
स्वतन्त्र सांसद अमरेश सिंहले कानुनमन्त्री अजय चौरसियाले मुद्दा प्रभावित गर्न न्यायाधीशहरूलाई दिनदिनै फोन गर्ने आरोप लगाउँदै ती भनाइ प्रमाणित नभए आफू सांसद पदबाट राजीनामा दिने चुनौती दिएका छन्। उनले प्रतिनिधिसभाको बैठकमा कानुनमन्त्रीको मोबाइल कलडिटेल सार्वजनिक गर्न माग गरेका छन् र यदि त्यस्ता कलहरू पुष्टि नभए आफ्नो पद त्याग्न तयार रहेको बताएका छन्।
उनको दाबी अनुसार चौरसियाले जिल्ला, उच्च र सर्वोच्च अदालतका न्यायाधीशहरूसँग मुद्दा सम्बन्धमा नियमित सम्पर्क गर्ने गरेका छन्। सिंहले कानुन, संविधान र निष्पक्ष न्यायप्रति आस्था व्यक्त गर्दै न्यायपालिका दलको सिफारिसमा बन्ने परिपाटीको विरोध गरे। उनले न्यायपरिषद् राजनीतिक सिन्डिकेट भएको र यसको विघटन आवश्यक रहेको बताए।

सिंहको आरोपप्रति नेपाली कांग्रेसकी सचेतक सुशीला थिङले आपत्ति जनाउँदै संसद्को रेकर्डबाट यस्तो टिप्पणी हटाउन माग गरिन्। सिंहले भने आफ्नो भनाइ तथ्यमा आधारित रहेको र कसैलाई अन्धाधुन्ध आरोप नलगाएको जिकिर गरे। न्यायमा राजनीतिक हस्तक्षेप रोक्नुपर्ने र निष्पक्ष छानबिन आवश्यक रहेको तर्क उनकाे रह्याे।
#अजय_चौरसिया #अमरेश_सिंह
