
रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले १ जुलाईमा फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोंसँग टेलिफोन वार्ता गरे, जसमा दुवै पक्षले ईरानी परमाणु मुद्दालाई कूटनीतिक तरिकाबाट समाधान गर्ने समर्थन व्यक्त गरे। यो पछिल्ला तीन वर्षमा दुवै नेताबीच भएको पहिलो टेलिफोन वार्ता थियो।
एलिसी प्यालेस (फ्रान्सेली राष्ट्रपतिको कार्यालय) द्वारा जारी विज्ञप्तिमा जनाइए अनुसार म्याक्रों र पुटिनबीच दुई घन्टाभन्दा बढी समय वार्ता भएको थियो। आरआईए नोभोस्तीका अनुसार दुवै नेताबीच पछिल्लो पटक ११ सेप्टेम्बर २०२२ मा कुरा भएको थियो, जुन युक्रेनी संकट चर्किएको करिब छ महिनापछि भएको थियो।

क्रेमलिन (रूसी राष्ट्रपतिको कार्यालय) द्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ कि दुवै नेताले ईरानी परमाणु मुद्दा तथा मध्यपूर्वका अन्य संघर्षहरूलाई राजनीतिक र कूटनीतिक माध्यमबाट समाधान गर्नुपर्ने कुरामा सर्वसम्मत समर्थन जनाए। उनीहरूले ईरानले शान्तिपूर्ण प्रयोजनका लागि आणविक ऊर्जाको वैध अधिकार पाउनुपर्नेमा जोड दिए र परमाणु अप्रसार सन्धि अन्तर्गत आफ्ना दायित्वहरू पूरा गर्न निरन्तर प्रतिबद्ध रहनुपर्ने बताए, जसमा अन्तर्राष्ट्रिय परमाणु उर्जा एजेन्सी (IAEA) सँगको सहकार्य पनि समावेश छ।
युक्रेन संकटसम्बन्धी कुरामा एलिसी प्यालेसले जानकारी दिएको छ कि म्याक्रोंले युक्रेन र रुसलाई यथासिघ्र युद्धविराम सम्झौता गर्न र दीर्घकालीन समाधानका लागि वार्ता सुरु गर्न आह्वान गरे। क्रेमलिनले पुटिनलाई उद्धृत गर्दै भनेको छ कि युक्रेन संकट पश्चिमेली देशहरूको नीतिको प्रत्यक्ष परिणाम हो, जसले वर्षौँदेखि रुसको सुरक्षालाई बेवास्ता गर्दै आएको छ र अहिले युक्रेनलाई अत्याधुनिक हतियारहरू उपलब्ध गराएर द्वन्द्वलाई अझ चर्काइरहेका छन्।
युक्रेन संकटको शान्तिपूर्ण समाधानबारे कुरा गर्दै पुटिनले जोड दिए कि रूसको आधारभूत अडान स्पष्ट छ—सहमति सम्भव छ, तर त्यो विस्तृत र दीर्घकालीन हुनुपर्छ, जसले युक्रेन संकटको मूल कारणलाई समाप्त गर्न लक्ष्य राख्नुपर्छ। CRI

