
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथिको सम्भावित सैन्य कारबाहीसम्बन्धी योजना स्वीकृत गरेका छन्, तर इरानले आफ्नो आणविक कार्यक्रम परित्याग गर्छ कि गर्दैन भन्ने कुराको प्रतीक्षामा रहेका छन्, वाल स्ट्रिट जर्नलले स्रोत उद्धृत गर्दै जनाएको छ।
जब ट्रम्पसँग सोधियो कि उनले इरानका आणविक स्थापनाहरूमा आक्रमण गर्ने निर्णय गरेका छन् कि छैनन्, उनले भने, “म गर्न सक्छु, नगर्न पनि सक्छु।” साथै उनले इरानसँगको ‘निर्विकल्प आत्मसमर्पण’ को अडान दोहोर्याउँदै भने, “आउँदो हप्ता निकै ठूलो हुनेवाला छ, सम्भवत: एक हप्ताभन्दा पनि कम समयमै।”

यसअघि इरानका सर्वोच्च नेता आयातोल्ला अली खामेनीले इरान कहिल्यै आत्मसमर्पण नगर्ने बताएका थिए र कुनै पनि अमेरिकी सैन्य हस्तक्षेपले अपरिवर्तनीय परिणाम ल्याउने चेतावनी दिएका थिए।
हालैका दिनहरूमा अमेरिकी सेनाले मध्यपूर्व क्षेत्रमा सैन्य उपस्थिति विस्तार गरेको छ। तेस्रो अमेरिकी नेभी डेस्ट्रोयर पूर्वी भूमध्यसागरमा प्रवेश गरिसकेको छ भने दोस्रो विमानवाहक युद्धपोत समूह अरब सागरतर्फ गइरहेको छ।
अमेरिकी उच्च अधिकारीहरू केही दिनभित्र इरानमाथि सम्भावित हमला हुने स्थितिको तयारी गरिरहेका छन्। ती स्रोतहरूका अनुसार अवस्था अझै परिवर्तनशील छ र योजनामा फेरबदल हुनसक्छ। केही स्रोतहरूले यो हमला सप्ताहन्तमै हुनसक्ने संकेत गरेका छन्। संघीय सरकारी निकायका उच्च तहका केही नेताहरूले पनि सम्भावित कारबाहीको तयारी सुरु गरिसकेको बताइएको छ।

#डोनाल्ड_ट्रम्प #इरान

