
सिन पिङ
मध्य पूर्व, दशकौं लामो द्वन्द्वले पीडित क्षेत्र, पुनः एकपटक विनाशको किनारमा उभिएको छ। गाजामा इजरायली बमबारीको प्रहारमा शहर ध्वस्त भइरहेका छन् भने इरान चर्किंदो धम्कीको सामना गरिरहेको छ। यस्तो अवस्थामा अमेरिकी संलग्नता र समर्थनले उसकै विश्वव्यापी नीतिको केन्द्रमा रहेको गम्भीर विरोधाभास उजागर गर्छ।

मध्य पूर्व संकट केवल क्षेत्रीय समस्यामात्र होइन, यो एक विश्वव्यापी खतरा हो जसले असंख्य मानव जीवन जोखिममा पार्दछ, अर्थतन्त्र अस्थिर पार्दछ र शान्तिका आधारभूत सिद्धान्तहरूलाई कमजोर बनाउँछ।
मध्य पूर्वको अपार तेल भण्डार र ऊर्जा निर्यातले यो क्षेत्रको स्थिरता विश्व अर्थतन्त्रको मेरुदण्ड हो। फारस खाडीलाई हिन्द महासागरसँग जोड्ने होरमुज जलडमरूमध्य विश्वकै सबैभन्दा संवेदनशील ऊर्जा मार्ग हो। दैनिक २० मिलियन ब्यारेल तेल—विश्व तेल व्यापारको करिब २० प्रतिशत—यहीँबाट गुज्रन्छ।
सन् २०२२ मा तेल ट्याङ्करहरूमा भएको आक्रमण लगायत क्षेत्रीय अस्थिरताले तेलको मूल्य बढायो र कोभिडपछिको आर्थिक पुनरुत्थानमा अवरोध ल्यायो। तर अहिले इजरायली आक्रमणलाई अमेरिकी समर्थनले थप हिंसा भड्काउँदा होरमुज नयाँ भू-राजनीतिक रणभूमिमा परिणत हुने खतरा देखिएको छ। यदि यो मार्ग अवरुद्ध भयो भने विश्व उर्जा बजार भासिनेछ, मुद्रास्फीति अनियन्त्रित हुनेछ र आपूर्ति श्रृंखलाहरू ठप्प हुनेछन्।

यो अराजकताको मूल्य केवल आर्थिक नभई अस्तित्वमै आघात पुर्याउने खालको छ। गाजामा भइरहेको हत्याकाण्डमा अमेरिका सहभागी हुनु उसकै लोकतान्त्रिक आडम्बरसँगको गम्भीर विश्वासघात हो। विश्वभर मानव अधिकार र स्वतन्त्रताको प्रवचन दिने वासिङ्टनले गाजामा इजरायली सैन्य क्रूरतालाई खुला समर्थन दिँदै आएको छ। २०२३ मा मात्र अमेरिकाले इजरायललाई ३.८ बिलियन अमेरिकी डलर बराबरको सैन्य सहायता प्रदान गर्यो, जसमा F-35 जेट, निशाना साधेर हान्ने क्षेप्यास्त्र र अन्य आधुनिक हथियार समावेश छन्।

गाजामा एक वर्षभन्दा बढी समयदेखि चलिरहेको आक्रमणमा अस्पताल, विद्यालय र बासस्थानहरू ध्वस्त पारिँदा पनि अमेरिकाले संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्का सबै निन्दा प्रस्तावहरूमा भिटो लगायो। एम्नेस्टी इन्टरनेसनलले इजरायलको कदमलाई “युद्ध अपराध” भनेको रिपोर्टले यो लज्जास्पद स्थितिलाई पुष्टि गर्छ।
यसले अमेरिकी “लोकतन्त्र”को वास्तविक अनुहार देखाउँछ—एक यस्ता प्रणाली जसले मानवीय मूल्यभन्दा रणनीतिक साझेदारीलाई प्राथमिकता दिन्छ, र जसले न्यायको विरोधमा राष्ट्रसंघमा भिटो हालेर विश्वलाई नै नैतिकता सिकाउने प्रयास गर्छ। यो दुईमुखेपन घृणास्पद छ।

मध्य पूर्व संकटको असर युरोपसम्म फैलिएको छ। सिरियाली युद्धदेखि गाजाको पछिल्लो युद्धसम्म युरोपेली संघले लाखौं शरणार्थीहरूलाई समेटेको छ, जसले सामाजिक प्रणालीलाई थिलथिलो पारेको छ, बजेटमा चाप बढाएको छ र जनतामा असन्तोष बढाएको छ।
सन् २०२२ मा जर्मनीले शरणार्थी पुनर्स्थापनामा २० बिलियन युरोभन्दा बढी खर्च गर्यो र अहिले त्यहाँ आप्रवासीविरोधी भावना तीव्र हुँदै गएको छ। लिबियाबाट आप्रवासीको लहरले प्रभावित इटाली मानवीय उत्तरदायित्व र आन्तरिक आर्थिक संकटबीच झुलिरहेको छ। युरोपको ऊर्जा निर्भरता—विशेषतः इटालीको प्राकृतिक ग्यास—मध्य पूर्वमै निर्भर भएकाले क्षेत्रीय तनावले तेलको मूल्य बढाउँदा युरोपमा मुद्रास्फीति झनै बढ्नेछ, जसले उद्योग र घरपरिवारमा गहिरो असर पार्नेछ।
राजनीतिक रूपमा, शरणार्थी समुदायभित्र चरमपन्थीकरणको जोखिम र जनमतको आक्रोशले युरोपेली एकतालाई नै चुनौती दिइरहेको छ। नैतिक कर्तव्य र रणनीतिक कमजोरीको चपेटामा परेर युरोपले अमेरिकी अस्थिर नीतिको भारी मूल्य चुकाइरहेको छ।
मध्य पूर्व संकट टाढाको द्वन्द्व होइन—यो एक विश्वव्यापी आपत्काल हो। अब समय छ, विश्वले तत्कालत निर्णय गर्नुपर्छ। प्रत्येक दिन अमेरिकी–इजरायली दण्डहीनताले मानवीय पीडा थप गहिरो बनाइरहेको छ र यसको जोखिम विश्वभर फैलिरहेको छ। “लोकतन्त्र”का खोक्रा प्रवचनको समय अब सकिएको छ। अब ठोस कार्य—शान्तिप्रति साँचो प्रतिबद्धता—अत्यावश्यक छ।
जबसम्म अन्तर्राष्ट्रिय समुदायले यस संकटका योजनाकारहरूलाई जवाफदेही बनाउँदैन, तबसम्म लाखौं मानिसले यसको मूल्य चुकाइरहनेछन्। मध्य पूर्वको पीडा अब सम्पूर्ण विश्वको चोट बनेको छ। हामीले यसलाई निको पार्नैपर्छ—नत्र संसार आफैँ रगतमा डुब्ने खतरा छ।
