
क्वेटा, पाकिस्तान, २ असार :
पाकिस्तानले छिमेकी मुलुक इरानसँग जोडिएका आफ्ना सबै सीमा नाका अनिश्चित कालका लागि बन्द गर्दै आफ्ना नागरिकलाई इरान प्रवेशमा रोक लगाएको प्रान्तीय अधिकारीहरूले सोमबार बताएका छन् ।

इजरायल र इरानबीच तीव्र आक्रमण प्रत्याक्रमण चलिरहेका समय अर्को सूचना नभएसम्मका लागि सीमा नाका बन्द गरेको हो ।
सीमा वन्दपछि पनि इरानबाट स्वदेश फर्कन चाहने नागरिकका लागि प्रवेश दिइने पाकिस्तानी अधिकारीले बताएका छन् ।
इरानसँग सीमा जोडिएको बलुचिस्तान प्रान्तका वरिष्ठ अधिकारी कादिर बख्श पिरकानीले एएफपीसँग भन्नुभयो, “चाघी, वाशुक, पञ्जगुर, केच र ग्वादर गरी पाँचवटै जिल्लाका सीमा सुविधाहरू स्थगित गरिएको छ।”

चागी जिल्लाको सीमाका एक अधिकारी अट्टा उल मुनिमले इरान प्रवेशलाई अर्को सूचना जारी नभएसम्मका लागि स्थगन गरिएको जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “सीमा बन्दले सीमामा हुने ‘व्यापार गतिविधिमा कुनै प्रतिबन्ध गर्ने छैन’ र इरानबाट आफ्नो देश फर्कन आवश्यक पर्ने पाकिस्तानी नागरिकहरू स्वदेश फिर्ता हुन सक्नेछन् ।”
“हामीले आज करिब २०० जना पाकिस्तानी विद्यार्थी आउने अपेक्षा गरेका छौं,” अट्टाले भन्नुभयो ।

आइतबार पाकिस्तानी विदेशमन्त्री इशाक डारले ४५० पाकिस्तानी तीर्थयात्रीलाई इरानबाट उद्धार गरिएको र अझै धेरैले यसलाई अनुसरण गर्न बाँकी रहेको बताउनुभएको थियो ।
आणविक हतियार भएको एक मात्र मुस्लिम बहुल देश पाकिस्तानले इजरायलको आक्रमणविरुद्ध ’इरान सरकार र त्यहाँका जनतासँग ऐक्यवद्धता जनाउने’ शुक्रबार बताएको छ ।

पाकिस्तानका रक्षामन्त्री ख्वाजा आसिफले इजरायलको आणविक क्षमताप्रति विश्व सचेत र सशंकित हुनुपर्ने चेतावनी दिनुभएको छ ।
इजरायल अघोषित भए पनि मध्यपूर्वको एक मात्र आणविक शक्ति हो ।
यदि द्वन्द्व चर्कियो भने पाकिस्तानले तेहरानलाई समर्थन गर्न सक्ने सञ्चारमाध्यमले जनाएका छन् तर इस्लामाबादका अधिकारीहरूले आफ्नो देशले ‘नैतिक र कूटनीतिक ऐक्यबद्धता’ मात्र देखाएको बताएका छन्।
सुन्नी बहुल पाकिस्तानको शिया बहुल इरानसँग ९०० किलोमिटर (५६० माइल) भन्दा बढी सीमा साझा छ।
दुई छिमेकीबीचको सम्बन्ध जटिल रहेको छ, पाकिस्तान अक्सर तेहरानमाथि अमेरिकी नेतृत्वको प्रतिबन्धबाट सावधान रहन्छ र रियादसँगको सम्बन्धलाई पनि ध्यानमा राख्छ । सायदी अरबले बारम्बार पाकिस्तानी अर्थव्यवस्थालाई बचाउन मद्दत गरेको छ ।
दुई देशबीचको द्विपक्षीय व्यापार करिब तीन अर्ब अमेरिकी डलर रहेको छ र अधिकारीहरूले आगामी वर्षहरूमा यसलाई बढाएर १० अर्ब डलर पु¥याउने प्रतिबद्धता व्यक्त गरेका छन् ।
इरानद्वारा नयाँ अर्थमन्त्री नियुक्त
बढ्दो मुद्रास्फिति र घट्दो मुद्रालगायत बढ्दो आर्थिक समस्यासँग जुध्न मन्त्री परिषद्ले नियुक्त गरिएका अली मदनी जादेहलाई सोमबार नयाँ अर्थमन्त्रीका रूपमा अनुमोदन गरेको छ ।
