू-रोडाथाङ-आरिटार-फदमचेन-नाथाङ-शेरेथाङ-छाङ्गु-गान्तोक-फुदोङ-मगन-लाचुङ-युमथाङ-लाचेन-थाङ्गु-गुरुदोङमार-मगन-गान्तोक-तुमिनलिङ्गी-सिङताम समेट्ने सिक्किममा पूर्वोत्तर परिचक्र विकास परियोजना पर्यटन मन्त्रालयद्वारा जून २०१५ मा रु. ९८.०५ करोडको अनुमानित लागतमा अनुमोदन गरिएको थियो| परियोजना अन्तर्गत मन्त्रालयले पर्यटन सूचना केन्द्र, ध्यान केन्द्र, जैविक पर्यापर्यटन केन्द्र, काठको कुटी, जिपलाइन, पुष्प प्रदर्शनी केन्द्र, अरण्यमार्ग, उपहार पसल, क्याफेटेरिया, वर्षाबाट जोगिने शरणस्थल, सडक किनारा जलपान पसल, अन्तिम विन्दुसम्म सम्पर्क सुविधा, वाहन बिसाउनी, सार्वजनिक शौचालय आदि निर्माण गरेको छ|
यसका अतिरिक्त, मन्त्रालयले सिक्किमको निम्ति सिङताम-माखा-तिमी-बर्मेक टोकल-फोङला-नाम्ची-जोरथाङ-ओखरे-सोमबारे-दरामदिन-जोरथाङ-मल्ली परिचक्र परियोजना रु. ९५.३२ करोडको अनुमानित लागतमा सेप्टेम्बर २०१६ मा अनुमोदन गरेको छ, जसको काम प्रगतिमा चलिरहेको छ|
पूर्वोत्तर क्षेत्रको प्रवर्तनका लागि मन्त्रालयले घरेलु साथै अन्तरराष्ट्रिय बजारहरूमा क्षेत्रको विविधता, पर्यटन उत्पाद अनि समृद्ध सांस्कृतिक धरोहर प्रकाश पार्दै प्रसार-प्रचारको काम पनि गर्दैआएको छ| पर्यटन मन्त्रालयले पर्यटन अनि आतिथ्य क्षेत्रमा दक्ष श्रमशक्ति तयार पार्न होटल प्रबन्धन एवं पाककला संस्थानहरू पनि स्थापित गरेको छ|
मन्त्रालयको पहलले सकारात्मक परिणाम ल्याइरहेको छ भने क्षेत्रमा अन्तरराष्ट्रिय पर्यटकहरूको आगमनमा उल्लेखनीय वृद्धि दर्ता गरिएको छ| वर्ष २०१६ को १.४५ लाख अन्तरराष्ट्रिय पर्यटकको तुलनामा २०१७ मा १.६९ विदेशी पर्यटक यस क्षेत्रमा आउँदै १६.७ प्रतिशतको वृद्धि दर्ता गरिएको थियो| यसै गरी घरेलु पर्यटकहरूको आगमनमा ७७.७१ लाखको विपरीत २०१७ मा ९५.४७ पर्यटक पूर्वोत्तरको भ्रमणमा आउँदै २०१६ को तुलनामा २२.८ प्रतिशतको वृद्धि दर्ता गरिएको थियो| बढ्दो सङ्ख्यामा पर्यटकहरूको आगमनले क्षेत्रका स्थानीय जनसमुदायमा अरू धेरै रोजगार अवसरहरू सिर्जना गरिरहेको छ|