
काठमाडौँ, ७ असार :
नेपालमा आज १०औँ अन्तर्राष्ट्रिय योग दिवस विविध कार्यक्रमका साथ मनाइएको छ। ‘सिङ्गो पृथ्वी र मानव स्वास्थ्यका लागि योग’ भन्ने नाराका साथ मनाइएको यस दिवसमा राष्ट्रपति, उपराष्ट्रपति, पूर्वप्रधानमन्त्रीसहितका राष्ट्रिय नेताहरूले योगको महत्त्वबारे विशेष सन्देश दिँदै नेपाललाई ‘योग भूमि’को रूपमा पुष्टि गर्नुपर्नेमा जोड दिएका छन्।

राष्ट्रपति रामचन्द्र पौडेलले योग, ध्यान र साधनाका ऐतिहासिक, वैज्ञानिक तथा पुरातात्विक प्रमाणहरूलाई आधार बनाएर नेपाललाई योग भूमि मान्नुपर्ने बताएका छन्। योगले मानिसको शरीर, मन र आत्माबीच सन्तुलन ल्याउने, तनाव घटाउने, सकारात्मक ऊर्जा विकास गर्ने र आत्मिक उन्नति गराउने शक्ति रहेको बताउँदै राष्ट्रपति पौडेलले योगलाई राष्ट्रिय नीति, शैक्षिक पाठ्यक्रम र जनस्वास्थ्यको अभिन्न अङ्ग बनाउनेतर्फ सरकारले ध्यान दिनुपर्ने बताए।
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले योगले आत्मानुशासन, सामाजिक चेतना र मानसिक सन्तुलनमा सहयोग पुर्याउने बताए। योगलाई प्राचीन सभ्यताको अमूल्य निधिको रूपमा व्याख्या गर्दै उनले नेपाललाई विश्वभरिका योग साधकहरूको आदर्श गन्तव्य बनाइनु पर्नेमा जोड दिए।
उपराष्ट्रपति रामसहायप्रसाद यादवले पनि योगलाई जीवनपद्धति भन्दै शारीरिक, मानसिक र आत्मिक सन्तुलन कायम गर्न तथा शान्तिपूर्ण, अनुशासित जीवनका लागि अनिवार्य अभ्यासका रूपमा लिनुपर्ने बताए। उनले हृदयघात, मधुमेहजस्ता दीर्घरोगहरूको रोकथाममा योग प्रभावकारी रहेको वैज्ञानिक प्रमाणको हवाला दिँदै सबै नागरिकलाई योग अभ्यासमा सहभागी हुन आह्वान गरे।

संयुक्त राष्ट्रसंघको महासभाबाट सन् २०१४ मा पारित प्रस्तावअनुसार सन् २०१५ देखि हरेक वर्ष जुन २१ मा अन्तर्राष्ट्रिय योग दिवस मनाइँदै आएको हो। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको प्रस्तावमा नेपालका तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाको पहिलो समर्थनपछि यस प्रस्तावलाई १७७ राष्ट्रहरूले समर्थन गरेका थिए, जसले संयुक्त राष्ट्रसंघ इतिहासकै छोटो समयमा सर्वाधिक समर्थन प्राप्त प्रस्तावको कीर्तिमान राख्यो।

नेपालमा यसभन्दा पहिले पनि २०३६ साल माघ १ गतेदेखि योग दिवस मनाउने गरिएको थियो। मकर सङ्क्रान्ति अर्थात् सूर्य उत्तरायण प्रारम्भ हुने दिन योग र ध्यानका लागि विशेष मानिने भएकाले सरकारद्वारा २०७२ सालमा माघ १ लाई राष्ट्रिय योग दिवसका रूपमा घोषणा गरिएको हो। त्यसयता नेपालमा माघ १ लाई राष्ट्रिय र जुन २१ लाई अन्तर्राष्ट्रिय योग दिवसका रूपमा मनाउने गरिएको छ।
योग दिवसको अवसरमा नेपाल संस्कृत विश्वविद्यालयले योग तथा प्राकृतिक चिकित्साको नियमित पाठ्यक्रम सञ्चालन गर्दै आएको छ भने योग अभ्यासलाई आमजनसमुदायमा विस्तार गर्न राज्य, संस्थागत र व्यक्तिगत स्तरमा विभिन्न कार्यक्रम सञ्चालन हुने क्रम जारी छ। योगले व्यक्तिगत स्वास्थ्यसँगै सामाजिक शान्ति, सहिष्णुता र सहकार्यलाई बलियो बनाउने भएकाले यसलाई आधुनिक जीवनशैलीमा अवलम्बन गर्नुपर्ने आवश्यकता आजका नेताहरूको सन्देशमा स्पष्ट देखिएको छ।

#योग_दिवस