इरानका पूर्ववर्ती अब्दोलनासेर हेम्मातीलाई आर्थिक समस्या समाधान गर्न असफल भएको भन्दै अविश्वासको प्रस्तावमा सत्ताच्युत गरिएको केही महिनापछि ४३ वर्षीय मदनीजादेहलाई इरानको अर्थमन्त्रीमा नियुक्त गरिएको हो ।
सरकारी टेलिभिजनका अनुसार मदनीजादेहले २९० सदस्यीय संसद्मा उपस्थित सांसदको पक्षमा १७१ विपक्षमा ६१ मत प्राप्त भएको छ भने आठ सांसद अनुपस्थित रहेका छन् ।
इरानको अर्थतन्त्र लामो समयदेखि अमेरिकी प्रतिबन्धका कारण तनावमा रहेको छ, जसले लगातार दोहोरो अङ्कको मुद्रास्फीति र बढ्दो उपभोक्ता मूल्यलाई बढावा दिएको छ।
गत जनवरीमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले तेहरानमाथि ‘अधिकतम दबाब’ दिने प्रतिबन्ध अभियानलाई पुनः सुरु गर्नुभएको थियो ।
आर्थिक सङ्कटको सामना गरिरहेको इरानमा अहिले इजरायलसँगकाृ क्षेत्रीय द्वन्द्वको नाटकीय वृद्धिले इरानलाई सङ्कट समाधानका लागि तत्काल नयाँ व्यक्ति ल्याउन बाध्य पारेको देखिन्छ ।
गत शुक्रबारदेखि इजरायलले इरानको सैन्य अखडा, आणविक स्थल र आवासीय क्षेत्रलाई लक्षित गरी इरानमाथि व्यापक आक्रमण गरेको छ ।
यस आक्रमणमा परी शीर्ष सैन्य कमाण्डर, आणविक वैज्ञानिक र सर्वसाधारणसहित कम्तीमा २२४ जनाको मृत्यु भएको छ ।
इरानले त्यसको जवाफमा ड्रोन र क्षेप्यास्त्र प्रहार गरी इजरायलमा कम्तीमा २४ जनाको ज्यान लिएको प्रधानमन्त्री कार्यालयको पछिल्लो तथ्याङ्कमा उल्लेख छ ।
इरानले इजरायललाई मान्यता दिँदैन र लामो समयदेखि उसले आफ्नो आणविक केन्द्रविरुद्ध विध्वंसकारी अभियान चलाएको र आफ्ना वैज्ञानिकहरूको हत्या गरेको आरोप लगाउँदै आएको छ।
इरान– इजरायल तनावबीच अमेरिकी युद्धपोत मध्यपूर्वतर्फ जाँदै
अमेरिकी युद्धपोतवाहक युएसएस निमित्जले भियतनाममा रोकिने योजना रद्द गर्दै सोमबार दक्षिणपूर्वी एसियाबाट मध्यपूर्वतर्फ प्रस्थान गरेको छ।
इजरायल र इरानबीच युद्ध भइरहेका बेला अमेरिकी उपस्थिति बढाउन युएसएस निमित्ज मध्यपूर्वतर्फ जान लागेको हो ।
मरिन ट्राफिकका अनुसार स्थानीय समयानुसार १३ः४५ बजे उक्त विमान मलाक्का स्ट्रेट हुँदै हिन्द महासागरतर्फ गइरहेको थियो ।
भियतनामी सरकारका एक अधिकारीले एएफपीसँग कुरा गर्दै युएसएस निमित्जमा जुन २० मा आयोजना हुने भनिएको स्वागत समारोह रद्द गरिएको पुष्टि गरेका छन् ।
ती अधिकारीले अमेरिकी दूतावासको पत्र शेयर गर्दै रक्षा मन्त्रालयले ‘आपतकालिन परिचालन आवश्यकता’का कारण कार्यक्रम रद्द गर्न लागेको जानकारी दिएका छन्।
हनोईस्थित अमेरिकी दूतावास र निमित्जका प्रवक्ताले एएफपीसँग यसबारे कुनै प्रतिक्रिया दिन मानेनन् ।
इजरायल र इरानबीच बढ्दो हवाई युद्धको चौथो दिन तनाव कम गर्न अन्तर्राष्ट्रिय आह्वानको बावजुद विश्वको सबैभन्दा ठूलोमध्येको एक युद्धपोत मध्यपूर्वतर्फ प्रस्थान गरेको हो ।
