
इजरायल र ईरानबीचको द्वन्द्व दोस्रो सातामा प्रवेश गर्दा थप भयावह हुँदै गएको छ। अमेरिकाको समेत प्रत्यक्ष संलग्नतापछि यो युद्ध व्यापक रूप लिँदै गएको छ। शनिबार, नाटकीय घटनाक्रमबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले राष्ट्रिय टेलिभिजनमार्फत अमेरिकी सेनाले ईरानका तीन ठूला परमाणु केन्द्रहरूमा आक्रमण गरेको घोषणा गरे। उनले यसलाई “अद्भुत सैन्य सफलता” भने।
तर यथार्थमा, अमेरिका इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूको सरकारको समर्थन गर्दै आएको कारण अरब विश्वमा अमेरिकाप्रतिको रोष चर्किएको छ। इजरायली एजेन्टहरूद्वारा ईरानी वैज्ञानिक तथा सैन्य नेताहरूको हत्या भएपछि तेहरानले बदला लिने घोषणा गर्दा अरबहरूले समर्थन जनाएका छन्। अरबहरूको साझा धारणा छ कि युद्धको सुरुवात इजरायलले नै गरेको हो, र अमेरिका चाहन्छ कि सिरिया, लिबिया र इराकझैँ ईरानमा पनि शासन फेरेर पश्चिमा पक्षधर सरकार स्थापना गरोस्।

१९७९ को ईरानी क्रान्तिपछि, जब पहलवी राजवंशलाई हटाएर इस्लामी गणराज्य स्थापना गरियो, इजरायलले ईरानलाई खतराको रूपमा हेर्दै आएको छ। त्यसयता, इजरायली नीतिहरूले गोप्य रूपमा तनाव सिर्जना गर्दै, विभिन्न देशहरूमा प्रोक्सी युद्धलाई समर्थन गर्दै आएको छ। जब चीनले सन् २०२३ मा इरान र साउदी अरेबियाबीच मेलमिलाप गरायो, वाशिङ्टन र तेलअविवमा यसले चासो बढाएको थियो, किनभने उनीहरूको मध्यपूर्व नक्सा पुनःचित्रण गर्ने योजना प्रभावित भएको थियो।
तर वाशिङ्टन र तेलअविवले बुझ्नुपर्छ कि उनीहरूको आक्रमणले ईरानको प्रगति, विशेषगरी परमाणु क्षेत्रमा, रोक्न सक्दैन। करिब ९ करोड जनसंख्या भएको, सभ्यताको उद्गमस्थल मानिने, र उत्कृष्ट शैक्षिक तथा वैज्ञानिक पूर्वाधार रहेको देश ईरान सजिलै कमजोर हुने छैन।
यद्यपि, बढ्दो हिंसाले ईरानी परमाणु मुद्दाको कूटनीतिक समाधानप्रति आशा मरेसरह बनाएको छ। इजरायल–ईरान युद्धको लहरले मध्यपूर्वलाई गम्भीर मोडमा पुर्याएको छ र यो अझ ठूलो, विध्वंसात्मक युद्धतर्फ धकेल्न सक्छ।

ईरानी परमाणु मुद्दाको समाधान केवल शान्तिपूर्ण उपायमार्फत हुन सक्छ। यदि अमेरिकाले निष्पक्ष मध्यस्थको भूमिका खेलेको भए, आज यो द्वन्द्व यति उग्र हुने थिएन। जब युद्ध रोकिन्छ, अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सी (IAEA) ले इजरायलमाथि अनुसन्धान गर्नुपर्छ, किनकि इजरायल अहिलेसम्म परमाणु अप्रसार सन्धिमा हस्ताक्षर नगरेको देश हो। उसले कहिल्यै पनि आफ्नो परमाणु हतियार भएको स्वीकार गरेको छैन। यदि यथास्थिति रहिरह्यो भने, तेहरानले पनि उक्त सन्धिबाट बाहिरिने सम्भावना छ।

ईरानले परमाणु हतियार बनाउने हल्ला दशकौँदेखि चल्दै आएको छ। म १९९० को दशकमा अमेरिका बस्दा त्यहाँको सञ्चारमाध्यमले कसरी यसलाई बढाइचढाई गरेर प्रस्तुत गरिरहेको थियो, म आफैले देखेको हुँ। आजपनि पश्चिमी सञ्चारमाध्यमले तेलअविवले तेहरानमाथि आक्रमण गर्दा वाशिङ्टनको सहमति थिएन भन्ने बहाना दिँदै, इजरायलसँग परमाणु हतियार छ कि छैन भन्ने विषय उठाउने हिम्मत गर्दैनन्।
नेतन्याहूले लामो समयदेखि ईरानलाई “एकै चोटमा ध्वस्त पार्ने” योजना बनाउँदै आएका थिए। वाशिङ्टनको समर्थनमा उनले ईरानको विकासलाई तहसनहस पार्ने प्रयास गरिरहेका छन्। तर यत्तिबेला आक्रमण गरेर उनले हमासले बन्धक बनाएका बाँकी व्यक्तिहरूको रिहाइमा बाधा सिर्जना गरेका छन्, जुन बहानामा उनले यसअघि युद्ध विस्तार गरी लेबनान र यमनमाथि पनि हमला गरेका थिए।

नेतन्याहूले बारम्बार ईरानसँगको संघर्षलाई “अस्तित्वको युद्ध” भनेका छन्, जसको माध्यमबाट उनले “नयाँ मध्यपूर्व” को सपना पुरा गर्न खोजिरहेका छन्। गाजाबाट सुरु भएको युद्धको बहानामा उनले हमास र हेज़बोल्लाहका नेताहरूको हत्या, पश्चिमी किनारमा शरणार्थी शिविर ध्वस्त, यमनको पूर्वाधार सिध्याउने र सिरियालाई कमजोर बनाउने कार्यहरूलाई जायज देखाएका छन्।
ट्रम्पको कार्यकालमा इजरायलको लागि कुनै पनि रेड लाइन कायम छैन, जसले गर्दा सम्पूर्ण क्षेत्रीय संघर्ष अत्यन्त गम्भीर चरणमा पुगेको छ। तर, ट्रम्प सरकार आफैं पनि अहिले अघिल्लो “अरब वसन्त” क्रान्तिमा जस्तै विरोध प्रदर्शनको चपेटामा पर्दैछ। यस्तो अवस्थामा दीर्घकालीन युद्धमा अल्झिनु मूर्खता हुनेछ।

यो युद्ध अन्त्य गर्न अन्तर्राष्ट्रिय कूटनीति र संवाद आवश्यक छ। त्यसपछि पश्चिमा मुलुकहरूले ईरानमाथिका प्रतिबन्ध हटाउँदै, तेहरानसँग सम्वादमा संलग्न हुनुपर्नेछ। यही बाटो शान्तिको आधार बन्न सक्छ। GT
