ऐतिहासिक पार्टी आज अपराधको संरक्षक

ऐतिहासिक पार्टी आज अपराधको संरक्षक

ध्रुव गिरी

लुटतन्त्र जोगाउने काँग्रेसी गुण्डागर्दीको नांगो नाच

नदी संरक्षणको संवैधानिक अधिकारमाथि कांग्रेसी जनप्रतिनिधिबाटै भएको रड प्रहार केवल राजनीतिक असहिष्णुताको द्योतक होइन, यो अपराधको राज्यसंरक्षित नाङ्गो प्रदर्शन हो । स्याङ्जाको वालिङ नगरपालिका–१० का कांग्रेसबाट निर्वाचित वडाध्यक्ष सुनील खनालले आँधीखोला बचाउ अभियानमा सहभागी रास्वपाका नेतामाथि फलामको रडले गरेको आक्रमणले नेपाली काँग्रेसको चरित्र फेरि एकपटक उजागर गरिदिएको छ—स्थानीय तहदेखि संघीय राजनीतिसम्म पार्टी पतनको कित्तामा पुगेको छ ।

नदी जस्तो सार्वजनिक सम्पत्तिको संरक्षणको आवाज उठाउनु आजको सन्दर्भमा साहसिक र राष्ट्रहितको कदम हो । तर यो सत्यका पक्षमा उभिएकाहरूलाई राज्यका जिम्मेवार पदधारीहरूबाटै कुटपिट गर्नु कस्तो लोकतन्त्र हो ? वडाध्यक्ष खनालको आक्रमण केवल व्यक्तिगत आवेग होइन, यो लुटतन्त्र जोगाउने कांग्रेसी संरचनाको रक्षा गर्ने योजना अन्तर्गतको गुन्डागर्दी हो । ‘विधिप्रक्रियाको पालना गरेर ढुंगागिट्टी निकालिएको हो’ भन्ने मेयरको औचित्य पनि त्यत्तिकै लज्जास्पद छ, जब स्थानीय बासिन्दाले त्यो प्रकृया विरुद्ध सडकमा विरोध गरिरहेका छन् ।

घटनामा संलग्न वडाध्यक्ष खनाल हाल फरार छन् । प्रश्न उठ्छ—यदि यो अपराध कुनै सर्वसाधारणले गरेको हुन्थ्यो भने प्रहरीको व्यवहार यति नै ‘धैर्यशील’ हुन्थ्यो त ? निश्चय नै होइन । जनप्रतिनिधिको नाममा दण्डहीनताको संस्कार फैलाउने यो घटनाले स्पष्ट गर्छ—कांग्रेसको शासनमा कानुनको शासन होइन, शक्ति र पहुँचको शासन चल्छ ।

कांग्रेसको पाखण्ड यहीँ समाप्त हुँदैन । केन्द्रीय राजनीतिमा पनि उनीहरू समान रूपले पतीत छन्—जहाँ संसदमा यौन पर्यटन जस्ता अभिव्यक्ति दिनेहरू प्रमुख सचेतक बन्छन्, तर ‘निलो रिबन’ जस्तो मर्यादित प्रतिरोधलाई अश्लील पोसाकको संज्ञा दिन्छन् । त्यही चरित्र स्थानीय तहमा वडाध्यक्ष खनालको रड प्रहारमा अभिव्यक्त हुन्छ । पार्टीका सबै तहमा सिद्धान्त होइन, सत्ताका लागि ‘गुण्डा प्रवृत्ति’ रक्षाको मनसाय देखिन्छ ।

रास्वपाका नेताहरू मेघ आले र दिनेश तिवारी जस्ता युवाले आँधीखोला जोगाउने अभियान चलाउँदा उनीहरूलाई सम्मानित गर्नुको सट्टा कुटपिट गर्नु भनेको परिवर्तनको डरले जरा गाडेर बसेको लुटतन्त्रको आतंक हो । कांग्रेसले अब पनि यस्ता अपराधी जनप्रतिनिधिलाई कारबाही नगर्ने हो भने उसले जनविश्वासको आधार पूर्णरूपमा गुमाउने निश्चित छ ।

रास्वपाले घटनाको प्रतिवाद गर्दै दोषीमाथि हदैसम्मको कारबाही माग गर्नु उचित छ । नागरिक स्वतन्त्रता, पारदर्शिता र सार्वजनिक स्रोतको रक्षा गर्नेहरूले रडको मार सहनु पर्ने यो नियति अब सह्य छैन ।

यो घटना केवल रास्वपामाथिको आक्रमण होइन, यो सुशासनमाथिको हमला हो । र, यो काँग्रेसको चरित्रमाथिको थप प्रश्न हो—कसरी एक ऐतिहासिक पार्टी आज अपराधको संरक्षक बनिरहेको छ ?

समय आएको छ—जनताले निर्णय गर्नुपर्छ, सत्य बोल्नेलाई रड दिने व्यवस्था चाहिन्छ कि कानुनी शासनको पुनःस्थापना । काँग्रेसका गतिविधिहरू हेर्दा यस्तो पार्टीले लोकतन्त्रको रक्षा गर्ने हैसियत गुमाइसकेको स्पष्ट देखिन्छ ।

 

#काँग्रेस #सुनील_खनाल