इरान-इजरायलमा अनाथ नेपाली

इरान-इजरायलमा अनाथ नेपाली

ध्रुव गिरी

इरान र इजरायलबीचको द्वन्द्व हाल गम्भीर सैन्य संघर्षमा परिणत भइसकेको छ। इजरायलको मिसाइल आक्रमणमा इरानको राजधानी तेहरानमा २ सयभन्दा बढीको मृत्यु भइसकेको खवरले क्षेत्रीय तनाव मात्र होइन, त्यस भित्र रहेका हजारौं विदेशी नागरिकहरूको सुरक्षामाथि गम्भीर चिन्ता थपेको छ। ती मध्ये केही नेपाली नागरिकहरू पनि जोखिमपूर्ण अवस्थामा छन्।

राष्ट्रिय दैनिकमा प्रकाशित अन्तर्वार्तामा तेहरानस्थित एक नेपाली नागरिकले हालको युद्धपरिस्थितिमा आफू र अन्य नेपालीहरू कस्तो अवस्थामा छन् भन्ने जानकारी दिएका छन्। उनीहरू विदेशी दूतावासहरूमा काम गर्ने भएकाले केही सुरक्षित क्षेत्रमा बसोबास गरिरहेका छन्। तर तेहरानमा मिसाइल आक्रमण भइरहेको स्थितिमा “सुरक्षित” भन्ने भर पर्दो छैन। कुनै पनि बेला परिस्थिति बिग्रन सक्छ, जसको असर उनीहरूलाई प्रत्यक्ष पर्न सक्छ।

नेपाल सरकारले यस्ता संवेदनशील परिस्थितिमा तुरुन्त सक्रियता देखाउनुपर्ने हो। तर वर्तमान अवस्थाले देखाउँछ—सरकार पूर्ण रूपमा बेखबर वा उदासीन छ। संकटग्रस्त क्षेत्रमा रहेका नेपालीहरूप्रति दायित्वबोध गर्नु सरकारको मुख्य कर्तव्य हो। अहिलेको जस्तो अवस्थामा नेपाल सरकारले निम्न कदम तुरुन्त चाल्न आवश्यक छ:

तेहरानमा कार्यरत नेपालीहरूलाई केन्द्रित गर्दै काठमाडौँमा एक संकट व्यवस्थापन सेल गठन गरी उनीहरूसँग प्रत्यक्ष सम्पर्कमा रहन सक्ने व्यवस्था मिलाइनुपर्छ। इरानबाट विदेशी राजदूत तथा कर्मचारीहरू निस्कन थालेको अवस्थामा, नेपाली नागरिकहरूलाई पनि सुरक्षितरूपमा फर्काउने वैकल्पिक मार्ग (जस्तै: तेस्रो मुलुक हुँदै उडान व्यवस्था) बनाइनु आवश्यक छ। इरानस्थित नेपाली अवैतनिक महावाणिज्यदूतमार्फत इरानी अधिकारीहरूसँग समन्वय गरी नेपालीको सुरक्षाका विषयमा स्पष्ट प्रतिबद्धता लिनुपर्नेछ। विदेशमा युद्धको तनावमा रहेका नेपालीहरूको मनोबल उच्च राख्न मनोसामाजिक सल्लाह र मार्गदर्शन पनि आवश्यक हुन्छ, जसका लागि अनलाइन हेल्पलाइन स्थापना गर्न सकिन्छ। विदेशमा रहेका नेपालीहरूका लागि एकीकृत सूचना प्रणाली आवश्यक छ, जसबाट सरकारी सूचना, यात्रा सल्लाह र जोखिम मूल्यांकन सजिलै प्राप्त गर्न सकियोस्।

दुर्भाग्यवश, नेपाल सरकारले यस्ता संकटमा रहेका नागरिकहरूप्रति गम्भीर ध्यान नदिएको विगतको व्यवहारले सावित हुन्छ। अफगानिस्तान, साउदी, मलेसिया वा युक्रेनमा युद्धको बेला नेपालीहरूको उद्दारको ढिलोपनले सरकारको तयारी र प्राथमिकतामाथि प्रश्न उठाएका थिए।

तेहरानस्थित नेपालीहरू अहिले “कुन बेला युद्ध बढ्छ” भनेर अनिश्चितताको भयमा छन्। उनीहरूका लागि नेपाल सरकारको सहयोग र उपस्थिति नै मानसिक सम्बल बन्नेछ। तर त्यही सरकार मौन छ, जुन सर्वथा आपत्तिजनक अवस्था हो।

इरान-इजरायल युद्धले, विदेशमा रहेका नेपालीको सुरक्षा, सुरक्षाका योजना र सरकारको दायित्वबोधका सवालमा नेपाल अझै अपरिपक्व छ। यो समय गुनासो होइन, क्रियाशीलताका साथ जिम्मेवार सरकार बन्ने प्रयास गर्ने हो। नत्र भविष्यमा पनि यस्ता युद्ध संकट नेपालीहरूका लागि “अनाथता” को अर्को नाम बन्न सक्छ।

#नेपाल सरकार #इरान-इजरायल युद्ध #Iran-Israel Conflict