चीनको छिमेक नीतिमा नेपाल

सु चांघे

चीनको छिमेक नीतिमा नेपाल महत्वपूर्ण मुलुक हो। एक सार्वभौम र स्वतन्त्र विदेश नीति सञ्चालन गर्ने मुलुकका रूपमा नेपाललाई हामी लिन्छौं। इतिहासदेखि नै नेपाल र चीनबीचको सम्बन्ध मित्रवत् रहँदै आएको छ। लामो राजनीतिक संक्रमणपछि यतिबेला नेपालले आफ्नो आर्थिक विकासको गतिलाई तीव्ररूपमा बढाउन चाहेको देखिन्छ। चीन र नेपालबीचको सम्बन्ध नयाँ युगमा प्रवेश गरिसकेको छ। हाम्रा दुई मुलुकबीचको सम्बन्धको भविष्य निकै उज्ज्वल देखिन्छ।

अबका दिनमा हामीले दुई मुलुकबीचको सम्बन्धलाई बेल्ट एन्ड रोड अवधारणाको फ्रेमवर्कभित्र रही अघि बढाउनुपर्छ। यो। मलाई पहिलो नेपाल भ्रमणमो आउँदा के महसुस भयो भने नेपालका धेरै क्षेत्रमा सुधारको खाँचो छ, जस्तो– भौतिक पूर्वाधार विकास। चीनसँग भौतिक पूर्वाधार विकासको लामो अनुभव र सफल उदाहरण छ।

बेल्ट एन्ड रोड अवधारणाको फ्रेमवर्कभित्र दुई मुलुकबीच हुने सहकार्यबाट नेपालको भौतिक पूर्वाधार विकासमा सुधार ल्याउन धेरै गर्न सकिन्छ। आर्थिक विकासका लागि भौतिक पूर्वाधार विकास महत्वपूर्ण पक्ष हो। चीन र नेपालबीच सांस्कृतिक क्षेत्रमा पनि सहकार्य बढाउँदै लैजान सकिन्छ। यी दुई मुलुकबीच सम्बन्धमा कहिल्यै असहजता र तीक्तता छैन। सांस्कृतिक क्षेत्रमा हुने सम्पर्क विस्तारले जनस्तरको सम्बन्ध सुदृढ गर्न मद्दत मिल्छ।

  गलत नीति : फुटाउ र शासन गर

चीनले अरू मुलुकको राष्ट्रिय एकता र अखण्डताको सदैव सम्मान गर्दै आएको छ। दक्षिण एसियाली मुलुकहरूसँग सद्भाव र सहकार्यको भावनाबाट आफ्नो विदेश सम्बन्ध सञ्चालन गर्ने चीनको नीति हो। चीनले कहिल्यै कुनै पनि मुलुकमा ‘फुटाऊ र शासन गर’ को नीति लिएन र लिने छैन। दक्षिण एसियाली मुलुकमा पनि चीनले यो नीति कहिल्यै अख्तियार गरेन। अरू मुलुकको आन्तरिक मामिलामा हस्तक्षेप नगर्ने चीनको घोषित नीति हो। चीनले व्यवहारमा पनि सोही नीति स्पस्ट रूपमा कार्यान्वयन गरिरहेको छ यतिबेला। ‘फुटाऊ र शासन गर’ को नीतिले दक्षिण एसिया क्षेत्रको विकास हुन सक्दैन। यसले क्षेत्रीय विकास र सहकार्यलाई नै खतरामा पुर्‍याउँछ। दक्षिण एसिया क्षेत्रको विकासमा नेपालको भूमिका महत्वपूर्ण छ। नेपालले एसियाली मुलुकसँगको सम्बन्धलाई माथि उठाउन स्वतन्त्र विदेश नीति अवलम्बन गर्दै आएको छ, जुन अत्यन्त राम्रो कुरा हो।

चीनले दक्षिणपूर्वी र दक्षिण एसियाली मुलुकसँगको आफ्नो सम्बन्धलाई महत्वका साथ लिन्छ। चीन र दक्षिणपूर्वी एसियाली मुलुकहरूको संगठन (आसियान) बीचको सम्बन्ध राम्रो छ। चीनले आसियानसँग पनि ‘फुटाऊ र शासन गर’ नीति लिएको छैन। सायद यही कारण हुनुपर्छ, हाम्रो आसियानसँगको सम्बन्ध मजबुत बन्दै गएको छ। आसियान क्षेत्रको विकास र समृद्धि होस् भन्ने चीनको चाहना हो।