इरानी अधिकारीहरुका अनुसार इजरायलले गरेको आक्रमणमा परी उच्च सैन्य कमाण्डर, आणविक वैज्ञानिक र सर्वसाधारणसहित कम्तीमा २२४ इरानीको मृत्यु भएको छ ।
त्यसको जवाफमा इरानले इजरायलमाथि क्षेप्यास्त्र प्रहार गरेको र ’प्रभावकारी, लक्षित र थप विनाशकारी कारबाही’ गर्न सक्ने चेतावनी दिएको छ ।
इजरायलका लागि अमेरिकी राजदूत माइक हकाबीले इरानको क्षेप्यास्त्र आक्रमणले तेल अभिभस्थित अमेरिकी दूतावासको भवनमा हल्का क्षति पुगेको बताउनुभएको छ ।
इरान र इजरायललाई तनाव कम गर्न ‘तुरुन्तै’ कदम चाल्न चीनको आग्रह
तेहरानले इजरायली सहरहरूमा मिसाइल आक्रमणको वर्षा गरेपछि र इजरायलले इरानभित्र गहिरो सैन्य लक्ष्यहरूमा प्रहार गरेपछि चीनले सोमबार इरान र इजरायललाई तनाव कम गर्न ‘तुरुन्तै’ कदम चाल्न आग्रह गरेको छ ।
“हामी सबै पक्षलाई तुरुन्तै तनाव घटाउने उपायहरू अपनाउन, क्षेत्रलाई ठूलो अशान्तिमा डुब्नबाट रोक्न र वार्तालापमार्फत समस्या समाधानको सही बाटोमा फर्कने अवस्था सिर्जना गर्न आग्रह गर्छौं”, चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता गुओ जियाकुनले भन्नुभयो ।
दशकौँको शत्रुता र प्रोक्सी तथा गुप्त अपरेसनहरूमार्फत लडिएको लामो छायाँ युद्धपछि गत हप्ता इजरायलको इरानमाथिको अचानक आक्रमणले अहिलेसम्मकै तीव्र लडाइँ सुरु गरेको छ र लामो द्वन्द्वको डर जगाएको छ । यो द्वन्द्वले मध्यपूर्वलाई समेट्न सक्छ ।
इजरायलले आफ्नो आक्रमणले सैन्य र आणविक सुविधाहरूमा प्रहार गरेको र धेरै शीर्ष इरानी कमान्डर र आणविक वैज्ञानिकहरू मारिएको बताएको छ । यद्यपि एक वरिष्ठ अमेरिकी अधिकारीले आइतबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायललाई सर्वोच्च नेता आयातुल्लाह अली खामेनीलाई मार्ने योजनाबाट पछि हट्न भन्नुभएको बताउनुभयो ।
चीनका शीर्ष कूटनीतिज्ञ एवं विदेशमन्त्री वाङ यीले शनिबार आफ्ना इजरायली र इरानी समकक्षीहरूसँग गर्नुभएको फोनवार्तामा उहाँले दुवैलाई तेहरानप्रति बेइजिङको समर्थन स्पष्ट पार्नुभएको विदेश मन्त्रालयले बताएको छ ।
चीनको इरानसँग घनिष्ठ सम्बन्ध छ । चीन इरानको सबैभन्दा ठूलो व्यापारिक साझेदार र यसको तेलको मुख्य खरिददाता हो भने तेहरान अझै पनि कडा अमेरिकी प्रतिबन्धमा छ ।
“सबै सम्बन्धित पक्षहरूले तुरुन्तै वृद्धिमा ब्रेक लगाउन र तनाव कम गर्न कदम चाल्नुपर्छ”, गुओले सोमबार भन्नुभयो, “बलले दिगो शान्ति ल्याउन सक्दैन । चीनले यस क्षेत्रमा थप अशान्ति रोक्न सम्बन्धित पक्षहरूसँग सञ्चार जारी राख्नेछ, शान्ति प्रवद्र्धन गर्नेछ र वार्तालाई प्रोत्साहन दिनेछ ।”
तेल अभिव दूतावास भवन इरानको आक्रमणबाट क्षतिग्रस्त : अमेरिकी राजदूत
इजरायलका लागि अमेरिकी राजदूत माइक हकाबीले सोमबार तेल अभिवमा रहेको दूतावास भवनमा नजिकैको इरानी क्षेप्यास्त्र आक्रमणबाट थोरै क्षति भएको र अमेरिकी कर्मचारीहरूलाई कुनै चोट नलागेको बताउनुभएको छ ।
