इरानका सर्वोच्च नेतालाई मार्ने ट्रम्पकाे धम्की

इरानका सर्वोच्च नेतालाई मार्ने ट्रम्पकाे धम्की

अमेरिकी राष्ट्रपति भन्छन्— ‘खामेनेईलाई अहिलेको लागि मारिँदैन’

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता आयतोल्ला अली खामेनेईलाई अहिलेको लागि नमारिने घोषणा गर्दै इरानसँग बिना सर्त आत्मसमर्पणको माग गरेका छन्। इजरायलले लगातार पाँचौं दिन इरानसँग युद्ध गरिरहेको सन्दर्भमा ट्रम्पको यो अभिव्यक्ति आएको हो।

यस अभिव्यक्तिले ट्रम्पको इरानविरुद्धको बयानलाई झन् आक्रामक बनाएको छ र अमेरिकाले इजरायलको आक्रमणमा संलग्न हुने संकेत दिएको छ। इजरायली सेनाले मंगलबार पश्चिमी इरानमा ड्रोन र मिसाइल स्थलहरूमा दुई चरणमा हवाई आक्रमण गरेको बताएको छ।

तेहरानको केन्द्रमै रहेको कमाण्ड सेन्टरमा राति गरिएका हमलामा वरिष्ठ इरानी कमाण्डर अली शादमानी मारिएको इजरायली सेनाले दाबी गरेको छ। चार दिनअघि मात्र उनका पूर्ववर्ती घोलाम अली राशिद पनि इजरायलको आकस्मिक आक्रमणमा मारिएका थिए।

इरानले जवाफी कारबाही गर्दै तेलअवीव र यरुशलममा विस्फोट गराएको जनाइएको छ। दक्षिण इजरायलको डिमोनासम्म साइरन बजेको थियो, जहाँ परमाणु केन्द्र रहेको छ।

ट्रम्पले आफ्नो “ट्रुथ सोसियल” प्लेटफर्ममा लेख्दै भनेका छन्, “हामीलाई थाहा छ खामेनेई कहाँ लुकेका छन्। उनी सजिलो निशाना हुन्, तर अहिले हामी उनलाई मार्ने छैनौं।” उनले थपे, “हामी नागरिक वा अमेरिकी सैनिकमाथि मिसाइल आक्रमण चाहन्नौं। हाम्रो धैर्यता सकिँदैछ।”

त्यसपछि ट्रम्पले अर्को सन्देशमा लेखे— “बिना सर्त आत्मसमर्पण!”

श्वेत सदनका एक अधिकारीका अनुसार राष्ट्रपति ट्रम्पले राष्ट्रिय सुरक्षा परिषद्को आपत बैठक बोलाएका छन्।

यसबीच, इरानी सञ्चार माध्यमले इस्फहान र तेहरानमा ठूलो संख्यामा विस्फोटको रिपोर्ट दिएका छन्। इरानले इजरायली शहर तेलअवीव र हाइफाका नागरिकलाई ज्यान जोगाउन तत्काल खाली गर्न चेतावनी दिएको छ। इरानी क्रान्तिकारी गार्डले इजरायली वायुसेनाका आधारशिविरहरूमा आक्रमण गरिरहेको जनाएको छ।

इजरायल र इरान दुबै देशका आवासीय क्षेत्रमा आक्रमण हुँदा सर्वसाधारण मारिएको छ र विदेशहरूले आफ्ना नागरिक उद्धार गर्न थालेका छन्।

मंगलबार इरानको सेपाह बैंकमाथि साइबर आक्रमण हुँदा सेवा प्रभावित भएको छ।

तेहरानमा डरका कारण नागरिकहरू घर छाड्न थालेका छन्। बेकरी र पेट्रोल पम्पमा लामो लाइन लागेको छ।

अमेरिकाले मध्यपूर्वमा थप सैनिक क्षमताहरू तैनाथ गर्ने तयारी गरिरहेको रक्षा सचिव पिट हेगसेथले जनाएका छन्।

चीनले ट्रम्पको अभिव्यक्तिलाई “झनै आगोमा घ्यु हाल्ने” कार्य भनेको छ। टर्कीका राष्ट्रपति एर्दोगानले इजरायली प्रधानमन्त्री नेतन्याहुलाई “क्षेत्रीय सुरक्षाको सबैभन्दा ठूलो खतरा” भनेका छन्।

क्यानडामा भइरहेको G7 शिखर सम्मेलनमा ट्रम्पलगायत नेताहरूले “स्थिति सुल्झाउन” आह्वान गरे पनि इजरायलको आत्मरक्षा अधिकार र इरानलाई कहिल्यै पनि आणविक हतियार नदिने अडान दोहोर्याइएको छ।

संयुक्त राष्ट्रसंघको आणविक निगरानी संस्था IAEA ले इरानको नताञ्ज परमाणु केन्द्रको भूमिगत संरचना प्रत्यक्ष प्रभावित भएको जनाएको छ।

सन् २०२५ को सुरुमा इरान र अमेरिका बीच वार्ता भइरहेको बेलामा युद्ध सुरु भएपछि इरानले भनेको छ— युद्ध जारी रहेसम्म अमेरिका सँग वार्ता हुँदैन।

शुक्रबारदेखि हालसम्म इजरायलमा २४ जनाको मृत्यु भएको प्रधानमन्त्री कार्यालयले जनाएको छ भने इरानले आइतबारसम्म २२४ जनाको मृत्यु भएको बताएको छ।

इजरायली प्रधानमन्त्री नेतन्याहुले भनेका छन्, “यो अभियानले मध्यपूर्वको स्वरूप बदल्दैछ र इरानभित्रै पनि ठूलो परिवर्तन ल्याउनेछ।” TET

 

#इरान #अमेरिका #इजरायल