नागार्जुनका पूर्वमेयर मोहनबहादुर बस्नेतलाई आठ वर्ष तीन महिना कैद, करोडौं जरिवाना र सम्पत्ति जफतको फैसला

नागार्जुनका पूर्वमेयर मोहनबहादुर बस्नेतलाई आठ वर्ष तीन महिना कैद, करोडौं जरिवाना र सम्पत्ति जफतको फैसला

काठमाडौँ, १६ असारः

नागार्जुन नगरपालिकाका तत्कालीन प्रमुख मोहनबहादुर बस्नेतलाई भ्रष्टाचार र सम्पत्ति शुद्धीकरण (मनि लाउन्डरिङ) मुद्दामा दोषी ठहर गर्दै विशेष अदालतले आठ वर्ष तीन महिना कैद सजाय सुनाएको छ। अदालतले उनलाई भ्रष्टाचारसम्बन्धी कसुरमा आठ वर्ष र नगरप्रमुखको हैसियतमा पद दुरुपयोग गरेबापत थप तीन महिना कैद सजाय तोकेको हो।

विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर र न्यायाधीश रामबहादुर थापाको संयुक्त इजलासले बस्नेतसहित पद्मा कोलोनी प्रालि, पद्मा मर्चेन्ट कम्पनी प्रालि तथा तिनका सञ्चालक राजुप्रसाद कँडेललाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको हो। अदालतले चारै जना प्रतिवादीलाई दुई करोड ३० लाख ६१ हजार रुपैयाँ जरिवाना र नौ करोड २२ लाख ४६ हजार रुपैयाँ बराबरको बिगो असुल गर्न आदेश दिएको छ।

त्यसैगरी, सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा बस्नेत र कँडेललाई तीन वर्ष कैद र २६ करोड २५ लाख ४६ हजार रुपैयाँ जरिवाना तोकिएको छ। साथै, मनि लाउन्डरिङसम्बन्धी राष्ट्रसेवकद्वारा गरिएको अपराधअन्तर्गत बस्नेतलाई थप १० प्रतिशत सजाय दिँदै तीन महिना १८ दिन अतिरिक्त कैद र दुई करोड ६२ लाख ५४ हजार रुपैयाँ थप जरिवाना सुनाइएको छ।

अदालतले अपराधपीडित संरक्षण ऐन, २०७५ अनुसार बस्नेतबाट एक करोड पाँच लाख एक हजार र पद्मा समूहका अन्य दुई कम्पनी तथा कँडेलबाट जनही नौ लाख २२ हजार रुपैयाँ पीडित राहत कोषमा जम्मा गर्न आदेश दिएको छ। यस फैसलासँगै स्थानीय तहका प्रमुखहरूको भ्रष्टाचारमाथि कडा सन्देश गएको छ।