
गुल्मी, ३ असार :
पहिरोका कारण अवरुद्ध भएको कालीगण्डकी करिडोर सडक अझै सञ्चालन हुनसकेको छैन । कालीगण्डकी करिडोर सडकको गुल्मी खण्डअन्तर्गत कालीगण्डकी गाउँपालिका–६ स्थित बरल्बा भन्ने स्थानमा सोमबार दिउँसो सडकमा चट्टानसहितको पहिरो खसेपछि सडक पूर्ण रूपमा अवरुद्ध बनेको थियो ।

कालीगण्डकी गाउँपालिका अध्यक्ष बेदबहादुर थापाका अनुसार सडक सञ्चालन गर्न सोमबार रातिसम्म पहल गरिए पनि निरन्तर पहिरो खसिरहेका कारण सञ्चालन गर्न समस्या परेको छ । सडक अवरुद्ध भएपछि जिल्ला प्रहरी कार्यालयले प्रहरी चौकी भुर्तुङबाट प्रहरी सहायक निरीक्षक देवबहादुर भुजेलको नेतृत्वमा प्रहरी टोली पहिरोग्रस्त क्षेत्रमा खटिएको प्रहरी उपरीक्षक नारायणप्रसाद अधिकारीले बताउनुभयो ।
सडक अवरूद्धपछि सवारीसाधनलाई पर्वत हुँदै वैकल्पिक सडकमार्ग प्रयोग गर्न आग्रह गरिएको छ । लामो समयसम्म सडक अवरुद्ध हुँदा त्यस क्षेत्रबाट पर्वत, बागलुङ र पोखरासम्म आवतजावत गर्ने यात्री थप समस्यामा परेका छन् ।
वर्षाले विभिन्न राजमार्गका छ स्थानमा सडक अवरुद्ध

काठमाडौँ, ३ असार : वर्षापछिको बाढीपहिरोका कारण आज विभिन्न राजमार्गका छ स्थानमा सडक अवरुद्ध भएको छ । यसका कारण यातायात आवागमन प्रभावित भएको नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायब महानिरीक्षक विनोद घिमिरेले जानकारी दिनुभयो ।

प्रहरी प्रधान कार्यालयका अनुसार ललितपुरको बागमती गाउँपालिका–३ छपेलीमा पहिरो खस्दा आज बिहानैदेखि कान्ति लोकथप सडक अवरुद्ध भएको छ । यस्तै सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकामा तीन ठाउँमा पहिरो खसेर अरनिको राजमार्ग अवरुद्ध भएको छ । भोटेकोशी गाउँपालिका–२ कोदारी, वडा नं ३ लार्चा र वडा नं २ कै कोप्लाङमा पहिरो खसेर सडक अवरुद्ध भएको हो ।
यस्तै नवलपरासी बर्दघाट सुस्तापूर्वको विनयी त्रिवेणी गाउँपालिका–१ मा रहेको विनयी खोलाको बाढीले डाइभर्सन नै बगाउँदा पूर्वपश्चिम राजमार्ग अवरुद्ध भएको छ । त्यसैगरी, गुल्मीको कालीगण्डकी गाउँपालिका–६ बर्लबामा पहिरो खस्दा कालीगण्डकी करिडोर पूर्ण रूपमा अवरुद्ध भएको छ भने जुम्लाको सिंजामा पहिरो खस्दा बन्द गराएको जुम्ला–मुगु सडक र धनकुटाको साँगुरीगढी गाउँपालिका–५ को रवि–राके–भेडेटार सडक एकतर्फी खुलाइएको छ । अवरुद्ध रहेका सडक खुलाउने प्रयास जारी रहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

