ईरानका परमाणु केन्द्रहरूमा अमेरिकी आक्रमण

ईरानका परमाणु केन्द्रहरूमा अमेरिकी आक्रमण

२२ जुनमा अमेरिकी आक्रमणमा ईरानका फोर्दो, नताञ्ज र इस्फहानस्थित परमाणु केन्द्रहरू लक्षित भएपछि अन्तर्राष्ट्रिय समुदायले यस कदमको कडा निन्दा गर्दै यसलाई संयुक्त राष्ट्रसंघको संविधान तथा अन्तर्राष्ट्रिय कानुनको उल्लंघन भनेको छ। यो कार्यले मध्यपूर्व तथा अन्तर्राष्ट्रिय शान्ति र सुरक्षामा गम्भीर खतरा उत्पन्न गरेको भन्दै सबै पक्षहरूलाई संयम अपनाउन र वार्ता तथा कूटनीतिक माध्यमबाट समस्याको समाधान गर्न आह्वान गरिएको छ।

संयुक्त राष्ट्रसंघका महासचिव एन्तोनियो गुटेरेसले सामाजिक सञ्जालमार्फत अमेरिकाद्वारा बल प्रयोगले पहिले नै संवेदनशील बनेको क्षेत्रलाई अझ खतराको अवस्थामा पुर्‍याएको र यसले अन्तर्राष्ट्रिय सुरक्षामा प्रत्यक्ष असर पार्ने उल्लेख गर्दै संयुक्त राष्ट्रका सदस्य राष्ट्रहरूलाई स्थिति शान्त बनाउनेतर्फ अग्रसर हुन र अन्तर्राष्ट्रिय कानुनअनुसार आफ्नो दायित्व पूरा गर्न आग्रह गरेका छन्।

क्षेत्रीय संस्था र राष्ट्रहरूको प्रतिक्रिया:

खाडी सहयोग परिषद् (GCC) का महासचिव जसिम बुदावीले एक विज्ञप्ति जारी गर्दै अमेरिकी आक्रमणले क्षेत्रीय तनावलाई चर्काउने र सुरक्षा–स्थायित्वमा असर पार्ने बताएका छन्। परिषद्ले कूटनीतिक उपायमार्फत समाधान खोज्न जोड दिएका छन्।

अरब लिगले पनि सार्वभौमिकताको उल्लंघन हुने कुनै पनि सैन्य कारबाहीको विरोध गर्दै यस्तो कदमले अन्तहीन हिंसाको चक्र सुरु गराउने चेतावनी दिएको छ। अरब लिगले विवाद समाधानका लागि कूटनीति नै एक मात्र विकल्प हो भन्नेमा जोड दिएको छ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ईरानी राष्ट्रपति मसूद पेजेशकियनसँग टेलिफोन संवाद गर्दै तत्काल तनाव कम गर्न, वार्ता र कूटनीतिलाई प्राथमिकता दिन आग्रह गरेका छन्।

रूसी र चिनियाँ विरोध:

रूसी विदेश मन्त्रालयले अमेरिकी आक्रमणको कडा आलोचना गर्दै यसलाई संयुक्त राष्ट्र चार्टर, अन्तर्राष्ट्रिय कानुन र सुरक्षा परिषद्का प्रस्तावहरूको गम्भीर उल्लंघन भनेको छ।

चीनका विदेश मन्त्रालयका प्रवक्ताले पनि २२ जुनमा अमेरिकाद्वारा अन्तर्राष्ट्रिय परमाणु ऊर्जा एजेन्सी (IAEA)को निगरानीमा रहेका परमाणु केन्द्रहरूमा आक्रमण गरिएको भन्दै निन्दा गरे। चिनियाँ प्रतिनिधि फुत्सोंगले सुरक्षा परिषद्को आपतकालीन बैठकमा अमेरिकाको कार्यले ईरानको सार्वभौमिकता, सुरक्षा, प्रादेशिक अखण्डता र अन्तर्राष्ट्रिय परमाणु अप्रसार व्यवस्थामाथि चोट पुर्‍याएको बताए।

घटनाको विवरण:

२२ जुनको बिहान ३:३० बजे, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले घोषणा गरे अनुसार अमेरिकाले फोर्दो, नताञ्ज र इस्फहानका तीन परमाणु केन्द्रहरूमा आक्रमण गरिसकेको छ। ईरानी टेलिभिजनका अनुसार ती केन्द्रहरूबाट केही समयअघि नै कर्मचारीहरू हटाइएका थिए। इस्फहानका अधिकारीका अनुसार वायु रक्षा प्रणालीले आक्रमणकारी लक्ष्यहरूमा प्रतिआक्रमण सुरु गरिसकेको थियो।

एउटा अमेरिकी अधिकारीका अनुसार B-2 बमवर्षक विमानले आक्रमणमा भाग लिएको थियो। त्यसैगरी तेहरान र तब्रीज क्षेत्रमा वायु रक्षा प्रणाली सक्रिय गरिएको र एक ड्रोन रोकिएको दाबी गरिएको छ।

इजरायली प्रतिक्रिया:

इजरायली प्रधानमन्त्री नेतन्याहूले २२ जुनमा ईरानको परमाणु तथा मिसाइल परियोजनामा गम्भीर प्रहार गरिएको बताएका छन्। उनले युद्ध चाँडै सकिने भए पनि लक्ष्य पूरा नभएसम्म युद्धविराम नहुने बताएका छन्। साथै, ईरानको ६०% समृद्ध युरेनियम भण्डारणको बारेमा गुप्त सूचनाको दाबी समेत गरेका छन्।

ईरानका परमाणु संस्थानहरूमा भएको अमेरिकी आक्रमणले अन्तर्राष्ट्रिय स्तरमा गम्भीर प्रतिक्रिया र आलोचना निम्त्याएको छ। शान्ति स्थापनाका लागि सबै पक्षहरूलाई संयमता र संवादतर्फ फर्कन अन्तर्राष्ट्रिय आग्रह गरिएको छ। CRI

 

#ईरान #अमेरिकी