
नेपालको संसद फेरि एकपटक जनताको मुद्दा होइन, प्रतीकको राजनीति र दोहोरो मापदण्डको घेराभित्र जाकिएको छ। भिजिट भिसाको नाममा भइरहेका सुनियोजित मानव तस्करीजस्ता गम्भीर अपराधबारे आवाज उठाउने दल—राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)—प्रति सत्तापक्ष र प्रमुख विपक्षी दलको अमर्यादित रवैया लोकतान्त्रिक संसदीय मर्यादा माथिको हमला हो। ‘निलो रिबन’—जसलाई विश्वभर मानव तस्करीविरुद्धको सभ्य प्रतिरोधको प्रतीक मानिन्छ—त्यही स्कार्फलाई ‘अमर्यादित पोशाक’ भन्दै रास्वपा सांसदहरूलाई संसदबाट निष्कासन गर्न कांग्रेसी सचेतक श्याम घिमिरेले उठाएको माग हास्यास्पद मात्रै होइन, ढोंगी र दोहोरो चरित्रको नमूना पनि हो।
श्याम घिमिरे त्यही व्यक्ति हुन्, जसले केही महिनाअघि सदनमै ‘यौन पर्यटनलाई वैधानिकता दिने’ जस्तो निर्लज्ज प्रस्ताव राखेका थिए। यौन व्यवसायलाई पर्यटनको मूल आधार बनाउने घिमिरेको सोच संसदको मर्यादामा पर्छ, तर मानव तस्करीविरुद्धको ‘निलो रिबन’ अमर्यादित पोशाक ? यस्तो सोच स्वयं मर्यादाको तिरस्कार हो। यस्तो बेहुरोपन न कांग्रेसका लागि नयाँ हो, न एमालेका लागि। संसदमा झ्याल ढोका भाँच्ने, माइक उखेल्ने, चप्पल उडाउने राजनीतिक संस्कारको पैरो जमाएका यिनै दलहरू आज प्रतीकात्मक, शालीन र सन्देशमूलक विरोधलाई अपमान गरिरहेका छन्।

रास्वपा सांसदहरूले सभ्य ढंगमा संसदको नियम भंग नगरी—नारा वा अश्लील शब्द प्रयोग नगरी, चुपचाप ‘निलो रिबन’ बाँधेर विरोध जनाए। यो कुनै उन्माद थिएन, यो जनभावनाको प्रतिनिधित्व थियो। ‘भिजिट भिसा’को नाममा हजारौँ नेपाली युवा महिलाहरू दोब्बर पैसा लिने दलालको चंगुलमा परेको अवस्था उजागर हुँदै आएको छ। गृहमन्त्री र सत्ता पक्षका नेताहरूको मौनता र जोगिने प्रयासले गम्भीर संदेह पैदा गरेको अवस्थामा रास्वपाको यो माग—‘उच्चस्तरीय छानबिन समिति’—पूर्णत: तार्किक छ। तर, सत्ता पक्ष यसको उत्तर सत्यको आधारमा दिनुको सट्टा, पोशाकको बहानामा विमुख हुन खोज्दैछ।
सभामुख देवराज घिमिरे पनि सत्ताका इशारामा नाच्न थालेको दृश्य मंगलवार स्पष्ट देखियो। विरोध शान्तिपूर्ण थियो, तैपनि बैठक आठ मिनेटमै स्थगित गर्ने, त्यसपछि पुनः बैठक नचाल्ने, पाँच दलका सचेतकसँग आन्तरिक सल्लाह गर्न पलायन हुने उनको आचरण संसद् प्रमुखको होइन, सत्ता रक्षकको जस्तो देखिएको छ। जुन संसदमा ‘राज्य लुट्ने सहमति’ सजिलै हुन्छ, त्यसै संसद्मा ‘सत्यको आवाज’ भने बर्बरतापूर्वक थुन्न खोजिन्छ।
यहाँ प्रश्न उठ्छ—के अब जनताका गम्भीर मुद्दामा सत्य बोल्नेहरू संसद्मा अस्वीकार्य बन्छन्? के लोकतन्त्र भित्रको विरोधको स्वर पोशाकको रंग र लम्बाइमा मात्र सीमित हुन्छ? के नागरिकको जीवनसँग प्रत्यक्ष सरोकार राख्ने विषय उठाउनु ‘नियमविपरीत’ हो?

यदि निलो रिबन लगाउनु मर्यादा भंग हो भने संसदमा तस्करी रोक्ने प्रस्ताव ‘नराम्रो विषय’ हो भन्ने सन्देश दिन खोजिएको हो? यदि सत्य बोल्नेलाई संसदबाट निष्कासित गरिन्छ भने त्यो संसद जनताको होइन, भ्रष्ट संरचनाको चौकी बन्न जान्छ।

रास्वपाको प्रतिरोध पाखण्डी राजनीति विरुद्धको घनघोर थाप्लो हो। यो नयाँ पुस्ताले पुरानो ढोंगलाई दिएको चुनौती हो। र यो आवाज दबाउन खोज्नेहरूको नैतिकता, विवेक र लोकतन्त्रप्रतिको श्रद्धा सबै शून्य हो भन्ने सावित गर्दैछ। मानव तस्करीविरुद्ध बोल्नेलाई रोक्ने संसद नै वास्तवमा आज अमर्यादित भएको छ। सत्य बोल्नेलाई हटाएर संसद बचेको ठान्नेहरू, लोकतन्त्रको लाशमाथि रमाउने अपराधीहरू हुन्।
#‘निलो_रिबन’ #मानव_तस्करीविरुद्ध_एकता #रास्वपा

