नेपाल सरकारले महाकवि लक्ष्मीप्रसाद देवकोटाको घरलाई संग्राहलय बनाउने निर्णय गरेसँगै त्यसका लागि गृहकार्य सुरु भएको छ। महाकवि देवकोटाको ११० औँ जन्मजयन्तीको अवसरमा बालुवाटारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले मैतिदेवीस्थित उनको घरलाई संग्रहालय बनाउने घोषणा गर्नु भएको थियो। सोही निर्णयलाई मंसिर १७ को मन्त्रिपरिषद बैठकले औपचारिकता दिएको छ।
सरकारले नेपाल प्रज्ञा प्रतिष्ठानअन्तर्गत संचालन गर्नेगरी देवकोटाको भग्नावशेष घर आफ्नो स्वामित्वमा लिने तयारी गरेको छ। त्यसका लागि सरकार र प्रज्ञाबीच मौखिक सहमतिसमेत भएको छ।
मौखिम सहमति भएसँगै प्रज्ञाले मैतिदेवीको शास्त्री बस्तीभित्र रहेको महाकवि देवकोटाको १२ अना जग्गा सरकारको स्वात्मिका लिने प्रयास सुरु गरेको छ। त्यसका लागि प्रज्ञाका कुलपति गंगाप्रसाद उप्रेतीले देवकोटाकी माहिली छोरी अम्बिकादेवी रिमालसँग छलफलसमेत गर्नु भएको छ। हाल अस्ट्रेलियामा रहेका देवकोटाका छोरा पद्मप्रसादसँग पनि फोनमा कुराकानी भएको प्रज्ञाका सदस्य सचिव जगतप्रसाद उपाध्यायले बताउनुभयो।
‘प्रज्ञाले व्यवस्थापन र सञ्चालन गर्नेगरी महाकविज्यूको मैतिदेवीस्थित घर–जग्गा सरकारी स्वामित्वमा ल्याउने मौखिक सहमति भएको छ’ सदस्य सचिव उपाध्याय भन्नुहुन्छ ‘त्यसमा के–कसरी जाने भनेर लिखित पत्राचार आउन बाँकी छ। तत्कालै यसबारे टुंगो लाग्नेछ।’
महाकवि देवकोटाको घरलाई संग्रहालय बनाउने विषयमा उनका छोराछोरी दुवै सकारात्मक रहेको उहाँले बताउनुभयो। घर भग्नावशेष अवस्थामा रहेकाले १२ आना जग्गाको मूल्यांकन र मापदण्ड गरी प्रचलित दरअनुसार परिवारलाई दिने विषयमा छलफल भएको भनाइ छ।
हाल १२ आना क्षेत्रफलमा फैलिएको महाकिव देवकोटाको घर–जग्गा उनकी जेठी छोरी मिनाको नाममा रहेको छ। तीर्थयात्रामा रुचि राख्ने उहाँ धेरै समय घर बाहिरै हुनुहुन्छ। दुवै छोरा (पद्म र दीपक) देशबाहिर हुनुहुन्छ। त्यसैले हाल घरको रेखदेख छोरी अम्बिकादेवीले गर्दै आउनु भएको छ।
अम्बिकादेवी सरकारको निर्णयले आफू अत्यन्त खुसी भएको बताउनुहुन्छ। उहाँले भन्नुभयो, ‘सरकारको निर्णयप्रति हामी सकारात्मक छौँ। दिदी र भाइहरु पनि खुसी हुनुहुन्छ।’ छोरा पद्मले अष्ट्रेलियाबाट संग्रहालय बनाउने विषयमा निर्णय लिएकोप्रति प्रधानमन्त्रीलाई धन्यवाद दिनुभयो।
अम्बिकादेवीको सरकारले उचित मुआब्जा दिनुपर्ने माग छ। जग्गाको साटो अन्य कुनै स्थानमा जग्गा वा पैसा सरकारलाई जे सहज लाग्छ त्यसमा छलफल गर्न सकिने उहाँले बताउनुभयो। यता सरकारले लिखित पत्र पठाएपछि परिवारसँग थप छलफल गर्ने तयारीमा प्रज्ञा छ।