इरान–इजरायल द्वन्द्वकाे आगोमा घिउ नथप्न ट्रम्पलाई चीनकाे चेतावनी

इरान–इजरायल द्वन्द्वकाे आगोमा घिउ नथप्न ट्रम्पलाई चीनकाे चेतावनी

बेइजिङ, ३ असार :

चीनले मङ्गलबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि इरान र इजरायलबीचको बढ्दो द्वन्द्वमा ‘आगोमा घिउ थपेको’ आरोप लगाएको छ । ट्रम्पले तेहरानका बासिन्दाहरूलाई ‘तुरुन्त खाली गर्न’ गर्न चेतावनी दिनुभएपछि चीनले त्यस्तो आरोप लगाएको हो ।

दशकौँको शत्रुता र लामो छायाँ युद्धपछि, इजरायलले गत हप्ता इरानभरका लक्ष्यहरू विरुद्ध आश्चर्यजनक हवाई अभियान सुरु गर्‍यो । आक्रमणको उद्देश्य आफ्नो शत्रु इरानलाई आणविक हतियार प्राप्त गर्नबाट रोक्न बताइएको छ । इरानले आणविक हतियार प्राप्त गर्ने महत्त्वाकांक्षालाई अस्वीकार गरेको छ ।

शत्रुताको अचानक भड्काउले व्यापक द्वन्द्वको डर फैलाएको छ । ट्रम्पले इजरायलको आक्रमणले चलिरहेको आणविक वार्तालाई लिकबाट उतारेपछि इरानलाई वार्ताको टेबलमा फर्कन आग्रह गर्नुभएको छ ।

ट्रम्पले आफ्नो ट्रुथ सोसल प्लेटफर्ममा एक असाधारण चेतावनी पनि जारी गर्नुभयो, “सबैले तुरुन्तै तेहरान खाली गर्नुपर्छ !”

“आगो जलाउने, घिउ खन्याउने, धम्की दिने र दबाब बढाउनेले स्थितिको शान्तिकरणलाई बढावा दिन मद्दत गर्दैन, यसले द्वन्द्वलाई मात्र तीव्र र फराकिलो पार्छ”, ट्रम्पको टिप्पणीका बारेमा सोधिएको प्रश्नमा चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता गुओ जियाकुनले भन्नुभयो, “चिनियाँ पक्षले सबै सम्बन्धित पक्षहरू, विशेष गरी इजरायलमाथि विशेष प्रभाव भएका देशहरूलाई आफ्नो जिम्मेवारी बहन गर्न, तनाव कम गर्न तत्काल उपायहरू लिन र द्वन्द्वलाई विस्तार र फैलिनबाट रोक्न आह्वान गर्छ ।”

इजरायल र इरानले भारी आक्रमण गरेपछि इजरायलमा रहेको चिनियाँ दूतावासले मङ्गलबार पनि आफ्ना नागरिकहरूलाई ‘सकेसम्म चाँडो’ देश छोड्न आग्रह गरेको छ ।

“इजरायलमा रहेको चिनियाँ मिसनले चिनियाँ नागरिकहरूलाई उनीहरूको व्यक्तिगत सुरक्षाको ग्यारेन्टी गर्नसक्ने पूर्व शर्तमा भूमि सीमा पार गरेर सकेसम्म चाँडो देश छोड्न सम्झाउँछ”, दूतावासले विच्याटमा एक विज्ञप्तिमा भन्यो, “जोर्डनको दिशामा प्रस्थान गर्न सिफारिस गरिन्छ ।”

दूतावासले द्वन्द्व ‘निरन्तर बढ्दै गएको’ चेतावनी दिएको छ । “धेरै नागरिक पूर्वाधारहरू क्षतिग्रस्त भएका छन्, नागरिक हताहतको सङ्ख्या बढिरहेको छ र सुरक्षा अवस्था अझ गम्भीर हुँदै गइरहेको छ”, दूतावासले भनेको छ ।

 

ट्रम्प : सबैले तुरुन्तै तेहरान खाली गर्नुपर्छ !

