अमेरिका इरानमाथि फेरि इराकजस्तै गल्ती दोहोर्याउँदैछ?

अमेरिका इरानमाथि फेरि इराकजस्तै गल्ती दोहोर्याउँदैछ?

इजरायल र इरानबीचको युद्ध अन्त्य गर्न अमेरिकाले फेरि एकपटक ‘युद्ध’ नै रोजेको छ।

शनिबार अमेरिकाले इरानका तीनवटा आणविक स्थलहरूमा आक्रमण गरेको घोषणा गर्‍यो। “हामीले इरानका तीनवटा आणविक साइटहरू फोर्दो, नतान्ज र इस्फाहानमा अत्यन्त सफल हमला सम्पन्न गरिसकेका छौं। सबै विमानहरू इरानको हवाई क्षेत्रबाहिर छन्। फोर्दोमा बमको पूरै भार खसालिएको छ,” ह्वाइट हाउसले याे जानकारी शनिबार X (ट्विटर) मा पोस्ट गर्‍यो।

यो घटना मध्यपूर्वको पहिले नै अस्थिर भू-राजनीतिमा एक खतरनाक मोड हो।

अमेरिकाको इरानप्रतिको सैन्य दृष्टिकोण मुख्यतया उसकै आणविक कार्यक्रम र क्षेत्रीय प्रभावसँग सम्बन्धित छ। यसअघि पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई आणविक हतियार हात पार्न नदिनु अपरिहार्य भन्दै यसलाई अमेरिकी र उसका सहयोगीहरूको हितको रक्षा गर्ने कदमका रूपमा प्रस्तुत गरेका थिए।

तर इरानसँग ‘निशर्त आत्मसमर्पण’को माग गर्दै थप सैन्य उपस्थिति बढाउनुले स्थिति नियन्त्रणबाहिर लैजाने जोखिम निम्त्याउन सक्छ।

मध्यपूर्व एक जटिल गठबन्धन, प्रतिस्पर्धा र प्रोक्सी युद्धहरूको केन्द्र हो। इजरायली आक्रमणपछि इरानको प्रतिक्रिया यस क्षेत्रको संवेदनशील सन्तुलनलाई देखाउँछ। इरानका आणविक वा सैन्य संरचनामाथि अमेरिकाको आक्रमणले गम्भीर प्रतिघात निम्त्याउन सक्छ, जसमा इरान मात्र होइन, उसका सहयोगी र प्रोक्सी शक्तिहरू पनि समावेश हुन सक्छन्। यसले सम्पूर्ण क्षेत्रीय युद्धलाई प्रज्वलित गर्न सक्छ।

“अमेरिकालाई थाहा होस्, इरानी जनता आत्मसमर्पण गर्ने छैनन्। यदि उनीहरूले सैन्य हस्तक्षेप गरे भने त्यसको गम्भीर र अपूरणीय परिणाम हुनेछ,” सर्वोच्च नेता आयातोल्ला अली खामेनीले बुधबार टेलिभिजनमार्फत चेतावनी दिएका थिए।

यस तनावको कारण केवल इरानको आणविक चाहना मात्र होइन।

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले अमेरिकी सञ्चारमाध्यम फक्स न्यूजसँग बोल्दै ‘शासन परिवर्तन’ सम्भावित लक्ष्य हो भन्न हिचकिचाएनन्। उनले भने, “यो त्यसको परिणाम हुन सक्छ, किनभने इरानको शासन अहिले निकै कमजोर छ।”

इरानीहरूले भने यसलाई इजरायलले अमेरिकालाई युद्धमा तान्न खोज्दै आफ्नो भू-राजनीतिक स्वार्थ पूर्ति गर्न गरेको चलखेलका रूपमा हेरेका छन्। इरानको आणविक कार्यक्रमलाई रोक्ने बहानामा इजरायलले अमेरिकी शक्तिको प्रयोग गरी शत्रु शासनहरूलाई उखेल्न खोजेको उनीहरूको धारणा छ।

“इरानीहरू यसलाई इजरायलले इरानको शक्ति, सैन्य संरचना र इजरायलसँगको सन्तुलन नष्ट गर्न तथा सम्भव भएसम्म इस्लामिक गणतन्त्रलाई नै फाल्न चाहेको रूपमा देख्छन्,” जन्स हप्किन्स विश्वविद्यालयका प्राध्यापक भाली नसरलाई उद्धृत गर्दै बीबीसीले लेखेको छ।

यस्तो सन्दर्भमा अमेरिकाको सैन्य हस्तक्षेपले पहिले नै अस्थिर रहेको मध्यपूर्वको भू-राजनीतिक सन्तुलनलाई भत्काउन सक्छ। रूससहित इरानका सहयोगीहरूको प्रतिक्रिया अझै खुल्न बाँकी छ। त्यही कारण #WorldWarIII अहिले X मा ट्रेन्ड भइरहेको छ।

यमनको हुथी समूहले पनि अमेरिकाले इरानमाथि आक्रमण गरे रेड सीमा अमेरिकी जहाजहरूलाई लक्षित गर्ने चेतावनी दिएको छ।

इतिहासले प्रमाणित गरिसकेको छ, मध्यपूर्वमा गरिने सैन्य हस्तक्षेपहरूले कहिल्यै सकारात्मक परिणाम दिँदैन। सन् २००३ मा गलत सूचनाका आधारमा इराकमाथि अमेरिकी आक्रमणले देशलाई झनै अराजकता, धार्मिक हिंसा र अस्थिरतामा धकेल्यो।

अब प्रश्न उठ्न थालेको छ, के ट्रम्प प्रशासन इरानमा पनि त्यही गल्ती दोहोर्याउँदैछ? जुन इराकभन्दा तीन गुणा ठूलो देश हो?

फ्रान्सेली राष्ट्रपति म्याक्रोँले चेतावनी दिएका छन्, “के सन् २००३ मा इराकमा गरिएको कारबाही सही थियो? के लिबियामा गरिएको हस्तक्षेप ठीक थियो? पक्कै होइन!”

यसैले अहिलेको आवश्यकता युद्ध होइन, कूटनीति हो।

चीनका राष्ट्रपति सी चिनफिङले समेत हालै आग्रह गरे, मध्यपूर्वमा युद्धविराम तत्काल हुनु जरुरी छ, नागरिक सुरक्षालाई प्राथमिकतामा राख्नुपर्छ, संवाद र वार्ता नै समाधानको मूल उपाय हो, र अन्तर्राष्ट्रिय समुदायको शान्ति प्रयास अपरिहार्य छ।

शान्तिपूर्ण समाधानका लागि अझै पनि संवादको ढोका खुला छ। सैन्य टकराव होइन, संयमित कूटनीतिक मार्गले मात्र मध्यपूर्व र विश्वमा स्थायित्व ल्याउन सक्छ। अहिले सम्पूर्ण संसार अमेरिकाको कदमतर्फ हेरिरहेको छ।

#मध्यपूर्व