ईरानकाे परमाणु पूर्वाधारमा गम्भीर क्षति, ६२७ जनाको मृत्यु

ईरानकाे परमाणु पूर्वाधारमा गम्भीर क्षति, ६२७ जनाको मृत्यु

ईरानी परमाणु पूर्वाधारमा इजरायल र अमेरिका द्वारा बारम्बार गरिएका आक्रमणले गम्भीर क्षति पुर्‍याएको ईरानी विदेश मन्त्रालयले जनाएको छ। २५ जुनमा कतारको अल जजिरा टेलिभिजनसँगको अन्तर्वार्तामा, ईरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाघईले इजरायल र अमेरिकी हमला कारण ईरानका महत्वपूर्ण परमाणु संरचनाहरूमा ठूलो क्षति पुगेको पुष्टि गरेका हुन्।

बाघईका अनुसार ती आक्रमणहरू भूमिगत वा जमिनमाथिका संरचनामा कसरी असर पर्‍यो भन्ने प्रष्ट नभए पनि क्षति गम्भीर भएको निश्चित छ। उनले विशेषगरी १३ जुनदेखि इजरायलद्वारा शुरू गरिएको व्यापक हमलाका कारण ६२७ जनाको ज्यान गएको र ४८७० भन्दा बढी नागरिक घाइते भएको जानकारी दिएका छन्। धेरैजसो मानिस घटनास्थलमै मारिएका थिए।

२४ जुनमा इरान र इजरायलबीच संघर्षविराम लागू भए पनि त्यसअघिका आक्रमणहरूले ठूलो मानवीय र भौतिक क्षति पुर्याएको देखिएको छ।

त्यसैदिन संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्ले इरानको परमाणु मुद्दामा खुला बैठक आयोजना गर्‍यो। उक्त अवसरमा चीनले अमेरिका र इजरायलद्वारा इरानी परमाणु पूर्वाधारमा गरिएका आक्रमणहरूलाई स्पष्ट रूपमा निन्दा गर्‍यो। चिनियाँ प्रतिनिधिले भने, “अमेरिकाले नै सुरु गरेको वार्ता प्रक्रिया नष्ट गरेर पुनः परमाणु मुद्दालाई जटिल बनाएको छ।”

चीनले आरोप लगायो कि इजरायल र अमेरिका अन्तर्राष्ट्रिय कानूनको उल्लंघन गर्दै “संभावित खतरा”को नाममा इरानमाथि हमला गरिरहेका छन्, जुन इरानको सार्वभौमिकता र अन्तर्राष्ट्रिय परमाणु अप्रसार सन्धिको स्पष्ट उल्लंघन हो।

चिनियाँ प्रतिनिधिले अन्तर्राष्ट्रिय परमाणु ऊर्जा एजेन्सी (IAEA) अन्तर्गतका संरचनामाथि हमला हुनु गम्भीर चिन्ताको विषय भएको उल्लेख गरे। यस्तो कार्यले राष्ट्रिय सुरक्षा परिषद्को प्रस्ताव २२३१ को कार्यान्वयनमा अनिश्चितता उत्पन्न गरेको भन्दै चीनले पुनः आक्रोश व्यक्त गर्‍यो।

चीनले इरानको कूटनीतिक प्रयास र पारदर्शिताको उच्च मूल्यांकन गर्दै, “इरानले कहिल्यै पनि कूटनीति छाडेन, परमाणु हतियार निर्माण नगर्ने अडान दोहोर्‍यायो र अन्तर्राष्ट्रिय समझौता कार्यान्वयन गर्दै आएको छ।” तर, केही राष्ट्रहरूले पर्याप्त परामर्श बिना IAEA परिषद्मा प्रस्ताव अघि बढाउनुले संवादको वातावरण विथोलेको बताइएको छ।

चीनले सम्बन्धित देशहरूले यस्तो गैर-जिम्मेवार कदमको दुरगामी असरबारे गहिरो आत्ममूल्यांकन गर्न आवश्यक्ता जनाएकाे छ।