
जब लास जलाउने ठाउँ — आर्यघाट — सम्म भ्रष्टाचारको धुंवामा डुब्छ, तब त्यो केवल अपराध होइन, त्यो नैतिक पतनको चरम हो। पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव मिलनकुमार थापा लगायत १६ जनाविरुद्ध विद्युतीय शवदाह मेशिन खरिदमा भएको करोडौं रुपैयाँको अनियमिततामा अख्तियारले विशेष अदालतमा मुद्दा दायर गर्नु कुनै सामान्य समाचार होइन — यो राष्ट्रिय लज्जाको विषय हो।
यो घटनाले केवल सार्वजनिक धनको दुरुपयोग मात्र होइन, मृत आत्माको अन्तिम संस्कारसमेत व्यापारीकरण र ठगीको पुँजीगत केन्द्र बनेको पुष्टि गर्दछ। आर्यघाट — जहाँ मृत शरीरको अन्तिम बिदाइ गरिन्छ — त्यहाँ समेत भ्रष्टाचार गरिनु नेपाली समाजमा भ्रष्ट मानसिकता कति गहिरोसम्म गढिसकेको छ भन्ने स्पष्ट संकेत हो। यो अपराध केवल आर्थिक होइन्, यो सांस्कृतिक, धार्मिक र मानव मूल्यहरूमाथिको ठट्टा हो।

अख्तियारले प्रस्तुत गरेका तथ्यहरू हृदयविदारक छन् — अनुभवविहीन कम्पनीलाई ठेक्का दिन मिलेमतो, नक्कली विज्ञ बनाएर बढी मुल्यमा मेसिन खरिद, सार्वजनिक खरिद ऐनको उल्लंघन, कम गुणस्तरको मेसिन, झुटो प्रतिवेदन, बिल जारी हुनु अगावै भुक्तानी, र अन्ततः नचल्ने मेसिनले जनधनको क्षति। साढे ३२ लाख भारु पर्ने मेशिनलाई एक करोड ५२ लाखमा देखाएर रकम हिनामिना गर्नु के केवल भ्रष्टाचार हो त? यो त संगठित अपराध हो।
सार्वजनिक निकायमा बसेर यस्ता ‘आस्थाविहीन अपराध’ गर्नेहरूलाई राज्यद्वारा संरक्षण गरिनु अझ दुःखद पक्ष हो। यो मुद्दा केवल कारबाहीको होइन, राजनीतिक इच्छाशक्तिको परीक्षा पनि हो। यस्ता अपराधमा संलग्नहरूलाई कारबाही हुनुको साथै उनीहरूले बिगो तिर्नुपर्छ, पदाधिकारीहरूका सम्पत्तिहरू जफत गरिनुपर्छ र ती संस्थामा कडा सुधार कार्यक्रम लागु हुनुपर्छ।
हाम्रो देशमा विकासको अभाव, स्वास्थ्य, शिक्षा, पूर्वाधारका कमीमाथि वर्षौँदेखि बहस हुँदै आएको छ। तर जब लास जलाउने ठाउँसम्म भ्रष्टाचार पुग्छ, तब सुधारको बहस होइन, शुद्धिकरणको क्रान्ति आवश्यक छ।

जनतालाई अझै ‘अदालतले निर्णय गर्छ’ भन्ने आशामा राखेर यस्ता अपराधीहरूलाई उन्मुक्ति दिने परिपाटी अब बन्द हुनुपर्छ। यस्ता घटनाहरूको निष्पक्ष र सार्वजनिक सुनुवाइ हुनुपर्छ। जनताको विश्वास पुनःस्थापना गर्न अब ढिलो गर्नु हुँदैन।

यो मुद्दा कुनै सामान्य कर्मचारीको गल्ती होइन, उच्च तहको संगठित लुटको दस्तो दस्तावेज हो। जब धार्मिक, सांस्कृतिक र मानवीय संवेदनशीलताको केन्द्रसमेत लुटिन्छ भने अब हामी कता जाँदैछौं भन्ने गम्भीर प्रश्न उठ्छ।
नेपालमा अब “भ्रष्टाचार सहन्छौं” भन्ने मानसिकता समाप्त हुनैपर्छ। लासको व्यवसायीकरण गर्नेहरूलाई कानूनले होइन, जनआक्रोशले पनि सजाय दिन थालेको देख्न अब धेरै समय लाग्नु हुँदैन। पशुपतिमा भएको यो लज्जास्पद काण्ड सम्पूर्ण नेपाली समाजका लागि चेतावनी हो — अब पनि उठेनौं भने चितासँगै हाम्रो नैतिकता पनि खरानी हुनेछ।

