राज्यकाे चौथो अंग वा सत्ताकाे द्वारपाले ?

राज्यकाे चौथो अंग वा सत्ताकाे द्वारपाले ?

नेपाली पत्रकारिता फेरि एकपटक कठघरामा उभिएको छ। बहालवाला परराष्ट्रमन्त्री आरजु राणा देउवाले एउटा सञ्चार संस्थालाई धम्की दिएको विषयले जुन तरंग सिर्जना गरेको छ, त्यसले केवल आरजुको सत्तामोह मात्र होइन, मुलुकमा पत्रकारिता कसरी शासक वर्गको ‘पेटी डग’ बनेको छ भन्ने भण्डाफोर पनि गरेको छ। यहाँ आरजुले नेपाली पत्रकारिताको नाडी छामेकी मात्र होइनन्, त्यसलाई बाँध्ने र मोड्ने प्रयास पनि गरेकी छन्—शक्तिको लोभ र चरित्रको छिद्रबाट।

देशको परराष्ट्र नीति सम्हाल्ने जिम्मेवारी पाएको एक मन्त्रीले कुनै सञ्चार गृहलाई फोन गरेर “म तिमीहरूलाई ध्वस्त पारिदिन्छु” भन्नु केवल व्यक्तिगत आक्रोश होइन, सत्ता संरक्षित अहंकारको पराकाष्ठा हो। विनोद ज्ञवालीकी श्रीमती शोभा ज्ञवालीलाई दिइएको सो धम्की नितान्त निन्दनीय मात्र होइन, नेपालजस्तो गणतन्त्रात्मक देशमा यो अभिव्यक्ति स्वतन्त्रतामाथिको सीधा प्रहार हो।

तर सवाल आरजु राणाको एकल कारबाहीको मात्रै होइन। आज मूलधारका भनिएका पत्रकार, सम्पादक र मिडिया हाउसहरू किन चुप छन्? कारण छ—यीमध्ये अधिकांश पत्रकारिता होइन, दलालिता गर्दै आएका छन्। नगरकोटमा तीन दर्जनभन्दा बढी सम्पादक भेला भएर दिलभूषण पाठक प्रकरणको ‘साइबर अपराध’ मुद्दा फिर्ता लिन माग गर्दा, उनीहरू जनताको पक्षमा होइन, सत्ता र पहुँचको संरक्षणमा जुटेका थिए। न उनीहरूको आवाज आरजु राणाको धम्कीको विरोधमा उठ्यो, न पत्रकारिता विरोधी शक्तिहरूविरुद्ध सशक्त प्रतिकार देखियो।

सत्य के हो भने—नेपालको पत्रकारिता अहिले दल, पैसा, परियोजना र पहुँचको चक्रव्यूहमा फँसेको छ। प्रायःजसो ठूला मिडियाहरू विदेशी पैसा, पार्टीको छायाँ र सत्ताको कृपाबाट पोषित छन्। त्यसैले आरजुको फोन धम्कीले देशै हल्लिनुपर्ने बेलामा, अधिकांश मिडिया चुइक्क बोलेनन्। किनभने उनीहरू नै धम्कीको सम्भावित टार्गेट होइनन्, उनीहरू सत्ता संरक्षित दलालीको हिस्सा बनिसकेका छन्।

आरजु राणा देउवाको चरित्र राजनीतिक भन्दा बढी, सत्ता आडमा संचालित व्यक्तिगत फाइनान्सियल र वैदेशिक एजेन्डामा केन्द्रित छ। उनका श्रीमान शेरबहादुर देउवा स्वयं देश चलाउनेभन्दा पनि दरवार र गुटबन्दी चलाउनमै सक्षम छन्। छोराको स्कूलदेखि व्यवसाय, राणा र अमेरिकी बन्धनदेखि लिएर भिजिट भिसा काण्डमा समातिएका गृहमन्त्री र सहसचिवसम्म—सबै कुरामा यो जोडीको संलग्नता झल्कन्छ। तर, मूलधार मिडियाले त्यसलाई प्रश्न गर्ने आँट गरेन। किनभने उनीहरूलाई खबर छ—सत्ताविरुद्ध बोल्दा ‘विज्ञापन’ बन्द हुन्छ, ‘प्रोजेक्ट’ हराउँछ, ‘सरकारी रिटेनर’ कटौती हुन्छ।

नेपालमा अहिले दलभित्रको बहुमततन्त्र, शक्ति साझेदारी र माफिया संरचना मार्फत शासन भइरहेको छ। पत्रकारिता, जो लोकतन्त्रको चौथो खम्बा हो भनिन्छ, अहिले त्यस संरचनाको गेटकाे द्वारपाल मात्र हो।

त्यसैले, आरजु राणाले धम्की दिइन् भन्ने समाचार मात्रै होइन, त्यो धम्कीको प्रतिरोधमा उठ्न नसक्ने नेपाली पत्रकारिताको नैतिक दिवालियापन नै अहिलेको मूल विषय हो।

जुन दिन मूलधार मिडिया जनताको हैसियतमा बोल्न सक्दैन, त्यो दिनदेखि त्यस्ता मिडिया मूल्यविहीन, विकाउ र सत्ता पालक मात्र रहन्छन्। आरजु राणाको दम्भ, देउवा–राणा गुटको सत्ता व्यापारीकरण र ३५ सम्पादकको घुँडा टेक्ने आत्मसमर्पण—यी सबै मिलेर बनाएको छ एउटा पथभ्रष्ट शासन र सत्ताकालीन पत्रकारिता।

अब पत्रकारिताले आरजु राणाको धम्कीलाई ‘नाडी छाम्नु’ भनेर होइन, ‘रोगको परीक्षण’ भनेर बुझ्नुपर्छ। र, त्यो रोग निको पार्न अब जनता स्वयं मुखर प्रतिकारको औषधी बन्नुपर्छ।