
आयोजनाका अनुसार सुरुङ ढलान गरेर पानी ल्याउन थप ४ महिना चाहिन्छ। ‘फागुनभित्र भने उपत्यकामा पानी आउँछ होला,’ देवकोटाले भन्नुभयो, ‘अब २/३ महिना ढिला भए पनि पानी आउँछ, अब आयोजना सम्पन्न भयो भन्दा पनि हुन्छ, निराश हुने अवस्था छैन।’

सिन्धुदेखि ग्यालथुम खण्डको भौगोर्भिक अवस्था कमजोर भएकाले सोचेजति सुरुङ खन्न नसकिएको उहाँले बताउनुभयो। हाल दैनिक १७ मिटर जति सुरुङ खन्ने काम भइरहेको छ। पुराना औजार, कमजोर भूगोललगायतका कारणले सुरुङ खन्न ढिलाइ भएको उहाँले बताउनुभयो। ‘अन्तिम अवस्थामा छौं, ठेकेदारले काम धमाधम गरिराखेको छ,’ उहाँले भन्नुभयो, ‘सुरुङ खन्ने काम ठूलो कुरा होइन, भित्री संरचना बलियो बनाउनुपर्छ।’
सुरुङ खन्ने काम सकिनेबित्तिकै पानी नआउने उहाँले बताउनुभयो। सुरुङ ढलान गर्ने काम पनि तीव्र रूपमा अघि बढिरहेको उहाँले बताउनुभयो। ‘सुन्दरीजल–सिन्धु खण्डको सुरुङको ढलान कार्य भइरहेको छ,’ देवकोटाले भन्नुभयो, ‘अन्य खण्डको काम गर्न निर्देशन दिइसकेका छौं।’ सम्पूर्ण सुरुङको करिब ९२ प्रतिशत काम पूरा भइसकेको आयोजनाको दाबी छ। तीनवटा अडिटमध्ये सुन्दरीजल–सिन्धु (साढे ९ किमि), सिन्धु–ग्यालथुम (८ किमि) र ग्यालथुम–अम्बाथान अडिट (९ किमि) छन्।
त्यसैगरी ३ स्थानमा सुरुङभित्रको हावाबाहिर निकाल्न भेन्टिलेटर निर्माणका लागि जग्गा मुआब्जा तथा अन्य कानुनी प्रक्रिया पनि पूरा गरिसकिएको उहाँले बताउनुभयो। इचोक, थकनी र सुन्दरीजल खण्डमा भेन्टिलेटर निर्माण गर्ने उहाँले बताउनुभयो। सुन्दरीजल खण्डको भेन्टिलेटर शिवपुरी वन्यजन्तु आरक्ष भएकाले रूख काट्नुपर्ने भएकाले मन्त्रिपरिषद्ले निर्णय गरिसकेको उहाँले बताउनुभयो। दोस्रो चरणमा यांग्री र लार्के खोलाबाट पानी ल्याउने तयारीसमेत भइरहेको उहाँले जानकारी दिनुभयो। ‘१ वर्षभित्र यांग्री र लार्के खोलामा सुरुङको डीपीआर तयार हुन्छ,’ उहाँले भन्नुभयो, ‘डीपीआर तयार हुँदै छ, अब चाँडै निर्माण कार्य अघि बढ्छ।’

मेलम्चीबाट यांग्रीबीचको सुरुङको लम्बाइ ९ किमि र यांग्री–लार्केबीचको सुरुङको लम्बाइ करिब २ किमि रहेको आयोजनाले जनाएको छ। यांग्रीसम्म सडकको पहुँच भए पनि लार्केमा पुर्याउन कठिन रहेको उहाँले बताउनुभयो। मेलम्चीदेखि लार्केबीचको सुरुङको लम्बाइ ११ किमि छ। मेलम्चीबाट आउने दैनिक १७ करोड लिटर पानी ट्यांकीमार्फत उपत्यकाका ३५ लाख बढी जनतालाई समानुपातिक ढंगले वितरण गरिने उहाँले बताउनुभयो।

१७ करोड मेलम्ची, १७ करोड यांंग्री र १७ करोड लार्के खोलाको गरी दैनिक ५१ करोड लिटर पानी उपत्यकामा ल्याइनेछ। हाल काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) ले सुन्दरीजललगायत विभिन्न स्थानबाट ल्याएको पानी वितरण गर्दै आएको छ।
केयूकेएलले उपत्यकामा दैनिक ३८ करोड लिटर पानी आवश्यक भए पनि १२ करोड लिटर मात्र आपूर्ति गर्दै आएको छ। बर्खामा भने उपत्यकामा १७ करोड लिटर पानी आपूर्ति हुन्छ। उनका अनुसार ८० हजार धारामध्ये ३८ हजार जडान गरिसकिएको छ। पाइप बिछ्याउने काम पनि अन्तिम चरणमा पुगेको छ। अब करिब ८० किमि पाइप बिछ्याउन बाँकी छ।
