
नेपालमा आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका कारण नयाँ सवारीचालक अनुमतिपत्र (लाइसेन्स) वितरण कार्य बन्द गरिएको छ।
नजिकिँदै गएको आसन्न प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनका कारण नयाँ सवारीचालक अनुमतिपत्र (लाइसेन्स) वितरण कार्य बन्द गरिएको यातायात व्यवस्था विभागले जनाएको गोरखापत्र अनलाइनले लेखेको छ।
आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका कारण नयाँ सवारीचालक अनुममितपत्र वितरण कार्य रोकिएको जानकारी सवारीचालक अनुमतिपत्र वितरण कार्यालय, एकान्तकुनाका प्रमुख तेजनारायण यादवले जानकारी दिनुभयो।
ट्रायल लिएर वितरण गर्नुपर्ने सवारीचालक अनुमतिपत्र बन्द गरिएको हो। सवारी चालक अनुमतिपत्र वितरण कार्य बन्द गरिए पनि लाइसेन्स नवीकरण, ट्रायल पासको राजस्व तिर्ने तथा लाइसेन्स वितरण कार्यहरू नियमित रूपमा सुचारु नै रहने जानकारी उहाँले दिनुभयो।
आसन्न निर्वाचनपछि मुलुक नयाँ सङ्घीय संरचनामा जाने भएकाले सवारी अनुमतिपत्र वितरण तथा वर्गीकरणमा केही समयका लागि अन्यौल हुन सक्ने उहाँले स्पष्ट पार्नुभयो। सवारी अनुमतिपत्र वितरणसम्बन्धी सम्पूर्ण कार्य स्थानीय तहबाट नै गरिने भनी संविधानमा उल्लेख गरिएको छ।
सवारीचालक अनुमतिपत्र वितरण कार्य प्रहरी र प्रशासनको संयुक्त कार्यले हुने भएको बताउँदै उहाँले प्रहरी र प्रशासन अहिले निर्वाचनमा खट्नुपर्ने भएको हुनाले सवारी चालक वितरण कार्य अनिश्चितकालका लागि रोकिएको जानकारी दिनुभयो।
नयाँ सवारीचालक अनुमतिपत्र वितरण कार्य लागि नयाँ सूचना जारी गरिने उहाँले बताउनुभयो।
“अहिले ट्रफिक प्रहरीहरू निर्वाचनमा खट्नुभएका छन्, उहाँहरूको उपस्थितिविना ट्रायलको काम हुन सक्दैन, अर्को सूचना नआएसम्म अनिश्चितकालका लागि सवारीचालक अनुमतिपत्र वितरण कार्य बन्द गरिएको छ”– कार्यालय प्रमुख यादवले भन्नुभयो।