
अष्ट्रेलियालाई अमेरिकी हितकाे सेवामा होइन, स्वतन्त्र सुरक्षा रणनीतिको आवश्यकता छ
अष्ट्रेलियाका रक्षा मन्त्री रिचार्ड मार्लेसले अमेरिकासँग चीनबीचको महाशक्ति प्रतिस्पर्धामा अष्ट्रेलियाको भूभाग निर्णायक हुनेजस्ता अभिव्यक्ति दिएपछि, पूर्व प्रधानमन्त्री पाउल किटिङले उनलाई देशद्रोही भनेका छन्। उनले उक्त अभिव्यक्तिले अष्ट्रेलियालाई अमेरिकी फौजी अड्डा बनाउने र चीनविरुद्धको सैन्य संघर्षमा अमेरिका र त्यसको आडमा अष्ट्रेलियालाई संलग्न गराउने संकेत दिने आरोप लगाएका छन्।

मार्लेसले सोमबार क्यानबेरामा आयोजित रक्षा सम्मेलनमा सम्बोधन गर्दै अष्ट्रेलियाको भौगोलिक स्थिति अहिले महाशक्ति प्रतिस्पर्धाका लागि अतीतको तुलनामा अझ बढी सान्दर्भिक बनेको र देशको सुरक्षाको भूगोल तटीय सीमाभन्दा बाहिरको क्षेत्रतर्फ केन्द्रित हुन थालेको बताए। उनले अमेरिका-चीनबीचको संभावित युद्धमा अष्ट्रेलियाले प्रत्यक्ष भूमिका खेल्नुपर्ने स्पष्ट भनेका थिएनन्, तर अग्रणी अष्ट्रेलियाली रक्षा विश्लेषक ह्यु ह्वाइटका अनुसार मार्लेसको भनाइले अमेरिका–चीन युद्धको तयारीमा अष्ट्रेलियाको समर्थन सुनिश्चित भएको सन्देश अमेरिकालाई दिएको छ। उनले यो अष्ट्रेलियालाई ताइवान स्ट्रेटजस्ता बाह्य क्षेत्रमा अमेरिका पक्षमा लड्ने भूमिकामा प्रस्तुत गरिएको रूपमा देखेका छन्, जसले अष्ट्रेलियाको आन्तरिक सुरक्षा उपेक्षा गरेको संकेत गर्छ।
अष्ट्रेलियाका केही नेताहरू लामो समयदेखि “अमेरिकी हितका लागि अष्ट्रेलियाका आफ्नै हित बलिदान दिन तयार हुने” रणनीतिक भ्रममा रमाउँदै आएका छन्। चीनसँग युद्धको डर देखाएर वाशिङ्टनबाट आउने उही पुरानै भाषाशैली दोहोर्याइँदै आएको छ। तर चीन–अमेरिका संघर्षमा अष्ट्रेलियाले महत्वपूर्ण भूमिका खेल्ने अनुमान गर्नु आफैँमा खतरनाक कुरा हो, जसले अष्ट्रेलियालाई चीनविरुद्ध अग्रपंक्ति बनाउनेछ र अन्ततः उसलाई महाशक्ति प्रतिस्पर्धाको सिकार बनाउनेछ।
पूर्व प्रधानमन्त्री किटिङ र विश्लेषक ह्वाइटजस्ता सोचपूर्ण अष्ट्रेलियाली नेताहरूले पटक-पटक चेतावनी दिँदै आएका छन्। किटिङका अनुसार अष्ट्रेलियाको राष्ट्रिय हितअनुसार स्वतन्त्र निर्णय लिन सक्ने क्षमता महत्वपूर्ण छ, नकि कुनै अन्य देशको हितमा काम गर्नु। ह्वाइटले अष्ट्रेलियाले अमेरिकालाई स्पष्ट रूपमा “हामी युद्धमा संलग्न हुँदैनौं” भन्नुपर्ने सुझाव दिएका छन्।

पूर्वी चीनको नर्मल विश्वविद्यालयका अष्ट्रेलिया अध्ययन केन्द्रका निर्देशक तथा प्राध्यापक चेन् होङले भनेका छन्- “अष्ट्रेलियाले सुरक्षा सुनिश्चितता खोज्दैमा अमेरिकालाई आफूमाथि सवार गराउने हो भने त्यो अझ असुरक्षित बन्नेछ र भविष्यप्रति अझ अनिश्चित हुनेछ।”

चेन् भन्छन्, “अष्ट्रेलियाले रणनीतिक स्वायत्तता र स्थिरता खोजिरहेको हो भने, अमेरिका जस्तो अविश्वसनीय सहयोगीमा आँखा बन्द गरेर भर पर्नु मूर्खता हो।” AUKUS सम्झौतामाथिको अमेरिकी समीक्षा नै पर्याप्त संकेत हो कि अष्ट्रेलिया यस गठबन्धनमा सबैभन्दा बढी मूल्य चुकाउने पक्ष हो।
अतः अष्ट्रेलियाले अब अमेरिकामाथिको निर्भरता घटाउँदै आफ्नै भौगोलिक यथार्थमा आधारित स्वतन्त्र सुरक्षा रणनीति बनाउनु आवश्यक छ। चेन् भन्छन्— “अमेरिकासँग अनावश्यक रुपमा बाँधिनु भनेको आँखामा पट्टी बाँधेर डिलमा नाच्नुजस्तै हो।”

#अष्ट्रेलिया #अमेरिका