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार तेहरानका बासिन्दाहरूलाई त्यहाँबाट निस्कन आग्रह गर्नुभएको छ ।

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले इरानमाथि व्यापक आक्रमण सुरु गरेपछि उहाँका चेतावनीहरूलाई समर्थन गर्दै ट्रम्पले त्यस्तो आग्रह गर्नुभएको हो ।

“सबैले तुरुन्त तेहरान छोड्नुपर्छ !” ट्रम्पले क्यानाडामा भएको जी–७ को शिखर सम्मेलनका क्रममा आफ्नो ट्रुथ सोसल खातामा लेख्नुभएको छ ।

ट्रम्पले विस्तृत विवरण दिनुभएन । इरानी राजधानीमा लगभग एक करोड मानिस बस्छन् ।

इजरायलले इरानमा आक्रमणहरू बढाएको बेला यो चेतावनी आएको छ । इजरायलले धर्मगुरुद्वारा सञ्चालित इरानको विवादित आणविक कार्यलाई नष्ट गर्ने लक्ष्य राखेको बताएको छ ।

इजरायली सेनाले यसअघि तेहरानको एउटा जिल्लाका बासिन्दाहरूलाई खाली गर्न आग्रह गर्दै सूचना जारी गरेको थियो । यो गाजामा यसको रणनीतिको प्रतिध्वनि हो । इजरायलले गाजामा सन् २०२३ अक्टोबर ७ को आक्रमणपछि अधिकांश प्यालेस्टिनी जनसङ्ख्यालाई विस्थापित गरेको छ ।

संयुक्त राज्य अमेरिकाले इजरायली सैन्य कारबाहीमा भाग लिने छ कि छैन भनेर भन्न ट्रम्पले बारम्बार अस्वीकार गर्नुभएको छ । यद्यपि उहाँले अमेरिका प्रारम्भिक आक्रमणमा संलग्न नभएको बताउनुभयो ।

यसअघि मङ्गलबार समाप्त हुने जी–७ शिखर सम्मेलनमा उहाँले पत्रकारहरूलाई भन्नुभएको थियो, “म यहाँबाट निस्किएपछि, हामी केही गर्न जाँदैछौँ । तर मैले यहाँबाट जानुपर्छ ।”

 

इरानमाथिको आक्रमणमा संलग्नता अमेरिकाद्वारा अस्वीकार

संयुक्त राज्य अमेरिकाले इरानमा इजरायली संस्थाको आक्रमणमा संलग्नता अस्वीकार गरेको छ ।

ह्वाइट हाउसका प्रवक्ता एलेक्स फाइफरले एक्स प्लेटफर्ममा एक पोस्टमा भन्नुभयो, “इरानमा भएको आक्रमणमा अमेरिकी संलग्नताको रिपोर्ट ‘नक्कली समाचार’ हो, अमेरिकी सेनाले आफ्नो रक्षात्मक गतिविधि कायम गरिरहेका छन् र त्यो परिवर्तन भएको छैन । हामी अमेरिकी हितको रक्षा गर्नेछौँ ।”

पेन्टागनका प्रवक्ता सिन पार्नेलले पनि इजरायली च्यानलले अमेरिकी विमानले इरानविरुद्ध आक्रमणमा भाग लिएको रिपोर्टमा टिप्पणी गर्दै यो ‘सत्य होइन’ भन्नुभएको छ ।

सम्बन्धित घटनाक्रममा ह्वाइट हाउसले सोमबार साँझ अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प मध्यपूर्वको घटनाक्रमका कारण हाल क्यानाडामा भइरहेको जी–७ शिखर सम्मेलन समाप्त हुनु अघि वासिङ्टन फर्कनुहुने घोषणा गरेको छ ।

शुक्रबार बिहान इजरायली संस्थाले इरानमा आणविक र सैन्य सुविधाहरूलाई लक्षित गर्दै हवाई आक्रमण गरेको थियो । उक्त आक्रमणबाट नागरिक हताहतका अतिरिक्त नेताहरू र वैज्ञानिकहरूको मृत्यु भयो ।

इरानले कब्जा गरिएका क्षेत्रहरूमा मिसाइल र ड्रोन आक्रमणको साथ प्रतिक्रिया दिएसँगै यस क्षेत्रले क्षेत्रीय स्थिरतालाई खतरामा पार्ने द्वन्द्व र बढाउने डर खडा गरेको छ ।

 

इरानको भूमिगत नातान्ज ‘आणविक स्थल’मा इजरायली आक्रमणः आइएइए

इजरायलले गरेको आक्रमणका क्रममा इरानको नातान्ज आणविक स्थलको भूमिगत भागमा ‘प्रत्यक्ष प्रभाव’ परेको संयुक्त राष्ट्रसङ्घको आणविक निगरानी निकायले मङ्गलबार जनाएको छ ।

अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सी (आइएइए) ले युरेनियम संवद्र्धन केन्द्रको जमिनभन्दा माथिको भाग र विद्युतीय संरचनामा क्षति पुगेको प्रारम्भिक अनुमान गर्दै यसको कुनै सङ्केत नभएको बताएको थियो ।

