पाकिस्तानले इजरायलमाथि आणविक हमला गर्ने ?

पाकिस्तानले इजरायलमाथि आणविक हमला गर्ने ?

इशाक डारले : “युद्ध खेल होइन” — पाकिस्तानको आणविक तथा मिसाइल कार्यक्रम मात्र आत्मरक्षाका लागि हो

 

पाकिस्तानका उपप्रधानमन्त्री तथा विदेशमन्त्री इशाक डारले सामाजिक सञ्जालमा फैलाइएको एक “गम्भीर, गैरजिम्मेवार र बनावटी” झूटा समाचारको कडा खण्डन गरेका छन्। सो समाचारमा भनिएको थियो कि एक वरिष्ठ ईरानी जनरलले पाकिस्तान इजरायलमाथि आणविक हमला गर्ने तयारीमा रहेको बताएका छन्— जुन कुरा पूर्णतया असत्य हो।

सोमबार पाकिस्तानको सिनेटमा बोल्दै डारले इजरायल–ईरानबीच बढ्दो तनावका बीच यस्तो झूटा समाचारले परिस्थितिलाई झन् भयावह बनाउने भन्दै सचेत रहन आग्रह गरे।

“पाकिस्तानले यस्तो कुनै अभिव्यक्ति दिएको छैन। यो अत्यन्तै गैरजिम्मेवार र बनावटी दाबी हो,” उनले भने। “युद्ध खेल होइन,” भन्दै उनले पाकिस्तानको आणविक तथा मिसाइल कार्यक्रम पूर्ण रूपमा आत्मरक्षा र क्षेत्रीय स्थायित्वका लागि रहेको स्पष्ट पारे।

“हाम्रो आणविक र मिसाइल कार्यक्रम हाम्रो सुरक्षाका लागि हो। सन् १९९८ मै हामीले भनिसकेका थियौं कि यो कार्यक्रम हाम्रो रक्षा र शान्तिका लागि हो। हामीले आणविक अप्रसार सन्धि (NPT) हस्ताक्षर नगर्नुको कारण विश्वसनीय प्रतिरोध कायम राख्न आवश्यक देखिएको हो,” डारले थपे।

डारले सामाजिक सञ्जालमा फैलाइएका बनावटी सामग्रीप्रति पनि आक्रोश व्यक्त गरे, जहाँ अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पको नाममा एआई प्रविधिद्वारा बनाइएको झूटा भिडियो पनि प्रसारित भएको बताए।

“ट्रम्पको एक भिडियो क्लिप थियो, जुन पछि एआई-निर्मित भएको पत्ता लाग्यो,” उनले भने। “१३ जून यता यस्ता धेरै झूटा समाचारहरू देखा परेका छन्। नेतान्याहूको एउटा अन्तर्वार्ता भाइरल भइरहेको छ, त्यो त सन् २०११ को हो। यो खेल होइन, युद्ध गम्भीर कुरा हो — हामीले सतर्क भएर काम गर्नुपर्छ।”

डारले पाकिस्तानले यस संकटमा कूटनीतिक रूपमा जिम्मेवार भूमिका निर्वाह गरेको दाबी गरे। “संयुक्त राष्ट्र सुरक्षा परिषद्को सत्रमा हामीले संलग्न भूमिका खेलेका थियौं। ईरानले पाकिस्तानको भूमिकाको प्रशंसा गरेको छ,” उनले भने। “ओमान र ईरानका विदेशमन्त्रीहरूसँग मेरो निरन्तर सम्पर्क रह्यो।”

उनका अनुसार ईरान वार्ताको लागि तयार रहेको छ, यदि इजरायलले थप हमला नगरे। “पहिलो आक्रमणपछि मैले ईरानी विदेशमन्त्रीसँग कुरा गरे। उनले भने, ‘हामी जवाफ दिनेछौं, तर यदि इजरायलले फेरि आक्रमण गरेन भने वार्ताको लागि खुला छौं।’ हामीले यो सन्देश अन्य देशहरूलाई पनि दिएका छौं। अझै इजरायललाई रोक्न सकिन्छ — ईरान वार्ताका लागि तयार छ,” डारले भने।

#ईरान #इजरायल