दक्षिण एसियामा कनेक्टिभिटीका माध्यमबाट आर्थिक विकासका सम्भावना खोजी गर्न नेपालको भूमिका महत्वपूर्ण देखिन्छ। चीन र भारतजस्ता ठूलो छिमेकीका बीचमा रहेको नेपालले आफूलाई सशक्त रूपमा विकास पथमा अघि बढाउन सक्छ। नेपालको आर्थिक विकास हुनु चीन र समग्र दक्षिण एसियाली मुलुककै लागि पनि फाइदा छ। चीन आफ्नो मात्र नभएर छिमेकमा पनि विकास भएको हेर्न चाहन्छ। छिमेकको विकासमा निसर्त सहयोग गर्ने चीनको नीति हो।

वार्ताबाट विवादको समाधान

दक्षिण एसियाली मुलुकबीचका तनाव र विवाद शान्तिपूर्ण संवादका माध्यमबाट हल हुनुपर्छ भन्ने चीनको धारणा छ। चीनले दक्षिण एसियाका मुलुकबीचको विवादमा आफूलाई कहिल्यै मुछेको छैन र मुछ्न चाहँदैन पनि। दक्षिण एसियाली मुलुक आफ्नो समस्या आफैं समाधान गर्न सक्षम छन् भन्ने हाम्रो विश्वास हो। कुनै दुई मुलुक विकासका मुद्दामा सहकार्य गर्न चाहन्छन् भने उनीहरूले आफ्ना साझा हित, कार्यक्रम र स्वार्थ हेर्नुपर्छ।

एक महिनाअघि सम्पन्न चिनियाँ कम्युनिस्ट पार्टीको उन्नाईसौं नेसनल कंग्रेसले सी जिनपिङलाई दोस्रो कार्यकालका लागि पुनः राष्ट्रपति निर्वाचित गर्‍यो। सीको नेतृत्वमा चीन नयाँ युगमा प्रवेश गरेको छ। सन् २०३५ भित्र चीन मध्यम खालको समाजवादी मुलुक बन्ने नीति चिनियाँ कम्युनिस्ट पार्टीले अघि सारेको छ। त्यसैगरी सन् २०५० भित्र मुलुकलाई महान् आधुनिक समाजवादमा पुर्‍याउन आफ्ना सम्पूर्ण प्रयास लगाउने चिनियाँ नेतृत्वको कार्यदिशा यही महाधिवेशनले तय गरेको छ। आगामी सन् २०४९ मा चीनमा जनवादी गणतन्त्र स्थापना भएको एक शताब्दी पुग्नेछ। चिनियाँ राष्ट्रपतिले अघि सारेका विदेश नीतिका योजनालाई मूर्तरूप दिन यी दुई महŒवपूर्ण घडीले विशेष महत्व राख्छन्। चीनले अबका दिनमा अघि बढाउने छिमेक नीतिमा नेपाल अवश्य पनि महत्वपूर्ण साझेदार हुनेछ। चीनको वर्तमान राजनीतिक नेतृत्वले आफ्नो मुलुक र बाँकी विश्वको समृद्धिका लागि स्पस्ट कार्यदिशा लिएको व्याख्या गर्नु अत्युक्ति हँुदैन। सन् २०२३ मा चिनियाँ कम्युनिस्ट पार्टी स्थापनाको एक शताब्दी पुग्नेछ।

फेरि चीन र नेपालबीचको सम्बन्धकै कुरा गरौं। अबका दिनमा बेल्ट एन्ड रोड अवधारणाको फ्रेमवर्कभित्र अघि बढ्ने सम्बन्धले पारस्परिक लाभका क्षेत्रमा काम गर्न हामीलाई प्रोत्साहन मिलेको छ। चीनले नेपाललगायत दक्षिण एसियाली मुलुकसँगको सम्बन्धलाई प्राथमिकतामा राखेको छ। चीन र नेपालबीच हुने सहकार्यले यस क्षेत्रकै विकासमा महत्वपूर्ण फाइदा पुर्‍याउँछ भन्ने हाम्रो विश्वास हो। अबका पाँच—दस वर्षमा चीन र नेपालबीचको आर्थिक, राजनीतिक र सांस्कृतिक सम्बन्ध थप विस्तार हुनेछ।

