चीन र दक्षिण एशियाबीचको आर्थिक तथा व्यापारिक सहकार्यको नयाँ अध्याय

चीन र दक्षिण एशियाबीचको आर्थिक तथा व्यापारिक सहकार्यको नयाँ अध्याय

श्याओ थांग

चीन र दक्षिण एशियाली राष्ट्रहरूबीचको आर्थिक तथा व्यापारिक सम्बन्ध तीव्र गतिमा अगाडि बढिरहेको छ, जसले गुणस्तरीय उन्नयन र गहिरो सहकार्यको नयाँ अध्याय कोरेको छ। युन्नान प्रान्तको शिछोउ काउन्टीस्थित नङछ्य्वान इलेक्ट्रिक टेक्नोलोजी कम्पनीबाट दैनिक २० लाख लाइटर चीनभरिका विभिन्न क्षेत्रमा पठाइन्छन्, र अहिले ती लाइटरले अन्तर्राष्ट्रिय बजारमा पनि पाइला टेकिसकेका छन्, जसको सुरुआत दक्षिण एशियाबाट भएको हो।

सन् २०२५ को सुरुवातमा “युन्नानमा निर्मित” ११ लाख ३० हजार लाइटरको पहिलो खेप निङपो बन्दरगाहमार्फत पाकिस्तानको कराँची बन्दरगाहमा पुग्यो। यो मात्र एउटा चिनियाँ कम्पनीको निर्यातको महत्वपूर्ण सफलता थिएन, बरु चीन–दक्षिण एशिया आर्थिक सम्बन्धमा गुणस्तरीय परिवर्तनको ज्वलन्त उदाहरण पनि बन्यो।

यो ऐतिहासिक प्रगति तथ्यांकमार्फत पनि स्पष्ट देखिन्छ। सन् २०२४ मा चीन र दक्षिण एशियाली राष्ट्रहरूबीचको व्यापार २०० अर्ब अमेरिकी डलरसम्म पुगेको थियो, जुन विगत १० वर्षमा दोब्बर भएको हो। वार्षिक औसत वृद्धि दर ६.३% रहेको देखिन्छ। चीनले पाकिस्तान, बंगलादेश लगायत धेरै देशहरूको प्रमुख व्यापारिक साझेदारको भूमिका सम्हालिरहेको छ।

यो सफलता पछाडि आर्थिक सहकार्यका तीन प्रमुख परिवर्तनहरू रहेका छन्।

पहिलो, व्यापार संरचनामा आमूल परिवर्तन आएको छ। दस वर्षअघि द्विपक्षीय व्यापार मुख्यतया कपडा र कृषि उत्पादनमा सीमित थियो भने अहिले इलेक्ट्रो–मेकानिकल उपकरण, फोटोभोल्टिक मोड्युलजस्ता उच्च मूल्ययुक्त वस्तुहरू व्यापारको केन्द्र बनेका छन्। यसले दक्षिण एशियालाई औद्योगिकीकरणका लागि आवश्यक प्रविधि र उपकरण पाउन सहज बनाएको छ भने, चिनियाँ उपभोक्ताहरूले दक्षिण एशियाली उच्च गुणस्तरका औषधि र उपकरणहरूको उपयोग गर्न पाएका छन्।

दोस्रो, सहकार्यका क्षेत्रहरू विस्तार भएका छन्। १९ देखि २४ जुनसम्म युन्नानको राजधानी खुनमिङमा आयोजित नवौं चीन-दक्षिण एशिया एक्स्पोमा हरित ऊर्जा र डिजिटल व्यापार प्रदर्शनीजस्ता नयाँ पविलियन थपिएका छन्। यसले परम्परागत वस्तु व्यापारभन्दा अगाडि बढेर सेवा व्यापार र प्रविधिमा आधारित सहकार्यको नयाँ ढोका खोलिदिएको छ।

तेस्रो, संस्थागत नीति सहयोगले दीर्घकालीन प्रेरणा प्रदान गरेको छ। चीनले नेपाल, अफगानिस्तान, बंगलादेशजस्ता अल्पविकसित राष्ट्रहरूबाट आयात गरिने १००% वस्तुमाथि शून्य भन्सार नीति लागू गरेपछि यस्ता मुलुकहरूले चिनियाँ बजारमा निर्यात वृद्धि गर्न पाएका छन्। अफगानी चिलगोजा, नेपाली हस्तकला आदि वस्तुहरूको निर्यातमा वृद्धि देखिएको छ।

बंगलादेशको चटगाउँमा चिनियाँ कम्पनीले निर्माण गरेको पयारा विद्युत् केन्द्रले निरन्तर स्वच्छ ऊर्जा उत्पादन गरिरहेको छ, जसले ७,००० भन्दा बढी रोजगारी सिर्जना गरेको छ। यस्तै श्रीलङ्काको हम्बनटोटा बन्दरगाहको वार्षिक सामान ओसारपसार १२ करोड टन नाघेको छ, नेपालको सन्जेन खोला जलविद्युत् आयोजनाले लाखौँ घरमा बत्ती पुर्‍याएको छ, र चीन–पाकिस्तान आर्थिक करिडोरले ७५,००० रोजगारी सिर्जना गरेको छ।

अझ उल्लेखनीय कुरा के छ भने चीनको नयाँ ऊर्जा प्रविधि, दक्षिण एशियाको श्रम स्रोत र अन्तर्राष्ट्रिय पूँजी मिलेर “सुनौलो त्रिभुज” सहयोग मोडेल बनाएका छन्। पाकिस्तानमा एन्ट ग्रुपको भुक्तानी प्रणाली र युन्नानको सीमापार इ–कमर्स पायलट क्षेत्रबाट श्रीलङ्काको कालो चियाको आपूर्ति च्यानलले हार्ड इन्फ्रास्ट्रक्चर र डिजिटल कनेक्टिभिटीबीच समन्वय ल्याएको छ।

पक्कै पनि यो सहकार्यको बाटो सजिलो छैन। भारतको RCEP मा अनुपस्थितिले बजार विभाजनको चुनौती ल्याएको छ, केही मुलुकमा ऋणको दबाबले परियोजनाको दिगोपनमा असर परेको छ, र सांस्कृतिक अन्तरले संप्रेषणमा कठिनाइ पनि थपेको छ। यद्यपि, अफगानी प्रदर्शक सईदले चीन-दक्षिण एशिया एक्स्पोमा भनेझैँ: “आर्थिक सहकार्य कालीन बुनाइजस्तै हो-विश्वास बनाउन धैर्यता र ईमानदारी चाहिन्छ।”

युन्नानका लाइटरदेखि ग्वादर बन्दरगाहसम्म, परम्परागत सीमा व्यापारदेखि डिजिटल सहकार्यसम्म चीन-दक्षिण एशिया सम्बन्धले गुणात्मक फड्को मारेको छ। यसको मूल प्रेरणा भनेको “विकास प्राथमिकता” भन्ने व्यावहारिक सोच हो।

भविष्यमा RCEP को लाभांश बिस्तार हुँदै जाँदा र “बेल्ट एण्ड रोड” पहलले विविध राष्ट्रहरूको विकास रणनीतिसँग गहिरो सम्बन्ध बनाउँदै जाँदा, हिमालय पारिको यो आर्थिक करिडोरले अझै धेरै सहकार्यका कथाहरू लेख्ने निश्चित छ। खुला, समावेशी र पारस्परिक लाभदायक विकास मोडेल नै साझा समृद्धिको सबैभन्दा उपयुक्त बाटो हो भन्ने सन्देश यो साझेदारीले विश्वलाई स्पष्ट रूपमा दिएको छ।