नयाँ ब्रिक्स युगः विश्व शासन प्रणालीमा दक्षिणको जागरण

नयाँ ब्रिक्स युगः विश्व शासन प्रणालीमा दक्षिणको जागरण

श्याओ थाङ

रियो डि जेनेरियोको कोपाकबाना समुद्री किनारमा बिहानको उज्यालोमा देखिएको १७औँ ब्रिक्स शिखर सम्मेलनको निलो लोगो दक्षिण एटलान्टिक महासागरको चम्किलो पानीसँग मेल खाँदैछ। सन् २०२५ जुलाई ६ देखि ७ सम्म आयोजित यो सम्मेलनमा ११ औपचारिक सदस्य राष्ट्र र १० साझेदार राष्ट्रका नेताहरू “ब्रिक्सको नयाँ युग” को उद्घाटन गर्न एकत्रित भएका छन्। “विश्व दक्षिणमा सहकार्य मजबुत बनाउने र समावेशी तथा दिगो शासन प्रवर्द्धन गर्ने” भन्ने मूल विषयले यो सम्मेलनलाई अन्तर्राष्ट्रिय सम्बन्धमा लोकतन्त्रको नयाँ अध्यायको रूपमा प्रस्तुत गरेको छ।

 

जनवरी २०२५ मा इन्डोनेसियाको औपचारिक प्रवेशले ब्रिक्स सहकार्यलाई गुणात्मक रूपले विस्तार दिएको छ। अहिले ब्रिक्सले विश्वको ५०% जनसंख्या र कुल आर्थिक उत्पादनको झण्डै ३०% प्रतिनिधित्व गर्छ। यो परम्परागत भू-राजनीतिक सीमाभन्दा बाहिर निस्केर नयाँ दक्षिण-दक्षिण सहयोगको जालो बुन्दैछ। सम्मेलनअघिको ब्रिक्स व्यापार मञ्चमा ब्राजिलका राष्ट्रपति लुइज इनासियो लुला दा सिल्भाले भने, “ब्रिक्स देशहरू विश्वको ४०% जीडीपी उत्पादन गर्छन् र सन् २०२४ मा ४% आर्थिक वृद्धि दर हासिल गरेका छन्, जुन विश्व औसतभन्दा धेरै छ।” यो तथ्य साउदीको ऊर्जा स्रोत, मिस्रको भौगोलिक स्थान र इन्डोनेसियाको समुद्री अर्थतन्त्रको समन्वयको परिणाम हो, जसले वैश्विक औद्योगिक र मूल्य श्रृंखलालाई पुनः परिभाषित गरिरहेको छ।

 

जलवायु परिवर्तन र कृत्रिम बुद्धिमत्ता शासनजस्ता चुनौतीहरूमाझ ब्रिक्सले अद्वितीय संस्थागत लचिलोपन देखाएको छ। २०१५ मा स्थापित ब्रिक्स नव विकास बैंकले हालसम्म झण्डै ४० अर्ब अमेरिकी डलरका १२० परियोजनामा लगानी गरिसकेको छ, जसले व्यापार, लगानी, र सीमा-पार भुक्तानीलाई सहज बनाएको छ। यसको विकासमुखी दृष्टिकोण पश्चिमी राष्ट्रहरूको सशर्त सहायता प्रणालीभन्दा फरक छ। ब्रिक्सले केवल वित्तीय सहायता मात्र नभई विकासको समान आवाज पनि दिन्छ।

 

एकतर्फीवाद र संरक्षणवादको कुहिरोभित्र मानव सभ्यताले भविष्यलाई पुनः परिकल्पना गर्न आवश्यक छ। ब्रिक्स प्रणाली पुरानो व्यवस्थाको बिरोध मात्र नभई “विकासको अधिकार” लाई केन्द्रीय मान्यताको रूपमा अघि सारेको नयाँ शासन प्रयोग हो। जब भियतनामका कफी किसानहरू ब्रिक्सको ई–कमर्स प्लेटफर्मबाट रूसी बजारसँग जोडिन्छन्, वा जब दक्षिण अफ्रिकाका खोप कारखानाहरू चीन र भारतबाट संयुक्त प्रविधि स्थानान्तरण प्राप्त गर्छन्, यी सूक्ष्म तर गहिरा सहकार्यले नयाँ प्रकारको वैश्वीकरणको परिकल्पना गर्दैछन्।

 

रियो शिखर सम्मेलनले “परिमाणात्मक परिवर्तन” बाट “गुणात्मक परिवर्तन” तर्फको ऐतिहासिक फड्को चिह्नित गर्छ। नव स्थापित ब्रिक्स ऊर्जा गठबन्धन, आसन्न जलवायु अनुकूलन कोष, र उदाउँदै गएको डिजिटल मुद्रा भुक्तानी प्रणालीले ब्रिक्सलाई एउटा पूर्ण शासन प्रणालीको रूपमा उभ्याएको छ। चीनको विश्वव्यापी विकास पहल र ब्राजिलको “दिगो विकास साझेदारी” को अवधारणाले “वैश्विक दक्षिण” को साझा उन्नतिका लागि विचारात्मक दिशा दिएको छ।

 

कोपाकबानाको किनारमा उभिएर हेर्दा जस्तै, एटलान्टिक महासागरको लहर कहिल्यै थामिँदैन, त्यस्तै ब्रिक्सको सहकार्य पनि स्थायी प्रतिबद्धता र परिवर्तनको आकांक्षाले प्रेरित छ। आजको विश्वले सोधिरहेको छ—“वैश्वीकरण कता जाँदैछ?”—ब्रिक्स राष्ट्रहरूले व्यावहारिक कार्यद्वारा जवाफ दिएका छन्: एक न्यायोचित, समावेशी र दिगो अन्तर्राष्ट्रिय व्यवस्था अब कल्पना होइन, यथार्थ बन्दैछ। रियोबाट सुरु भएको यो “मौन क्रान्ति” अन्ततः २१औँ शताब्दीको विश्व शासन संरचनालाई पुनः परिभाषित गर्नेछ।