मध्य पूर्वमा विनाश र अशान्ति निम्तिने खतरा

मध्य पूर्वमा विनाश र अशान्ति निम्तिने खतरा

चीनले मध्य पूर्वको वर्तमान परिस्थितिप्रति गहिरो चिन्ता व्यक्त गर्दै, त्यस क्षेत्रका सबै सरोकारवालाहरू, विशेषगरी इजरायललाई क्षेत्रीय जनताको हितलाई प्राथमिकता दिन स्पष्ट आग्रह गरेको छ। चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता कुओ च्याखुनले १९ जुनमा राजधानी बेइजिङमा आयोजित नियमित पत्रकार सम्मेलनमा पत्रकारका प्रश्नहरूको जवाफ दिँदै उक्त कुरा बताएका हुन्। उनले युद्ध तुरुन्त रोक्न र बढ्दो तनावलाई शान्त पार्नका लागि युद्धविरामको आह्वान गरे।

प्रवक्ता कुओले भने, “इजरायल र इरानबीचको सैन्य संघर्ष एक सातादेखि जारी छ र स्थितिको तीव्रता बढ्दो छ। यसले दुबै देशका जनतालाई मात्र होइन, सम्पूर्ण क्षेत्रीय र विश्व शान्ति तथा स्थायित्वमा गम्भीर असर पारेको छ।”

उनले चेतावनी दिँदै भने, “यो संघर्ष अझ चर्किँदै गएमा कुनै विजेता हुँदैन, बरु यसले अझ धेरै विनाश र अशान्ति निम्त्याउनेछ।”

चिनियाँ प्रवक्ता कुओले मध्य पूर्वको वर्तमान स्थिति निकै संवेदनशील र जटिल रहेको उल्लेख गर्दै भने, “यो स्थिति नियन्त्रण बाहिर जाने खतरा छ। चीन संयुक्त राष्ट्रसंघको चार्टरका उद्देश्य र सिद्धान्तको उल्लङ्घन हुने कुनै पनि कार्यको विरोध गर्छ। साथै, चीन अरू मुलुकको सार्वभौमसत्ता, सुरक्षाभावना र भू-क्षेत्रीय अखण्डतामा हस्तक्षेप वा बल प्रयोग गर्नेमाथि स्पष्ट विरोध गर्छ।”

उनले अन्तर्राष्ट्रिय सम्बन्धमा धम्की वा बलको प्रयोगको कडा विरोध गर्ने चीनको नीतिलाई पुनः दोहोर्‍याए।

कुओ च्याखुनका अनुसार, चिनियाँ विदेश मन्त्रालय तथा इरान, इजरायल र त्यसका छिमेकी राष्ट्रहरूमा रहेका चिनियाँ दूतावास र वाणिज्यदूतावासहरूको समन्वयमा हालसम्म १,६०० भन्दा बढी चिनियाँ नागरिकहरूलाई इरानबाट र सयौँ नागरिकलाई इजरायलबाट सुरक्षित रूपमा बाहिर निकालिएको छ।

 

 

यूएन महासचिवद्वारा इजरायल–ईरानबीच युद्धविराम गर्न आग्रह

संयुक्त राष्ट्रसंघ (यूएन) का महासचिव एन्टोनियो गुटेरेसले १८ जुनमा एक वक्तव्य जारी गर्दै इजरायल र इरानबीच भइरहेको सैन्य भिडन्तको बढ्दो अवस्था प्रति गहिरो चिन्ता व्यक्त गरेका छन् र दुबै पक्षलाई युद्धविरामका लागि तत्काल कदम चाल्न स्पष्ट रूपमा आग्रह गरेका छन्।

गुटेरेसले आफ्नो वक्तव्यमा यो सैन्य तनाव अन्य देशहरूमा फैलिन नदिन अपिल गर्दै भनेका छन्, “नयाँ सैन्य हस्तक्षेपले गम्भीर परिणाम निम्त्याउन सक्छ, जसको असर भिडन्तमा संलग्न पक्षहरू, सम्पूर्ण क्षेत्र र अन्तर्राष्ट्रिय शान्ति तथा सुरक्षासम्म पर्न सक्छ।”

महासचिव गुटेरेसले भिडन्तका क्रममा नागरिकहरूको ज्यान गएको र आवास तथा अन्य आधारभूत पूर्वाधारहरू ध्वस्त भएको घटनाको कडा निन्दा गरेका छन्। उनले इरानी परमाणु कार्यक्रम र क्षेत्रीय सुरक्षा सम्बन्धी चिन्ताहरू समाधान गर्न सबैभन्दा प्रभावकारी माध्यम कूटनीति नै भएको स्पष्ट पारे।

उनले संयुक्त राष्ट्रका सबै सदस्य राष्ट्रहरूलाई यूएन चार्टर तथा अन्तर्राष्ट्रिय कानुनको पालना गर्न आह्वान पनि गरेका छन्। CRI