चीन घेर नीति अनुपयुक्त

नेपालमा भारत, अमेरिका, युरोपेली युनियनलगायत पश्चिमा मुलुकको पनि प्रभाव छ। पश्चिमा मुलुकहरूले भारतलाई दक्षिण एसियामा आफ्नो मित्र मुलुक सोच्छन्। केही पश्चिमा मुलुकले नेपालबाट पनि चीन घेराउ नीति लिएका हुन सक्छन्। तर पश्चिमा मुलुकले नेपालमा चीनसँग मिलेर यहाँको विकासका लागि भूमिका खेल्न सक्छन्, चीनविरुद्ध उत्रेर त्यस्तो गर्न सम्भव छैन। चीनले नेपालसँगको द्विपक्षीय सम्बन्धलाई आफ्नै रूपमा अघि बढाएको छ।

चीन र अमेरिकाबीचको सम्बन्ध हालैका दिनमा सहकार्यको भावनाबाट अघि बढेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले डेढ साताअघि चीनको औपचारिक यात्रा गरे। चीन र अमेरिकाबीच विभिन्न मुद्दामा मतभेद पक्कै छन्। तर त्योभन्दा बढी उनीहरूबीच सहकार्य र मित्रताको भावना छ। चीन र अमेरिका साझा स्वार्थ र साझा विवादका मुद्दा दुवै छन्। चीन र अमेरिकाबीचको सम्बन्ध एक्काइसौं शताब्दीकै महत्वपूर्ण द्विपक्षीय सम्बन्ध हो।

मलाई के लाग्छ भने अन्तर्राष्ट्रिय शक्तिकेन्द्रबीच नेपालमा शान्तिपूर्ण प्रतिस्पर्धा हुन सक्छ। कुनै एउटा मुलुकको मात्र नेपालमा दबदबा या प्रभाव हुनु उचित होइन। एक मुलुकको अर्को मुलुकसँग ‘एक्सक्लुसिभ’ सम्बन्ध हुन सक्दैन। सबै मुलुकको सबै मुलुकसँग समानताका आधारमा पारदर्शी सम्बन्ध हुनुपर्छ भन्नेमा चीन विश्वास गर्छ। चीनले कुनै मुलुकसँग पनि ‘एक्सक्लुसिभ’ सम्बन्ध हुनुपर्छ भन्नेमा विश्वास गर्दैन।

चीन-दक्षिण एसिया सम्बन्ध

चीन, नेपाल र भारतबीच त्रिदेशीय सहकार्यको विषय केही वर्षयता बहसमा आइरहेको छ। यी तीन मुलुकको सहकार्यले यस क्षेत्रको समग्र विकासमा महत्वपूर्ण सहयोग मिल्नेछ। यस क्षेत्रका कुनै तीन मुलुकबीच मात्रै भन्दा पनि चीनले समग्र दक्षिण एसिया क्षेत्रसँगै आर्थिक विकासका मुद्दामा सहकार्य गहन पार्दै लैजान चाहेको हो।

भारत चीनको बेल्ट एन्ड रोड अवधारणामा सहभागी भएको छैन। तर ऊ सांघाई कोअपरेसन अर्गनाइजेसन (एससीओ) र एसियाली पूर्वाधार लगानी बैंक (एआईआईबी) को सदस्य बनिसकेको छ। यसको अर्थ भारतलाई साथ लिएर चीनले यी संगठन समावेशी बनाएको छ। भारत ब्रिक्स विकास बैंकको सदस्य छ। चीनजस्तै भारत पनि अन्य मुलुकसँग परस्पर सहकार्यको भावना राखेर सम्बन्ध अघि बढ्नुपर्छ, वैरभाव राखेर होइन। भारतले आफूलाई दक्षिण एसियाको जिम्मेवार शक्तिका रूपमा प्रस्तुत गर्न सक्नुपर्छ। अवश्य पनि भारतको आफ्नै स्वतन्त्र विदेश नीति छ। तर भारतको विदेश नीति अमेरिकाबाट प्रभावित भएको हुन सक्छ। भारतको चीन नीति पश्चिमा मुलुकबाट निर्देशित हुनु हुँदैन।

साभार गरिएको ।

(चीनको फुदान विश्वविद्यालयका प्राध्यापक सु चांघेसँग अन्नपूर्णकर्मी सन्तोष घिमिरेले काठमाडौंमा गरेको कुराकानीमा आधारित)

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *