
बेइजिङस्थित कम्युनिकेसन युनिभर्सिटीले नेपालका शैक्षिक सँस्थाहरूसँग मिलेर थप शैक्षिक आदान प्रदान गर्ने इच्छा देखाएको छ। हिजो बिहीबार चीनका लागि नेपाली राजदूत लीलामणि पौडेलले गरेको विश्वविद्यालय भ्रमणका क्रममा विश्वविद्यालयका अध्यक्ष हु चङरोङले नेपालसँग सम्बन्ध अझै गहन पार्नका लागि सहयोगका क्षेत्रहरू खोजिरहेको बताउनु भएको नेपाल खबर अनलाइनले लेखेको छ।
हुले भन्नुभयो, ‘नेपाल टेलिभिजनका कर्मचारीहरूलाई तालिम दिनेदेखि संचार विषयमा छात्रवृत्ति र साधनश्रोत पर्याप्त भएकाले नेपालको संचार क्षेत्रमा दक्ष जनशक्ति विकासका लागि सहयोग गर्न अफ्ठ्यारो छैन।’
जवाफमा नेपाली राजदूत पौडेलले आवश्यक परेको खण्डमा विश्वविद्यालयसँग सहयोग र सहकार्यका प्रस्ताव पठाउने बताउनुभयो। झण्डै ५ महिनाअघि नेपाल टेलिभिजनसँग भएको मानव संसाधन विकास तालिमका लागि भएको एमओयू बमोजिम अब कार्यान्वयनको तयारी गरिरहेको पनि विश्वविद्यालयले जनाएको छ।

चिनियाँ कम्युनिकेसन विश्वविद्यालय चीनमा नेपाली भाषा पढाउने पहिलो विश्वविद्यालय हो। भाषाको माध्यमबाट जनस्तरीय सम्बन्ध विस्तार तथा साँस्कृतिक प्रदानका लागि यस विश्वविद्यालयले भूमिका निर्वाह गर्दै आएको छ। नेपाली दूतावासका तृतीय सचिव उत्तम घिमिरेका अनुसार राजदूतसहितको टोलीले नेपाली भाषा अध्ययन गरिरहेका चिनियाँ छात्रछात्रासँग अन्तर्क्रिया पनि गरेको छ। त्यसक्रममा विद्यार्थीहरूले नेपाल–चीन सम्बन्धमा बेल्ट एण्ड रोड इनिसियटिभ्सको भूमिका, नेपालमा इन्टर्नसीप गर्न सुरक्षा तथा सहजता लगायतका विषयमा जिज्ञासा राखे।
सन् २०१८ मा विश्वविद्यालयका विद्यार्थीहरू काठमाडौंमा तीन महिना भाषा अध्ययनका लागि जाँदैछन्। उनीहरूले नेपालमा रहँदा स्वयंसेवकको काम पाएमा थप अनुभव हासिल हुनसक्ने सुनाए। राजदूत पौडेलले नेपाली भाषा पढ्ने विद्यार्थीहरूका लागि दूतावासको तर्फबाट वृहत् नेपाली शब्दकोष पनि हस्तान्तरण गर्नुभयो। सो विश्वविद्यालयमा हाल १६ जना चिनियाँले नेपाली भाषा अध्ययन गरिरहेका छन्। त्यहाँ पढेका विद्यार्थीहरू स्नातकपछि चीनकै विदेश मन्त्रालय वा नेपालसँग सम्बन्धित निकायहरूमा काम गर्ने गरेका छन्।
विश्वविद्यालयमा पब्लिक रिलेशन स्ट्राटिजीमा पीएचडी गर्दै गरेका नेपाली विद्यार्थी प्रद्युम्न पौडेलका अनुसार अध्ययन सकिनै लाग्दा नेपाली भाषा पढिरहेका चिनियाँ विद्यार्थीहरूमा रोजगारीको चिन्ता देखिन्छ। उहाँले भन्नुभयो, ‘नेपाली भाषा सिकेका चिनियाँ विद्यार्थीको रोजगारीका लागि क्षेत्र पहिचान गर्नसके नेपाली भाषाको लोकप्रियता अझै बढ्नसक्थ्यो।’

