इरान-इजरायली आक्रमणमा रुस अमेरिका टकराव

इरान-इजरायली आक्रमणमा रुस अमेरिका टकराव

इरानमाथि इजरायलले गरिरहेको आक्रमणलाई रुसले मंगलबार “अवैध” करार दिँदै तेहरानको आणविक कार्यक्रममाथिको विवादको समाधान केवल कूटनीतिक माध्यमबाट मात्र सम्भव हुने स्पष्ट पारेको छ।

रुसी विदेश मन्त्रालयले टेलिग्राममार्फत जारी गरेको विज्ञप्तिमा इरानले आणविक अप्रसार सन्धि (NPT) पालना गर्ने प्रतिबद्धता व्यक्त गर्दै अमेरिकी प्रतिनिधिसँग वार्ताका लागि तत्परता देखाएको कुरालाई दोहोर्‍याइएको छ।

इजरायली आक्रमणबाट इरानी आणविक पूर्वाधारमा कति क्षति पुगेको छ भन्नेबारे अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सी (IAEA) ले निष्पक्ष मूल्यांकन दिनुपर्ने माग पनि रुसले गरेको छ।

त्यही क्रममा क्रेमलिन प्रवक्ता दिमित्री पेस्कोभले पत्रकारहरूसँगको कुराकानीमा भने, “इजरायल हाललाई मध्यस्थताको इच्छुक छैन भन्ने देखिएको छ। स्थिति तीव्र गतिमा बिस्फोटक बन्न थालेको छ र यथार्थ बुझ्न गाह्रो भइसकेको छ।”

 

शि चिनफिङको गम्भीर चिन्ता

मंगलबार चीनका राष्ट्रपति सी चिनफिङले इजरायलको इरानमाथिको सैन्य आक्रमणप्रति गहिरो चिन्ता व्यक्त गर्दै, “यथाशीघ्र तनाव न्यूनीकरण गरिनु आवश्यक” रहेको बताए। कजाकिस्तानमा उज्बेकिस्तानका राष्ट्रपति सँगको भेटमा उनले उक्त कुरा बताएका हुन्।

उनले भने, “मध्यपूर्वमा अचानक तनाव बढेको छ, जुन चिन्ताजनक अवस्था हो। हामी कुनै पनि देशको सार्वभौमसत्ता, सुरक्षा र भौगोलिक अखण्डता उल्लंघन गर्ने कार्यको विरोध गर्दछौं।”

चीनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि “संकटमा झनै घ्यू थप्ने” आरोप पनि लगाएका छन्।

चीनका दूतावासहरूले इरान र इजरायलमा रहेका आफ्ना नागरिकहरूलाई “यथासिघ्र देश छाड्न” अनुरोध गरेका छन्। इरानस्थित चिनियाँ दूतावासले तेहरानबाट बाहिर जान टर्की, अर्मेनिया वा तुर्कमेनिस्तानका सीमा नाका प्रयोग गर्न सुझाएको छ।

इजरायलस्थित दूतावासले भनेको छ, “धेरै नागरिक पूर्वाधार ध्वस्त भएका छन्, मृत्यु र घाइतेको संख्या बढ्दैछ र सुरक्षा अवस्था अत्यन्त जटिल बन्दै गएको छ। जोर्डनको बाटो भएर बाहिरिन आग्रह गर्दछौं।”

 

यूएईको चेतावनी : ‘गम्भीर र आवेशपूर्ण कदम नचाल्नू’

संयुक्त अरब इमिरेट्स (यूएई) का परराष्ट्र मन्त्री शेख अब्दुल्ला बिन जायेदले “गैर-जिम्मेवार र अपरिमित कदमले इजरायल र इरानबाहिर पनि संकट फैलन सक्ने” चेतावनी दिएका छन्।

इमिरेट्सको सरकारी समाचार एजेन्सी वाम (WAM) अनुसार, राष्ट्रपति शेख मोहम्मद बिन जायेद अल नह्यान र इरानी राष्ट्रपति मसउद पेजेश्कियानबीच टेलिफोन वार्ता भएको थियो।

वार्तामा इमिरेट्सले तनाव कम गर्न सबै सरोकारवालासँग गम्भीर संवाद गरिरहेको जनाएको छ। त्यस्तै, उनले इरान र त्यसका जनताको पक्षमा एकता प्रकट गरेका थिए।

 

जोर्डनको राजा अब्दुल्लाह द्वितीयको चेतावनी

युरोपेली संसदलाई सम्बोधन गर्दै जोर्डनका राजा अब्दुल्लाह द्वितीयले भने, “इजरायलले इरानमा आक्रमण विस्तार गरेपछि यो युद्ध कुन सीमासम्म फैलिन्छ भन्ने अनुमान गर्न सकिँदैन। यो केवल क्षेत्रका लागि होइन, सम्पूर्ण विश्वकै लागि खतरा हो।”

उनले इजरायल-इरान बीच पाँच दिनदेखि जारी आक्रमणले सम्पूर्ण क्षेत्रमा तनावको डरलाग्दो वृद्धि गरिरहेको बताए। TET

#इजरायल-इरान #जोर्डन #रुस #शि_चिनफिङ