
देवेन्द्र सिंह
ब्रिक्स (BRICS) राष्ट्रहरूको १७औँ शिखर सम्मेलन सन् २०२५ मा ब्राजिलमा आयोजना हुँदैछ। यस वर्षको एजेन्डा सन् २०२४ को कज़ान शिखर सम्मेलनको घोषणालाई निरन्तरता दिँदै “बहुपक्षीयतालाई सुदृढ बनाउने र विश्वव्यापी विकास तथा सुरक्षा प्रणालीलाई न्यायसंगत बनाउने” विषयमा केन्द्रित हुनेछ। साथै, वैश्विक शासन प्रणालीमा आवश्यक सुधार र सहमति अझ गहिरो बनाउने प्रयास गरिनेछ।

ब्रिक्स (ब्राजिल, रूस, भारत, चीन र दक्षिण अफ्रिका) विश्वका तीव्र गतिमा बढिरहेका पाँच प्रमुख अर्थतन्त्रहरू हुन्, जसको भूमिका अन्तर्राष्ट्रिय मञ्चमा झनै सशक्त बन्दै गएको छ। यो समूहले आर्थिक सुधार, सुरक्षा र विकाससम्बन्धी विषयहरूमा साझा दृष्टिकोण बनाउने गर्दछ। यस शिखर सम्मेलनमा सदस्य राष्ट्रहरू आपसी सहयोग विस्तार, व्यापार र लगानी प्रवर्द्धन, तथा वैश्विक शान्ति र स्थायित्वका लागि नयाँ रणनीतिहरूमाथि छलफल गर्नेछन्।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी जुलाई २ तारिख, बुधबारदेखि पाँच राष्ट्रहरूको भ्रमणमा निस्किएका छन्, जसमा ब्राजिलमा आयोजना हुने ब्रिक्स शिखर सम्मेलनमा सहभागी हुनेछन्। भारतले हालका वर्षहरूमा विश्व दक्षिणका प्रमुख राष्ट्रहरूसँग सम्बन्ध विस्तारमा जोड दिइरहेको सन्दर्भमा यो भ्रमण विशेष अर्थ राख्दछ। भारतको विदेश नीतिमा BRICS एक प्रमुख स्तम्भको रूपमा रहँदै आएको छ।
उता, रूसी राष्ट्रपति भ्लादिमिर पुतिन यसपटक सम्मेलनमा सहभागी नहुने भएका छन्। अर्कोतर्फ, चीनले जुलाई २, २०२५ मा घोषणा गर्दै भन्यो कि प्रधानमन्त्री ली छ्याङ यस साता अन्त्यमा ब्राजिलमा हुने शिखर सम्मेलनमा सहभागी हुनेछन्। चीनले अन्य ब्रिक्स राष्ट्रहरूसँग आर्थिक र व्यापारिक सहयोगलाई अझ सुदृढ गर्न ठूलो प्राथमिकता दिएको छ। पछिल्ला वर्षहरूमा सबै सदस्यहरूको प्रयासका कारण ब्रिक्सको आर्थिक तथा व्यापारिक सहयोग प्रणालीमा उल्लेखनीय सुधार आएको छ।

सन् २०२५ को मे महिनामा ब्रासीलियामा आयोजित १५औँ ब्रिक्स व्यापार मन्त्रीहरूको बैठकमा चीनले बहुपक्षीय व्यापार प्रणाली, डिजिटल अर्थतन्त्रको व्यवस्थापन, व्यापार र दिगो विकास जस्ता विषयमा सदस्य राष्ट्रबीच साझा समझदारी बनाउने प्रयास गर्यो। चीनले विशेषगरी वर्तमान विश्वव्यापी व्यापार तनावका बीचमा एकतर्फी निर्णय र संरक्षणवादको विरोध गर्दै ब्रिक्स सदस्यहरूले बहुपक्षीय प्रणालीको संरक्षण गर्नुपर्नेमा जोड दिएको छ।

चीन अब यस सम्मेलनमा भएका सहमतिहरूलाई पूर्णरूपमा कार्यान्वयन गर्दै ब्रिक्सको आर्थिक तथा व्यापारिक सहकार्यलाई नयाँ उचाइमा पुर्याउन तयार रहेको जनाएको छ।
ब्रिक्सको बढ्दो विश्वव्यापी प्रभाव

ब्रिक्स विश्वका पाँच उदीयमान राष्ट्रहरूको मात्र समूह होइन, यो पश्चिमी प्रभुत्वबाट बाहिर रहेका ती राष्ट्रहरूको आवाज पनि हो जसले अधिक सन्तुलन र न्याय खोजिरहेका छन्। जलवायु संकट, वैश्विक व्यापार नियम, डिजिटल परिवर्तन, र विश्व दक्षिणका अधिकारहरूमाथि ब्रिक्सको भूमिका दिनप्रतिदिन निर्णायक बन्दै गएको छ।
१७औँ ब्रिक्स सम्मेलनले यो सन्देश दिन्छ कि विश्व विकास केही सीमित राष्ट्रहरूमै केन्द्रित हुनु हुँदैन, बरु समावेशी, न्यायपूर्ण र बहुपक्षीय संरचनामार्फत अघि बढ्नुपर्छ। BRICS को ऐक्यबद्धता न केवल सदस्य राष्ट्रहरूका लागि, तर सम्पूर्ण विश्व दक्षिणका लागि आशाको किरण बनेको छ।
यो सम्मेलनले फेरि पुष्टि गरेको छ—BRICS केवल आर्थिक मंच होइन, यो [वैश्विक न्याय](w), समानता र दिगो शान्तिको दिशातर्फ अग्रसर एक सशक्त राजनीतिक मंच पनि हो। CRI