“शुक्रबारको आक्रमणपछि सङ्कलन गरिएको स्याटेलाइट तस्वीरको निरन्तर विश्लेषणको आधारमा आइएइएले नतान्जमा भूमिगत संवर्धन कक्षहरूमा प्रत्यक्ष प्रभावहरू सङ्केत गर्ने थप जानकारी पहिचान गरेको छ,” आइएइएले एक्समा सम्प्रेषित एक विज्ञप्तिमा भनिएको छ।

आईएईएले यस विषयमा थप विवरण उपलब्ध गराएको छैन ।

नातान्जले आफ्ना दुई संवद्र्धन प्लान्टहरूमा युरेनियम संवद्र्धन गर्न प्रयोग गरिने ७० वटा उपकरणहरूलाई पू्रयोगमा ल्याएको छ । तीमध्ये एउटा प्लान्ट भूमिगत छ ।

तेहरानले आणविक अस्त्र विकास गर्न लागिेको भनी गरिएका दावीहरूको खण्डन गर्दै आएको छ तर ६० प्रतिशतसम्म युरेनियमलाई संवद्र्धन गर्दै आएको छ । यो मात्रा सन् २०१५ मा अमेरिका र इरानले प्रमुख शक्तिराष्ट्रहरूसँग गरेको सम्झौताले निर्धारण गरेको ३.६७ प्रतिशतको सीमाभन्दा निकै बढी हो ।

एरानले तीनदेखि पाँच प्रतिशतसम्म प्रवद्र्धित युरेनियमको प्रयोग आणविक ऊर्जा प्लान्टलाई विद्युत् उत्पादनका लागि प्रयोग गरिएको २० प्रतिशतसम्म संवर्धित युरेनियमलाई चिकित्सा प्रयोग (क्यान्सर रोगको निदान) का लागि आइसोटोप उत्पादन गर्न प्रयोग गरिएको जनाउने गरेको छ।

आणविक बम निर्माण गर्न संवर्धनलाई ९० प्रतिशतमा धकेल्नुपर्छ ।

आईएईएका प्रमुख राफेल ग्रोसीले आफू तत्काल इरान जान इच्छुक रहेको बताउनुभएको छ ।

 

ट्रम्पले इरानविरुद्ध ‘थप कदम’ चाल्न सक्ने उपराष्ट्रपति भान्सको भनाइ

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको आणविक कार्यक्रम रोक्न ‘थप कदम’ चाल्न आवश्यक रहेको निर्णय गर्न सक्ने उपराष्ट्रपति जेडी भान्सले मङ्गलबार बताउनुभएको छ ।

भान्सले एक्समा लेख्नुभएको छ, “राष्ट्रपतिले हाम्रो सेनाको ध्यान हाम्रा सेनाको सुरक्षा र हाम्रा नागरिकको सुरक्षामा केन्द्रित गर्न उल्लेखनीय संयम देखाउनुभएको छ । उहाँले इरानी युरेनियम संवद्र्धन अन्त्यका लागि थप कदम चाल्न आवश्यक रहेको निर्णय लिन सक्नुहुन्छ।”

–इन्टरनेट सेवा अवरुद्ध –

यसैबीच, तेहरानबाट प्राप्त सूचना अनुसार इरान र इजरायलबीच लगातार पाँचौं दिन पनि हवाई आक्रमण भइरहँदा मङ्गलबार तेहरानमा ठूलो विस्फोटका आवाजहरू सुनिएका इरानी सञ्चारमाध्यमले जनाएका छन् ।

इजरायली आक्रमणका कारण इन्टरनेट सेवा अवरुद्ध भएको र यसले सूचना र समाचारको पहँचमा कठिनाई भइरहेको इरानी सञ्चारमाध्यमले मङ्गलबार जनाएका छन् ।

“धेरै प्रान्तका इन्टरनेट प्रयोगकर्ताहरूले व्यापक रूपमा इन्टरनेट अवरुद्ध भएको रिपोर्ट गरिरहेका छन्,“ हाम मिहान पत्रिकाले समाचारमा उल्लेख गरेको छ । मङ्गलबार अन्य सञ्चारमाध्यमले पनि यस्तै समाचार सम्प्रेषण गरेका छन् ।

के कारणले अवरोध भएको हो भन्ने बारे तत्काल केही खुल्न सकेको छैन । इजरायलले शुक्रबार इरानी सेना र आणविक केन्द्रविरुद्ध अभूतपूर्व हवाई अभियान सुरु गरेसँगै इरानमा व्यापकरूपमा इन्टरनेट सेवा अवरूद्ध बनेको छ । रासस/एएफपी

 

#इरान #इजरायल #डोनाल्ड_ट्रम्प #चीन