
नेपालमा पहिलो चरणमा मङ्सिर १० गते ३२ जिल्लामा हुने प्रतिनिधि सभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि आज बिहीबार राति १२ बजेपछि निर्वाचनको मौन अवधि सुरु हुने भएकाले निर्वाचन प्रसार प्रसारका सबै कार्य बन्द हुने भएका छन्। मतदाता शिक्षा तथा आयोगबाट जारी सूचनालाई प्रवाह गर्न भने आयोगले रोक नलगाएको गोरखापत्र अनलाइनले लेखेको छ।
मौन अवधि सुरु भएपछि निर्वाचन सम्पन्न नहुन्जेलसम्म राजनीतिक दल, दलका तर्फबाट उम्मेदवार भएका व्यक्तिहरू, राजनीतिक दलका पदाधिकारीहरू, स्वतन्त्र उम्मेदवारहरू, नागरिक समाज, आम मतदाता तथा सञ्चार माध्यमले कुनै पनि प्रकारका चुनावी प्रचार प्रसारमा संलग्न हुन नपाइने व्यवस्था छ।
आयोगले मौन अवधिमा उम्मेदवार वा राजनीतिक दलको प्रचार प्रसार हुने गरी कुनै समाचार वा सूचना प्रकाशन वा प्रसारण गर्न नहुने पक्षलाई हेक्का राख्न सबै सरोकारवाला पक्षको ध्यानाकर्षण गराएको जानकारी निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले दिनुभयो। पहिलो चरणको निर्वाचनको मौन अवधिमा दोस्रो चरणमा निर्वाचन हुने जिल्लाहरूबाट आउने समाचारलाई सञ्चार माध्यमहरूबाट प्रकाशन तथा प्रसारण गरिँदा त्यस्ता सामग्रीबाट मतदातालाई समेत प्रभाव पर्ने भएकाले सो अवधिमा निर्वाचन आचारसंहिताविपरीत हुने कुनै पनि प्रकारका सामग्री प्रकाशन तथा प्रसारण नगर्न आयोगले आग्रह पनि गरेको छ।