इजरायलले इरानभित्र गहिरो सैन्य लक्ष्यमा आक्रमण गरेपछि दुवै पक्षले थप विनाशको धम्की दिएका छन् । इरानले सोमबार बिहान इजरायली सहरहरूमा मिसाइल प्रहार गरेको थियो ।
इजरायली सेनाले मानिसहरूलाई आउने इरानी क्षेप्यास्त्रहरूबाट सुरक्षा लिन चेतावनी दिएपछि एएफपी तस्बिरहरूले तेल अभिवको तटीय केन्द्रमा भवनहरू ध्वस्त भएको देखाएका छन् ।
“तेल अभिवमा दूतावास शाखा नजिकै इरानी मिसाइल प्रहारको धक्काबाट केही सामान्य क्षति भएको छ तर अमेरिकी कर्मचारीहरूलाई कुनै चोटपटक लागेको छैन”, हकाबीले एक्समा भन्नुभयो ।
उहाँले ‘स्थानमा आश्रयको आदेश अझै प्रभावमा रहेको’ भन्दै जेरुसेलमको अमेरिकी दूतावास सोमबार बन्द रहने बताउनुभयो ।
दशकौँको शत्रुता र प्रोक्सी युद्धहरूपछि गत हप्ता इजरायलको इरानमाथिको आक्रमणले अहिलेसम्मकै तीव्र लडाइँ सुरु गरेको छ र लामो द्वन्द्वको डर जगाएको छ । यसले सम्पूर्ण मध्यपूर्वलाई समेट्न सक्छ ।
इजरायलले आफ्नो आक्रमणले सैन्य र आणविक सुविधाहरूमा प्रहार गरेको र धेरै शीर्ष कमान्डरहरू र आणविक वैज्ञानिकहरू मारिएको बताएको छ ।
तर एक वरिष्ठ अमेरिकी अधिकारीले आइतबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायललाई सर्वोच्च नेता अयातुल्लाह अली खामेनीको हत्या गर्ने योजनाबाट पछि हट्न भन्नुभएको बताउनुभयो ।
ट्रम्पले शत्रुहरूलाई ‘सम्झौता गर्न’ आग्रह गर्नुभएको छ तर आइतबार पत्रकारहरूलाई भन्नुभयो, “कहिलेकाहीँ उनीहरूले पहिले लड्नुपर्छ ।”
इजरायलले मध्यपूर्वको सुरक्षामा खतरा निम्त्याएको टर्कीएका राष्ट्रपतिको भनाइ
टर्कीएका राष्ट्रपति रेसेप तैयप एर्दोगान इजरायलले मध्यपूर्वको सुरक्षामा खतरा निम्त्याएको बताउनुभएको छ ।
एर्दोगानले आफ्ना रुसी समकक्षी भ्लादिमिर पुटिनसँग सोमबार भएको टेलिफोन वार्तामा उक्त कुरा बताउनुभएको हो ।
एर्दोगानले नेता पुटिनसँगको वार्तामा भन्नुभयो, “इरानमाथि इजरायलको आक्रमणबाट सुरु भएको हिंसाको चक्रले सम्पूर्ण क्षेत्रको सुरक्षालाई जोखिममा पारेको छ ।”
इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुको सरकारको ‘अराजक रवैया’ ले ’अन्तर्राष्ट्रिय प्रणालीका लागि स्पष्ट खतरा उत्पन्न गरेको’ र मध्यपूर्वले ’नयाँ युद्ध सहन नसक्ने’ पुटिनसँग बताएको राष्ट्रपति एर्दोगानको कार्यालयले जनाएको छ ।
क्रेमलिनका अनुसार पुटिन र एर्दोगानबीच भएको वार्तालाई इजरायल र इरानबीचको युद्ध तत्काल अन्त्यका लागि आह्वान गर्न प्रयोग गरिएको थियो ।
क्रेमलिनले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “नेताहरूले शत्रुताको तत्काल अन्त्य गर्न र इरानको आणविक कार्यक्रमलगायत विवादास्पद मुद्दाहरूको समाधान राजनीतिक र कूटनीतिक माध्यमबाट गर्न आह्वान गर्नुभएको छ ।
गत शुक्रबार इजरायलले इरानमाथि हवाई आक्रमण गरेपछि भड्किएको इरान र इजरायलबीचको द्वन्द्वसँगै टर्कीएले आफ्नो कूटनीतिलाई तीव्र बनाएको छ । रासस/एएफपी
#पाकिस्तान #इरान
