इजरायल-इरान द्वन्द्वमा बाेले ट्रम्प 

इजरायल-इरान द्वन्द्वमा बाेले ट्रम्प 

आइतबार स्थानिय समयअनुसार इजरायल र इरानले नयाँ आक्रमण गरेपछि सर्वसाधारणको ज्यान जाने र घाइते हुने घटनाहरू बढेका छन्, जसले क्षेत्रीय युद्ध चर्किने चिन्ता निम्त्याएको छ। दुबै देशका सेनाले एकअर्काका नागरिकलाई थप आक्रमणको सम्भावनाबारे सतर्क रहन आग्रह गरेका छन्।

इरानले आइतबार साँझ इजरायलमा नयाँ क्षेप्यास्त्र आक्रमण गरेको बताइएको छ, जसमा हाइफा शहरमा ठूलो विस्फोट भएको देखिएको थियो। त्यसको जवाफमा इजरायली सेनाले इरानका सैन्य लक्ष्यहरूमा पुनः हवाई आक्रमण सुरु गरेको छ।

तेल अभिव र यरूशलेमको आकाशमा क्षेप्यास्त्र प्रहार भएपश्चात् इजरायलको सुरक्षा प्रणालीले ती मिसाइलहरू रोक्न खोज्दा विस्फोट भएका थिए। इजरायलले तेहरान लगायत दर्जनौं लक्ष्यमा हमला गरेको छ।

इरानका अनुसार इजरायलले उनका तेल शोधन केन्द्रहरूमा आक्रमण गरेको, क्रान्तिकारी गार्डका गुप्तचर प्रमुखसहित दुई जना जनरलको हत्या गरेको र घनी बस्ती भएका स्थानहरूमा आक्रमण गरी मृत्यु हुनेको संख्या २२४ पुगेको छ। स्वास्थ्य अधिकारीहरूले १,२७७ जना घाइते भएको जनाए पनि सैनिक र सर्वसाधारण छुट्याएर विवरण दिएका छैनन्।

इरानको द्रुतगतिमा अघि बढिरहेको आणविक कार्यक्रम र सैनिक नेताहरूलाई लक्षित गर्दै इजरायलले शुक्रबारदेखि हालसम्म इरानतर्फ २७० भन्दा बढी क्षेप्यास्त्र प्रहार गरिसकेको र तीमध्ये २२ वटा इजरायलको सुरक्षा प्रणालीबाट नछेकिई आवासीय क्षेत्रमा पुग्दा १४ जनाको मृत्यु र ३९० भन्दा बढी घाइते भएका छन् छ।

जर्मन चान्सलर फ्रेडरिक मर्जले क्यानडामा जी–७ को बैठकमा सहभागी नेताहरूले द्वन्द्व समाधान गर्ने र अझ चर्किन नदिने सहमति गर्ने आशा व्यक्त गरे।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आइतबार क्यानडामा हुने जी–७ बैठकमा जानुअघि इजरायल र इरानबीच सम्झौता हुने आशा व्यक्त गर्दै “अब सम्झौताकाे समय आएको छ” भनेका छन्। “म आशा गर्छु सम्झौता हुनेछ। यो सम्भावना राम्रो छ तर कहिलेकाहीँ त उनीहरूले लडेरै टुंग्याउनुपर्छ,” उनले भनेका छन्।

इरानले कतार र ओमानलाई सूचित गर्दै इजरायली आक्रमण भइरहेकै अवस्थामा अमेरिकासँग युद्धविरामबारे वार्ता गर्न तयार नरहेको बताएको राेयटर्सले एक उच्च अधिकारीलाई उद्धृत गर्दै जनाएको छ।

इजरायली सेनाले शुक्रबारदेखि सुरु गरेका आक्रमणकाे उद्देश्य इरानको आणविक तथा ब्यालिस्टिक मिसाइल कार्यक्रम नष्ट गर्नु रहेको बताउँदै आइतबार पनि इरानको केन्द्रीय भागमा रहेका सतहदेखि सतहमा प्रहार गर्न सक्ने मिसाइल केन्द्रहरूमा हमला गरेको छ।

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले आइतबार बिहान इरानको क्षेप्यास्त्र आक्रमणमा परेर सात जनाको मृत्यु र सयभन्दा बढी घाइते भएका बट यामको एउटा अपार्टमेन्ट भवनको अवलोकनपछि इरानले इजरायली नागरिकहरूलाई निशाना बनाएको मूल्य “धेरै भारी” चुकाउनु पर्ने बताएका छन् । GT